रगतले लतपतिएको रातो पिण्ड।
क्यानभास बीचको यो पिण्ड स–साना ध्वजाले घेरिएको छ।
यो अमूर्त कला हो। यसका सर्जक हुन्, ८१ वर्षीय गेहेन्द्रमान अमात्य।
अमात्यको यो कला काठमाडौंको बांगेमुढास्थित ‘अमात्य आर्ट ग्यालरी’ मा देख्न सकिन्छ। हालै स्थापना भएको यो आर्ट ग्यालरी उनले दिवंगत श्रीमती र नातिको सम्झनामा सजाएका हुन्।
कलाकर्मी भन्छन्, ‘एउटा अमूर्त कला बुझ्न कलाकारको कला मात्र हेरेर पुग्दैन। कला सर्जकको जीवन पनि नियाल्न जरुरी छ।’
८१ वर्षको उमेरमा ग्यालरी खोलेका अमात्यको यो कला उनकै जीवनसँग जोडिएको सिर्जना हो।
‘यो चित्र मैले १८ महिनाअघि असामयिक निधन भएको मेरो नाति इभानको सम्झनामा बनाएको हो। नातिको निधन भएको भोलिपल्ट ऊ अमेरिका जाने दिन थियो। अमेरिका यात्रा अधुरै रह्यो। झम्सिखेलमा स्कुटर दुर्घटनामा परेर उसको जीवनकै यात्रा सकियो,’ अमात्यले भने।
नाति गुमाएको पीडा नथामिँदै उनकी जीवनसंगिनीले पनि साथ छाडिन्।
‘मान्छेको जन्म र मृत्यु यही चित्रको पिण्डमा झैं जोडिएको छ। मान्छेको जन्म आमाको पेटमा डल्लो बनेर एउटा पिण्डका रूपमा सुरु हुन्छ, पिण्डमा नै सकिन्छ। यो कला त्यसैको रूप हो,’ उनले भावुक हुँदै भने।
चित्रकला भरिएको ग्यालरीमा अमात्यले श्रीमती र नातिको तस्बिर पनि राखेका छन्। तल लेखिएको छ– ‘यो ग्यालरी श्रीमती र नातिको सम्झनामा’।
आफ्ना प्रियहरूले छाडेर गएको शून्यतालाई ग्यालरीका कलाले भर्दै जीवनको आठौं दशक सुरु गर्ने प्रयासमा छन् अमात्य।
उनको जीवनको सात दशक पनि चित्रकलामै बितेको छ। उनका अनुसार सुरूआतमा उनी स्केच बनाउँथे। विसं २००२ मा उनी छिन्नामस्ता मन्दिर पुगेका थिए। त्यहाँ उनले राँगा मारेको देखे। त्यो घटना स्केचमा उतारे। घर फर्किएपछि स्केचमा रङ भरे। आफ्नै आँखाले देखेको दृश्य उतारेर चित्र बनाए। त्यसलाई भारतमा भएको अन्तर्राष्ट्रिय बाल कला प्रतियोगितामा पठाए। चित्रले प्रथम पुरस्कार पायो।
‘प्रथम पुरस्कार पाएपछि मलाई चित्रकला नै अघि बढाउने सोच आयो,’ उनले पुराना दिन सम्झिँदै भने, ‘अनि आफन्त पर्ने चन्द्रमानसिंह मास्केसँग चित्रकला सिक्न थालेँ।’
आधुनिक नेपाली चित्रकला भने अमेरिकी पुस्तकालयमा बसेर विश्वकला किताब अध्ययन गर्दा थाहा पाएको उनी बताउँछन्। उनका अनुसार त्यो बेला कला भर्खरै हुर्कंदै थियो। कलाकार औंलामा गन्न सकिने थिए। तै किताबमा देखिएका नयाँ–नयाँ कलाको मोहमा उनी परे।
