सात सय वर्षअघि पाटनमा एउटा खुला चौर थियो। त्यही चौर पिम्बहाल पोखरीका नाउँले परिचित छ। लाखेहरूले एकै रातमा चौरलाई पोखरी बनाएको जनविश्वास छ।
यसैको पारिपट्टि कुमारीपाटी जाने बाटोमा पर्ने पूर्णचण्डी पोखरी भने पानी सुकेर चौरमा परिणत हुँदैछ।
पोखरी प्रवेशद्वारमा दुइटा बोर्ड छन्। ती बोर्डमा तत्कालीन ललितपुर उप–महानगरपालिकाले आठ वर्षअघि बनाएको जिर्णोद्वारका योजना छन्। बोर्डमा उल्लेख भएअनुसार २०६७ जेठ २५ गते नै जिर्णोद्वार सम्पन्न भएको देखिन्छ। नगरपालिकाबाट १३ लाख रुपैयाँ बेहोरिएको पनि उल्लेख छ।
यी बोर्डले पूर्णचण्डी पोखरीप्रति जति आशा जगाउँछ, त्यहाँको वास्तविक स्वरूप देख्दा उति नै निराश बनाउँछ।
उतिबेलै लाखौं खर्चेर जिर्णोद्वार गरिएको पोखरीमा एकथोपा पानी छैन। स्थानीयलाई खानेपानी वितरण गर्न बनाइएको डिप बोरिङ पनि एउटा कुनामा अलपत्र छ। बारले घेरेको त्यो क्षेत्रलाई पोखरी भन्नलायक अवशेष छैन। बाँकी छ त, केवल खुला चौर।
यो अवस्था पूर्णचण्डी पोखरीको मात्र होइन। पाटनका प्रायः पोखरी यसैगरी मासिँदै गएका छन्।
पूर्णचण्डी टोल सुधार समितिका अध्यक्ष अशोक श्रेष्ठ पञ्चायतकालमा पोखरी सफा गर्ने भन्दै सुख्खा चौरमा परिणत गरिएको बताउँछन्। उनका अनुसार पूर्णचण्डी पोखरी विनाश भएको पनि पञ्चायतकालमै हो।
लिच्छविकालदेखि नै काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति गर्न राजकुलो प्रणाली स्थापना गरिएको थियो। त्यसमध्ये तीनवटा राजकुलो प्रमुख थिए– काठमाडौंका लागि बुढानिलकण्ड, भक्तपुरका लागि बागेश्वरी र पाटनका लागि टीकाभैरव।
टीकाभैरवदेखि पाटनसम्म सोह्र किलोमिटर लामो राजकुलोबाट आउने पानीले नै यहाँका पोखरी भरिभराउ हुन्थे। पोखरी भरिएपछि ढुंगेधाराहरू रसाउँथे।
‘पञ्चायतकालमा आएर विकासका नाममा राजकुलो विनाश सुरु भयो,’ पिम्बहालका स्थानीय एवं जगमुदु पुखु क्षेत्र विकास समितिका शैलेन्द्र श्रेष्ठले भने, ‘टीकाभैरवबाट आउने राजकुलो मासिएपछि पोखरी सुक्दै गयो। पिम्बहाल पोखरी यही कारणले सुख्खा चौरमा परिणत भएको थियो।’ त्यो राजकुलो पाटनका विभिन्न पोखरी हुँदै पूर्णचण्डी र पिम्बहाल पोखरीमा पुग्ने स्थानीय बताउँछन्।
स्थानीय र ललितपुर महानगरपालिकाले लामो प्रयासपछि पिम्बहाल पोखरी वास्तविक स्वरूपमा फर्काएका छन्। पूर्णचण्डी पोखरी पनि यसैगरी फर्कने प्रतीक्षामा छ।
पिम्बहाल पोखरीमा अहिले ‘रेन–वाटर’ नामक संस्थाले सहयोग गरिरहेको छ। पोखरी पुरानो स्वरूपमा फर्किए पनि पानी प्रणाली पुरानै शैलीमा नफर्किएको श्रेष्ठ बताउँछन्। ‘पूर्णचण्डी पोखरी जिर्णोद्वार भए पिम्बहाल पोखरीको पानी प्रणाली पुरानै शैलीमा फर्कन सक्छ कि,’ उनले भने।
पूर्णचण्डी मन्दिरका पुजारी विजय शर्मा राजोपाध्यायका अनुसार तान्त्रिक स्वामी पूर्णानन्ददेवले यो ठाउँमा तपस्या गरेका थिए। पूर्णचण्डी पोखरी पहिले खोला थियो भन्ने किम्बदन्ती छ। खोलाकै किनारमा बसेर पूर्णानन्ददेवले तपस्या गर्दा सिद्धिलक्ष्मीको दर्शन पाए। उनले आफ्नो तन्त्रमन्त्रको बलमा सिद्धिलक्ष्मीलाई वशमा पारेर त्यहाँ प्रतिस्थापन गरे। त्यसैले पोखरीको दक्षिणतर्फ पूर्णचण्डी मन्दिर निर्माण भयो।
‘यो मन्दिर स्वामी पूर्णानन्ददेवकै नामबाट रहेको हो,’ उनले भने, ‘मन्दिरमा तन्त्रविद्याबाट हुने विशेष पूजा राजोपाध्याय पुजारीबाट हुन्छ भने मन्दिरको नित्यपूजा र रेखदेख ज्यापु समुदायले गर्छन्।’
