राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरीले नियन्त्रणमा लिएका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई स-सम्मान फिर्ता गरिनुपर्ने बताएका छन्।
काठमाडौंको नारायणचौरबाट प्रहरीले आज दिउँसो थापालाई नियन्त्रणमा लिएको थियो। भिड भड्काउने अभिव्यक्ति दिएको भन्दै प्रहरीले थापालाई नियन्त्रणमा लिएको बताएको छ।
राप्रपा अध्यक्ष लिङ्देनले अहिले नै स-सम्मान थापालाई फिर्ता गर्न माग गरेका छन्।
‘कमल थापालगायत मानिसलाई यहीँ ल्याइदिनुस्, हैन भने अरू साथीभाइलाई पनि देशभरबाट बोलाउँछौं, खास लडाइँ भोलिबाट सुरू हुन्छ,’ लिङ्देनले नारायणचौरमा भने, ‘हाम्रो भद्रतालाई कमजोरी ठान्नु हुन्छ भने अब हामी एक ठाउँ भेला भएर होइन ५० ठाउँबाट निस्कन्छौं। अहिले थापालाई यहाँ ल्याएर स-सम्मान फिर्ता नगरे भोलिबाट काठमाडौं उपत्यका बन्द सुरू हुन्छ।’
नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन' समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गरिरहेको छ। उक्त आन्दोलनलाई राप्रपा, राप्रपा नेपाललगायत दलहरूको समर्थन छ।
राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजीलगायत माग राखेर सुवेदी नेतृत्वको समितिले 'जनआन्दोलन' गरिरहेको छ।
यो पनि: कमल थापा प्रहरी नियन्त्रणमा (तस्बिरहरू)