स्वतन्त्र विद्यार्थी युनियन विश्वविद्यालय क्याम्पस त्रिविले आफूहरू तोडफोडको विरूद्धमा रहेको बताएको छ।
स्ववियु अध्यक्ष दिपकराज जोशीले बिहीबार एक विज्ञप्ति जारी गर्दै स्ववियु कुनै पनि अराजकता, तोडफोड र तालाबन्दीको पक्षमा नरहेको उल्लेख छ।
‘शैक्षिक आन्दोलनको मार्गलाई नै भ्रमित बनाउने खतरा रहँदा स्ववियु कुनै पनि अराजकता, तोडफोड, अव्यवस्था र तालाबन्दीको कडा शब्दमा निन्दा गर्दछ। हामी शैक्षिक स्वतन्त्रता, विधिको शासन र लोकतान्त्रिक मूल्यमान्यता अनुरूप विद्यार्थी हितका मुद्दाहरू उठाउन प्रतिबद्ध छौं,’ उनले भनेका छन्।
त्रिवि उपकुलपति कार्यालय हालै नेविसंघले तोडफोड गरेको थियो। स्नातक तह भर्ना पुन: खोल्नुपर्ने माग राखेर नेविसंघमा आबद्ध विद्यार्थीहरूले उपकुलपति कार्यालय तोडफोड गरेका थिए।
स्वतन्त्र विद्यार्थी युनियन विद्यार्थीहरूका न्यायोचित मागहरूलाई शान्तिपूर्ण, अनुशासित र लोकतान्त्रिक आन्दोलन र वैचारिक संवादमार्फत सम्बोधन गराउन प्रतिबद्ध रहेको पनि उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
जेठ १४ गते त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यलयमा भएको तोडफोडप्रति स्वतन्त्र विद्यार्थी युनियन विश्वविद्यालय क्याम्पस कीर्तिपुरको गम्भीर ध्यानाकर्षण भएको उनको भनाइ छ।
‘विश्वविद्यालय संस्था केवल पाठ्यक्रम, परीक्षा र प्रशासनिक संरचनाहरूको संयोजन मात्र होइन– यो विद्यार्थी समुदायसँग जोडिएको गहिरो विश्वास, भविष्यको सम्भावना र समावेशी संवादको साझा थलो हो। जुनसुकै पक्षबाट होस्, यस्ता संस्थागत संरचनामाथि कुनै पनि असहज वा अप्रिय गतिविधि हुनु दुःखद, दुर्भाग्यपूर्ण र सम्बद्ध सबै पक्षको आत्ममूल्यांकनको विषय हो,’ उनले भनेका छन्।
विश्वविद्यालय प्रशासनको ढिलाइ, संवादहीनता र विद्यार्थीको उपेक्षाबाट उत्पन्न समस्या गम्भीर रहेको उनले बताए।
‘स्वतन्त्र विद्यार्थी युनियन प्रारम्भदेखि नै विश्वविद्यालयमा स्पष्ट, पारदर्शी र विद्यार्थीमैत्री शैक्षिक क्यालेन्डर लागू हुनुपर्ने पक्षमा उभिँदै आएको छ। उपकुलपतिद्वारा शैक्षिक क्यालेन्डर कार्यान्वयनमा देखाइएको प्रतिबद्धता सकारात्मक कदमका रूपमा लिइनुपर्ने भए तापनि विश्वविद्यालय आफैंले हप्ता हप्तामा शैक्षिक क्यालेण्डर परिवर्तन गर्नु र विद्यार्थी आवश्यकता नजर अन्दाज गर्नुले असंवेदनशीलता झल्किन्छ,’ त्रिवि स्ववियु अध्यक्ष जोशीको भनाइ छ।
त्रि.विका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा भर्ना प्रक्रिया रोकिएको अवस्थामा निजी क्याम्पसहरूमा भने नियमित भर्ना हुँदै जानु शैक्षिक समानतामाथि गम्भीर प्रश्न रहेको उनले बताए। ‘यसको कारणले विद्यार्थीहरूमा अन्योल, असमानता र असन्तुष्टि फैलिएको यथार्थलाई नकार्न सकिँदैन। शिक्षाको व्यापारीकरण तर्फ उन्मुख यस्तो प्रवृत्तिको स्वतन्त्र विद्यार्थी युनियन घोर भर्त्सना गर्दछ,’ उनले भने।
निजी क्याम्पसलाई प्रश्रय दिने गरी रेजिस्ट्रेसन फारम जेठ २० गतेसम्म पुनः खोलिएको तथ्यले निजी क्याम्पसहरूका सम्पूर्ण रजिस्ट्रेसन फारमहरू प्रविष्ट गरिनेछ तर आङ्गिक तथा सम्बन्धन प्राप्त सरकारी क्याम्पसहरूमा भने भर्ना प्रक्रिया रोकिएको अवस्थामा राखिएको देखिएको उनले बताए।
