नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठूला दलका शीर्ष नेताहरुले राजनीतिबाट विश्राम लिएको दिनदेखि नै अहिलेका असन्तुष्टिहरु हट्ने बताएका छन्।
ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले शीर्ष राजनीतिक दलका शीर्ष नेताहरुले विश्राम लिन्छौं भनेको दिनदेखि नै अहिले भइरहेका आन्दोलनहरु हराउने दाबी गरेका हुन्।
'आजको दिनबाट हामीले आफ्नो आफ्नो तहबाट विश्राम लिन्छौँ भन्नुभएको दिनको बेलुकाबाट यो आन्दोलन झर्छ । भोलिपल्टदेखि सबै घर फर्किन्छन्। केही पनि बाँकी रहँदैन,' महामन्त्री थापाले भने।
यद्यपि शीर्ष नेताहरुले राजनीतिबाट विश्राम लिँदैमा सबै सुध्रिन्छ भन्नू गलत हुने उनले बताए।
'त्यो भन्दा धेरै समस्या छन्,' उनले भने, ' तर यति लामो समयसम्म एउटै भूमिकामा रहनु, नेतृत्वमा एउटै अनुहार देखिइरहनु हाम्रो डेमोक्रेसीको सबैभन्दा ठूलो समस्या हो,' उनले भने।
उनीहरूले नेतृत्व छोड्नेबित्तिकै सबै समस्या समाधान नभए पनि धेरै समस्या बुझेर समाधान गर्न सकिने महामन्त्री थापाको दाबी थियो। —न्युज एजेन्सी नेपाल