प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले आफूबाहेक अरूलाई मास्ने काम गरेको टिप्पणी गरेका छन्।
शनिबार काठमाडौंमा बुद्धिजिवी परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही मानिसहरू अहिले आएर 'पृथ्वीपथ' भनिरहेको तर पृथ्वीनारायण शाहले त्यतिबेला गरेजस्तै आफूबाहेक अरूलाई मास्ने कुरा अहिलेको सन्दर्भमा नमिल्ने बताएका हुन्।
'आज त राष्ट्र जोगाउनु र एकतावद्ध बनाउन जरूरी छ। त्यतिबेला मास्नु र एकीकरण गर्नु थियो,' उनले भने,' अहिले आएर यतिबेला पृथ्वीपथ रे। पृथ्वीपथबाट गयो भने पोखरा पुग्ने त हो नि। ढाइ सय वर्ष अघिको कुरा ल्याएर देशको विकास? देशलाई एकतावद्ध बनाउनु छ। पृथ्वीपथले एकतावद्ध? मारकाट गरेर एकताबद्ध गर्ने?'
प्रधानमन्त्री ओलीले आजका आवश्यकता अनुसारका नीति चाहिने पनि बताए।
'एकीकरणको कुरा एउटा होला। एकीकरणको समय एउटा होला। एकीकरणका समयमा पृथ्वीनारायण शाहको विचार र बाटो ठिकै थियो होला। अहिले देशलाई मेलमिलापका साथ अघि बढाउनुपर्ने, जाति जनजाति सबैलाई एक बनाएर विकासको काममा अगाडि बढाउनुपर्ने, लोकतन्त्र, संविधानको रक्षा गर्नुपर्ने बेलामा पृथ्वीपथ? पृथ्वीनारायणले संविधान भन्ने शब्द सुनेका थिए ?,' उनले भने।
प्रधानमन्त्री ओलीले एउटाले पृथ्वीपथ भने अर्काले मल्लपथका कुरा गर्न सक्ने पनि बताए।
'यो पृथ्वीपथ भनेको सुनेपछि अर्काले भन्छ, राजर्षी जनक पथ, यलम्वर पथ, मानदेव पथ, अंशुवर्मा पथ, चल्लपथ, मल्लपथ। यी चल्लपथ, मल्लपथ, के जाति पथ, इतिहासका पथ हुन् की आजका आवश्यकताअनुसारका?,' उनले भने।
उनले विचार अनुसारका जनताको बहुदलीय जनवादको बाटोबाट अघि बढ्नुपर्ने बताए। 'ढाइ सय वर्ष अगाडिका, आज असान्दर्भिक भएका, त्यतिबेलाका महत्वपूर्ण कुरा होलान् । आज तिनले बाटो देखाउन सक्दैनन् । आजका लागि आजका आवश्यकताअनुसारका नीति चाहिन्छ,' उनले भने।
उनले 'पृथ्वीपथ'को कुरा १३ औं सन्तानको राजा हुने युक्तिमात्रै रहेको पनि बताए।
'राजा हुने युक्ति? अहिले पनि? आजको समय राजा, रजौटा, तानाशाहहरूको समय होइन, आज लोकतन्त्र र लोकतान्त्रिकरणको समय हो । हामी त्यतै जाँदैछौं,' उनले भने। -न्युज एजेन्सी नेपाल