‘फागुन ११ गतेसम्म भर्ना खुला भनिएको निर्णयको तात्पर्य सरकारी क्याम्पसहरूमा मात्र लागू हुने हो कि निजी क्याम्पसहरूमा पनि सोही सीमा हो—भन्ने कुरा स्पष्ट नहुने र व्यावहारिक रूपमा निजी क्याम्पसको भर्ना गर्दा गर्दै रजिस्ट्रेसन फारम स्वीकार गरिँदै आएको तथ्यले यसप्रकारको दोहोरो मापदण्डलाई पुष्टि गर्छ। यस प्रकारको पक्षपातपूर्ण र शिक्षालाई निजिकरण तर्फ धकेल्ने कार्यको स्वतन्त्र विद्यार्थी युनियन घोर भर्त्सना गर्दछ,’ उनले भनेका छन्।
त्रिविमा गुण्डाराज: परीक्षाको फाराम खुलिसकेपछि विद्यार्थी भर्नाको माग गर्दै तोडफोड
त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयमा बुधबार विद्यार्थीहरूले प्रहरीकै सामुन्ने बूट बजारे, तोडफोड गरे, कुर्सी फाले।
विद्यार्थीहरूले उपकुलपति कार्यालय भित्रको आलमिनियमको बार लात्तीले हानेर भत्काइदिए।
तोडफोड भएपछि प्रहरीले बल प्रयोगको त्रास देखाउँदै, सिठ्ठी फुक्दै, लाठी ताक्दै विद्यार्थीहरूलाई उपकुलपति कार्यालयबाट बाहिर निकाल्यो। तोडफोडमा संलग्नलाई पक्राउ भने गरेन।
तोडफोडमा उत्रिएकाहरू अधिकांश सत्तारूढ नेपाली कांग्रेसनिकट नेविसंघका विद्यार्थी थिए।
त्रिविले स्नातक प्रथम वर्षको भर्ना खुलाउनुपर्ने माग राख्दै उनीहरूले उपकुलपति कार्यालय तोडफोड गरेका हुन्। जबकि त्रिविले माघमै भर्ना गर्ने काम सकिसकेको थियो। अहिले परीक्षा फारम खोलिसकेको छ।
स्नातक तह प्रथम वर्षको परीक्षाका लागि फारम खुलिसकेको अवस्था रहेको भन्दै त्रिविले अहिले फेरि भर्ना खुलाउन नमिल्ने बताएको छ। अहिले भर्ना खोल्नु भनेको विद्यार्थीहरूकै सहमतिमा गत वर्ष भदौमा बनाएको शैक्षिक क्यालेन्डर मिच्नु रहेको त्रिविको तर्क छ।
विभिन्न बहानामा उपकुलपति कार्यालय तोडफोडमा संलग्न रहेकालाई कानुन अनुसार कारबाही अघि बढाउनुपर्ने त्रिविको माग छ। तर विगतमा पनि यसरी तोडफोड गर्नेमाथि कारबाही नभएकाले त्रिविमा गुण्डागर्दी गर्नेहरूको मनोबल बढेको त्रिविका पदाधिकारीहरू बताउँछन्।
'राज्य छ भने त्रिविको सम्पत्ति तोडफोड गर्नेमाथि कारबाही हुनुपर्यो,' त्रिविका निमित्त उपकुलपति प्राध्यापक खड्ग केसीले सेतोपाटीसँग भने, 'त्रिविमा थिति बसाउन खोज्दा सार्वजनिक सम्पत्ति तोडफोड हुन्छ, हामीलाई धम्की आउँछ भन्दैमा त्यसबाट पछि हट्ने कुरा त आउँदैन।'
विद्यार्थी संघ–संगठनहरूले खुलेरै त्रिवि शैक्षिक क्यालेन्डर अनुसार चल्यो, थिति बसाल्न खोज्यो भनेर विरोध त गरेका छैनन्। तर पनि संघ–संगठनका नाममा विद्यार्थीहरूले उपकुलपति कार्यालय तोडफोड गर्ने क्रम रोकिएको छैन। विद्यार्थीहरू यति जब्बर छन् कि, प्रहरीकै अगाडि उपकुलपति कार्यालय तोडफोड गर्छन्।
सार्वजनिक सम्पत्ति तोडफोड गर्न रत्तिभर नडराउनुका पछाडि राजनीतिक आड–भरोसा छ भन्ने प्रस्टै छ।
उपकुलपति केसी पनि प्रहरी प्रशासनको भूमिकामा आशंका गर्छन्।
'प्रहरी प्रशासनप्रति मलाई अलि विश्वास लागेको छैन,' उनले भने।
मंगलबार बेलुकी ८ बजेसम्म उपकुलपति कार्यालयमा बैठक बसेका बेला बाहिर केही विद्यार्थीहरू बसिरहेको उनले बताए।