‘अमेरिकी पुस्तकालय मेरो घर नजिकै थियो। त्यसैले म स्कुलपछि दगुर्दै पुस्तकालय पुग्थेँ। त्यहीँ मैले नौलो कलाबारे जानकारी पाएँ,’ उनले भने, ‘त्यो बेला नेपालमा कसैले पनि त्यस्ता प्रकारका चित्र बनाएको देखेको थिइनँ। किताबमा देखेपछि आफैं त्यस्ता कला अभ्यास गर्न थालेँ।’
आधुनिक कलामा उनका सहयात्री बने फ्रान्सबाट आएका कलाकार निकोलाई मिकातास्किन। उनीसँगै क्युविजम, अमूर्त कला लगायत चित्र बनाउन सिके। फ्रान्सेली कलाकारसँग सिक्दा उनी प्रत्येक दिन एउटा चित्र बनाउँथे।
यस क्रममा उनको जीवनमा अविस्मरणीय क्षण आयो, २०१२ सालमा।
‘फ्रान्सेली गुरूले मलाई एकदिन भारतीय पुस्तकालय बोलाउनुभयो। त्यहाँ पुग्दा म तीन छक परेँ,’ उनले भने, ‘गुरू भेट्न गएको म, त्यहाँ त कलाकार, पत्रकार, राजदूत लगायतका अन्य व्यक्तिको घुइँचो थियो। म एकछिन अक्कबक्क परेँ। पछि बुझेँ, त्यहाँ मेरो चित्रकला प्रदर्शनी पो रहेछ। गुरूले मलाई थाहै नदिई मेरा कला समेटेर एकल चित्रकला प्रदर्शनी गर्नुभएको रहेछ।’
अमात्य सोखका मात्र चित्रकार होइनन्। उनको पेसा पनि चित्रकला नै हो।
उनले सरकारी कलाकार रूपमा पनि काम गरिसकेका छन्। उनका अनुसार २०१७ सालमा उनी प्रकाशन विभागमा नियुक्त भएका थिए। राजदरबार, गोरखापत्र, कला शाखा, फोटो शाखा लगायत निम्ति उनले चित्र बनाए।
जीवनका ३८ वर्ष सरकारी निकायमा कला कोर्दै बिताए र अवकाश भए।
अमात्यले हालै खोलेको यो आर्ट ग्यालरी पहिलो होइन। सरकारी कार्यालयमा काम गर्नुअघि नै उनले २००९ सालमा खिचापोखरीस्थित आफ्नै घरमा ‘अमात्य आर्ट ग्यालरी’ खोलेका थिए। पछि त्यो घर बेचे। त्यहाँ सजिएका कलाकृति विभिन्न ठाउँमा छरिए।
उनी त्यहाँबाट कालधारा सरे। कला मोह भने सरेन। ०१९ सालमा फेरि रत्नपार्कस्थित जामे मस्जिद भवनमा रहेको जिंक ब्लकमा ग्यालरी बनाए।
‘त्यो जिंक ब्लकको पसल थियो। त्यसैका भित्तामा मेरा चित्र प्रदर्शन गर्थेँ,’ उनले भने, ‘०५५ सालसम्म ग्यालरी राम्रै चल्यो। पछि भवन भत्कियो। मेरो ग्यालरी सपनामा ब्रेक लाग्यो।’
यो ब्रेकलाई उनले करिब १९ वर्षपछि फेरि ‘स्टार्ट’ गरेका छन्। ग्यालरीको आफ्नो सपनालाई विपनामा ढालेका छन्।
अहिलेको यो ग्यालरीमा उनले आफ्ना कला मात्र सजाएका छैनन्। चन्द्रमानसिंह मास्के, जगदीशशमशेर राणा, तेजबहादुर चित्रकार, सुरेन्द्र प्रधान, ज्योति प्रकाश लगायतका पुराना एवं सम्भावना बोकेका नयाँ कलाकारका चित्र पनि समेटेका छन्।
‘नयाँ–पुराना चित्र समेट्नुको उद्देश्य?’
‘श्रीमती र नातिको सम्झनामा बनेको यो ग्यालरीलाई म एउटा संग्रहालय बनाउन चाहन्छु,’ उनले भने।