राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नख्खु कारागारमा सारिएको छ।
रूपन्देही कारागार कार्यालयमा रहेका लामिछानेलाई शनिबार नख्खु कारागार सारिएको हो।
रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले लामिछानेलाई बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइएको सामाजिक सञ्जालमार्फत जानकारी दिए।
'रास्वपा सभापति रवि लामिछानेलाई भर्खरै बुद्ध एयरको यु४-८६० को उडानबाट काठमाडौं लगिएको छ। संक्षिप्त बिदाइ भेटमा उहाँले भन्नुभयो- "भैरहवा कारागारमा १२६ दिन थुनिएको कोठाको भित्तामा लेखेँ--यो युगमा अब कृष्णहरू जन्मने छैनन्, तर अन्याय विरुद्ध लड्न धेरै मानिसहरु कृष्ण जस्तै बन्नुपर्नेछ,' उपसभापति वाग्लेले फेसबुकमा लेखेका छन्।
कारागार व्यवस्थापन विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले लामिछानेलाई काठमाडौं ल्याउनका लागि दिउँसो ३ बजेको फ्लाइट भए पनि मौसमका कारण ढिलाइ भएको जानकारी दिए।
'दिउँसो ३ बजे उड्ने भनिएको थियो। तर ढिला भयो,' उनले भने।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेले आफूलाई काठमाडौं सार्न अनुरोध गर्दै निवेदन दिएका थिए।
सोही अनुसार भने नख्खु कारागार व्यवस्थापन विभागका महानिर्देशक लिलाप्रसाद शर्माले लामिछानेलाई काठमाडौं उपत्यका सार्ने निर्णय गरेका थिए।
शर्मा केही दिनअघि मात्र नख्खु कारागार व्यवस्थापन विभागको नेतृत्वमा आएका हुन्।
यसअघि यहाँ नारायणप्रसाद भट्टराई महानिर्देशक थिए।