'मैले उनीहरूलाई तिमीहरूको कुरा सुनिसकियो, भर्ना खुलाउन सक्दैनौं भनेर गाडी चढेर निस्केको थिएँ,' उनले भने, 'भित्र बैठक चलिरहेका बेला विद्यार्थीहरूलाई प्रहरीले किन उपकुलपति कार्यालयमा छिर्न दियो? समयमै सुरक्षा बलियो बनाएको भए त उनीहरू भित्र छिर्न पाउँदैनथे।'
त्रिवि उपकुलपति कार्यालय परिसरमा सुरक्षा मिलाउन एआइजी, कीर्तिपुर प्रहरी वृत्तलाई पनि आग्रह गरेको उनले बताए।
'तैपनि सुरक्षा बलियो छैन, ममाथि नै आक्रमण गर्न सक्थे उनीहरूले,' उनले भने।
आफू बुधबार र बिहीबार उपकुलपति कार्यालय नगएको पनि उनले बताए।
'म हिजो उपकुलपति कार्यालय गइनँ। स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा डाक्टरको समय लिएको थिएँ। उता उपकुलपति कार्यालय तोडफोड गरेछन्। खबर सुनेपछि शिक्षा मन्त्री रघुजी पन्तलाई जानकारी गराएँ,' उनले भने, 'प्रहरी प्रशासन पनि गैरजिम्मेवार देखिन्छ। मिलेमतो हो कि के हो, विश्वसनीय लागेको छैन।'
त्रिविमा विभिन्न माग र बहानामा पटक पटक तोडफोडका घटना भएका छन्।
'त्रिविका सम्पत्ति तोडफोड गर्नेलाई सधैं यसरी उन्मुक्ति दिन हुँदैन। फागुन २३ गते पनि बिना कारण मेरो त्यो बेलाको रेक्टर कार्यालयमा तोडफोड भएको थियो। त्यसपछि म त्यो कार्यकक्ष गएको पनि छैन। घटनाबारे कुलपति (प्रधानमन्त्री) केपी शर्मा ओली र सहकुलपति तत्कालीन शिक्षा मन्त्री विद्या भट्टराईलाई भेटेरै जानकारी गराएँ,' केसीले भने, 'गृहमन्त्री र मन्त्रीजीहरूले अवलोकन गरेपछि कार्यकक्षमा जानुहोला भनेर प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो। तर मन्त्रीहरू आउनुभएन।'
यसपालि तोडफोडमा उत्रिएका विद्यार्थीहरूलाई त्रिविमा जारी सुधारको मतलब छैन। त्यही सुधार अन्तरगत लागू गरिएको शैक्षिक क्यालेन्डर लत्याएर उनीहरू फेरि भर्ना खोल्ने दबाब दिन तोडफोडदेखि धम्कीका हत्कण्डा अपनाइरहेका छन्। भर्नाबिनै त्रिविका कतिपय आंगिक क्याम्पसहरूमा विद्यार्थी पढिरहेकाले उनीहरूको भर्ना त्रिविले लिनुपर्ने र उनीहरूले यसैपालि परीक्षा दिन पाउनुपर्ने माग विद्यार्थीहरूको छ।
विद्यार्थीहरूको यस्तो अड्डी र बल प्रयोगले कुन बेला कसले के गर्ने हो भन्ने त्रास त्रिविका पदाधिकारीहरूमा छाएको छ। उनीहरू नियमित रूपमा कार्यालय पुग्न र आफ्नो जिम्मेवारी अनुसार काममा खटिन पाएका छैनन्।
विद्यार्थीहरूको यस्तो गतिविधिले शैक्षिक क्यालेन्डर अनुसार त्रिवि सञ्चालन गर्न सकस परेको छ। थिति बसाउने त्रिविको प्रयास निरूत्साहित हुन थालेको छ।
मुलुकमा बहुदल आएपछि राजनीतिक दल र उनीहरू सम्बद्ध विद्यार्थी संगठनहरूले विश्वविद्यालयमा तागत देखाउँदै आएका छन्। उनीहरूका तागत, धम्की र उच्छृंखल गतिविधिका अगाडि विश्वविद्यालयको ऐन, नियम र कार्यविधि पंगु हुने अवस्थामा पुगेका छन्।
विश्वविद्यालयका ऐन नियम तथा कार्यविधिलाई राजनीतिक दलनिकट विभिन्न संघ–संगठनका विद्यार्थीहरूले नै धज्जी उडाउँदै आएका छन्।
गत वर्ष नयाँ उपकुलपति नियुक्त भएदेखि नै विश्वविद्यालयलाई लयमा ल्याउन कोसिस सुरू भएको हो। तत्कालीन उपकुलपति प्रा.डा. केशरजंग बरालको नेतृत्वमा यो काम अघि बढेको थियो।