पूर्णचण्डीलाई दुर्गा भवानीको दस अवतारमध्ये एक मानिन्छ। पाटनमा हुने हरेक जात्रामा पूर्णचण्डी मन्दिर परिक्रमा गर्ने चलन रहेको उनले बताए। पूर्णचण्डी मन्दिरमै १२ भुजाको विशेष पूजा हुन्छ।
‘यो मन्दिरमा तुङ्गल र ढुंगाका सिँढी छन्। यसले यहाँ पहिले घाट भएको र मरेका मान्छेको अन्तिमसंस्कार हुनसक्ने संकेत गर्छ,’ उनले भने, ‘मन्दिरमा योगेश्वर शिवलिंग पनि छ। यो मसान नजिकै बस्ने शिवलिंग हो। यसले पनि यो पोखरी पहिले खोला भएको जनाउँछ।’
विस्तारै खोला मासिएर पोखरी मात्र बचेको हुन सक्ने उनको निष्कर्ष छ। यहाँ पहिले एकमहिने मेला पनि लाग्ने गरेको उनले बताए।
‘कुनै व्यक्तिले पोखरीमा बाँदर आएर नुहाएको देख्यो भने त्यो महिनाभरि मेला लाग्थ्यो,’ उनले भने, ‘बाँदर आएर नुहाएको समय शुभसाइत मानिन्थ्यो।’
पोखरीमा नागदेवताको मूर्ति पनि छ। बच्चाहरूलाई ‘रुन्चे लाग्दा’ यहाँको पानीले आँखा भिजाए ठिक हुन्छ भन्ने स्थानीयको विश्वास छ। मन्दिरमा रहेको सिद्धिलक्ष्मीको प्राचीन मूर्ति भने चोरी भएको पुजारी राजोपाध्यायले बताए।
दुई रोपनी तीन आना क्षेत्रफल ओगटेको यो पोखरीलाई बेलाबेला शंखपोखरी भनिने गरेकोमा पुजारी राजोपाध्यायको गुनासो छ। ‘यो शंखपोखरी भएको कुनै प्रमाण छैन, बरु अतिक्रमण गरेर खुम्च्याउँदा खुम्च्याउँदा शंख आकारको बनेको छ,’ उनले भने, ‘पोखरी पुनर्निर्माण गर्ने नाममा धेरैले यसलाई कमाई खाने भाँडो बनाए।’
पाटनका ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेका पोखरी मास्न विभिन्न समयमा विभिन्न प्रयास भए।
पिम्बहाल पोखरी सुकेपछि तत्कालीन नगरपालिकाले आधा भाग पार्कमा परिणत गर्ने र आधामा व्यापारिक स्थल बनाउने प्रस्ताव ल्याएको थियो। स्थानीयको विरोधपछि त्यो योजना कार्यान्वयन हुन सकेन। त्यही योजना पूर्णचण्डीमा भने कार्यान्वयन भयो।
पूर्णचण्डी पोखरीको पुरानो तस्बिर हेर्ने हो भने मन्दिरसम्मै फैलिएको देखिन्छ। अहिले त बीचमा हिँड्ने बाटो छ। पर्खाल घेरेर चौर र बगैंचा पनि बनाइएको छ।
पिम्बहालमा झैं पूर्णचण्डी पोखरी पनि मासेर व्यापारिक स्थल बनाउने प्रस्ताव आएको स्थानीय टोल सुधार समितिका अशोक श्रेष्ठ बताउँछन्। ‘पोखरीलाई व्यापारिक स्थल बनाउने भन्दा हामीले चर्को विरोध गर्यौं। नगरपालिका आएर ठूलो खाडल खनिदियो,’ उनले भने, ‘पोखरीमा बगैंचा त बनाइसकेको थियो, व्यापारिक स्थल बनाउने प्रस्ताव ल्याएपछि हामीले मानेनौं।’
पोखरीनिर पहिले दुइटा पाटी पनि थिए। २०७२ को भुइँचालोमा एउटा पाटी भत्किएको छ। त्यसको पुनर्निर्माण पनि अलपत्र छ।
राजनितिक खिचातानी, भू–माफिया तथा सरकारी निकायले ध्यान नदिँदा ऐतिहासिक पोखरी मासिने संघारमा पुगेको स्थानीय बताउँछन्। अहिले यसलाई पुनर्जीवन दिन स्थानीय आफैं कम्मर कसेका छन्।
पूर्णचण्डी टोल सुधार समितिका अशोक श्रेष्ठले डिप बोरिङ गरेर पोखरीमा फेरि पानी भर्ने तयारी भइरहेको जानकारी दिए।
‘ओम कन्सट्रक्सन एन्ड इञ्जिनियरिङ कम्पनीले पोखरी, पाटी र त्यहाँ भजन गर्ने ठाउँ बनाइदिने भनेको छ,’, उनले भने, ‘गाबहालदेखि पूर्णचण्डीसम्म इँटा पनि छाप्ने भनेको छ।’
सबै योजनाअनुरुप भए एक वर्षमा पोखरी जिर्णोद्वार सकिने उनले बताए।