नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रजातान्त्रिक संस्कार, आचरण, मूल्य, मान्यताका निम्ति फेरि लड्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा भएको प्रजातन्त्र सेनानी संघ बागमतीले गरेको कार्यक्रममा बोल्दै उनले गलत काम गर्न नहुने र सही काम गर्न नसके चुप लागेर घरमै बस्न सुझाव दिए।
‘अब एक पटक फेरि प्रजातान्त्रिक संस्कार, आचरण, मूल्य, मान्यताका निम्ति हामी फेरि लड्नुपर्ने आवश्यकता देखेको छु। हामीले गलत काम नगरौं, सही काम गर्न सक्दैनौं भने चुप लागेर घरमा बसौं। दिनानुदिन भ्रष्टाचारले हामीलाई अप्ठेरो नपारोस्। दण्डहिनताले अफ्ठ्यारो नपारोस्। सुशासन दिन सकौं। हामी हाम्रो आचारण बदल्नुपर्छ,’ उनले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ भन्ने अभिव्यक्ति दिएको र आफूले त्यो सुन्नेबित्तिकै विरोध गरेको उनको भनाइ छ।
‘मानव अधिकार आयोग जसलाई संवैधानिक अधिकार दिएको छ। उहाँहरूले पनि वक्तव्य जारी गरिकन प्रधानमन्त्रीले यसरी बोल्नु हुँदैन भन्नुभयो। भोलिपल्ट १४ गतेको दिन प्रधानमन्त्रीजी त्यहाँ जानुपर्ने थियो। उहाँले वार्षिकोत्सवमा बहाना बनाएर जानु भएन। प्रधानमन्त्रीजीलाई फुर्सद भएन भनियो। राष्ट्रिय मानव अधिकार आयोगको वार्षिकोत्सवमा प्रधानमन्त्री नजाने हो भने कस्तो लोकतन्त्र हामीले खोजिरहेका छौं,’ उनले भने।
(न्युज एजेन्सी नेपाल)