विद्यार्थीको दबाब र धम्कीले वाक्क भएर बरालले राजीनामा दिइसकेका छन्। उपकुलपति बरालले पदबाट दिएको राजीनामा स्वीकृत गर्दै वैशाख २ गते कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी तोकेका थिए। केसीले त्रिविमा थिति बसाल्ने कामलाई निरन्तरता दिने जमर्को गरिरहेका छन्।
'त्रिविलाई ऐन, नियम र कार्यविधि तथा शैक्षिक क्यालेन्डर अनुसार चलाउने हाम्रो प्रयत्न जारी छ। त्यसको प्रतिरोध स्वरूप तोडफोड जस्ता घटना भएका छन्,' उपकुलपति केसीले भने, 'विश्वविद्यालयमा पढाइ, परीक्षा र नतिजा समयमा हुनुपर्छ भन्नेजस्ता आधारभूत कुराहरूमा थिति बसाल्ने काम हामी गर्दैछौं। यो रोकिन हुँदैन।'
विगतमा विद्यार्थीहरूको दबाबका बीच जतिखेर पनि भर्ना खुल्ने, परीक्षा सर्ने र उनीहरूकै गतिविधिका कारण नतिजा प्रभावित हुन्थ्यो। विगत एक वर्षदेखि त्यो रोकिएको छ। त्यसले कतिपय विद्यार्थीलाई औडाहा भएको छ।
'हामीले गत भदौमै विद्यार्थी संघ–संगठनहरूलाई पनि राखेर शैक्षिक क्यालेन्डर बनायौं। त्यस अनुसार जेठ अन्तिम साताबाट स्नातकोत्तर तहको परीक्षा सुरू गर्ने र असारबाट स्नातक तहको पढाइ सुरू गर्ने हो,' उनले भने, 'शैक्षिक क्यालेन्डर अक्षरसः कार्यान्वयनमा ल्याउने हो। पछि हट्ने कुरा छैन।'
स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि भनेर फर्जी भर्ना हुने विगतका अभ्यास यसपालि रोकिएको थियो। चैतमा स्ववियु चुनाव भयो तर माघमै भर्नाको कार्यक्रम सकिएको थियो। यसले चुनावका लागि फर्जी भर्ना गर्नेले मौका पाएनन्।
'स्ववियु चुनावपछि पनि भर्ना हुन पाउनुपर्छ भनेर आएका शैक्षिक क्यालेन्डरभन्दा बाहिरको कुरा कुनै हिसाबले पनि सम्झौता गर्न सकिँदैन,' उनले भने, 'परीक्षा फारम खुलिसक्यो। त्यसैले अहिले भर्ना खोल्ने माग उचित छैन।'
परीक्षा फारम खुलिसकेको अवस्थामा फेरि भर्ना खोल्न हुँदैन भने पक्षमा बहुसंख्यक विद्यार्थी पनि रहेको उनले बताए।
'९० प्रतिशतभन्दा बढी विद्यार्थी, केही स्ववियु सभापति र संघ–संगठन पनि त्यस्तो बेथितिको पक्षमा छैनन्,' उनले भने, 'तर केही स्वार्थप्रेरित मानिसहरूको बलमा यो भाँडभैलो मच्चाउन खोजिँदैछ।'
परीक्षा फारम खुलिसकेको अवस्थामा भर्ना खोल्ने कुरा त्रिविले स्वीकार गर्न नसक्ने पनि प्राध्यापक केसीले बताए।
त्रिविमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्न ठूला दलका शीर्ष नेताको प्रतिबद्धता अनिवार्य रहेको पनि उनको भनाइ छ।
'त्रिविको गुण्डाराज अन्त्य गर्न कम्तीमा तीन ठूला दलका शीर्ष नेताहरू एक ठाउँमा बसेर प्रतिबद्धता आउन जरूरी छ,' उनले भने, 'तिनै दलका भ्रातृ संस्थाका नाममा बारम्बार तोडफोड हुन्छ, धम्की आउँछ।'
उनले यो जसरी पनि रोक्नुपर्ने र प्राज्ञिक तथा शैक्षिक मर्यादा कायम हुनुपर्ने बताए।
'प्राज्ञिक थलो त असुरक्षित बनाउन भएन,' उनले भने।
विद्यार्थीहरूले शैक्षिक मुद्दा होइन, स्वार्थ समूहका मुद्दासमेत बोकेर त्रिवि पदाधिकारीलाई दुःख र धाकधम्की दिने गरेको उनले गुनासो गरे।
'त्रिविमा भयमुक्त वातावरण बनाउन ठूला नेताहरूको प्रतिबद्धता चाहिन्छ, त्यो अनिवार्य छ,' उनले भने, 'प्रत्येक दिन मलाई म असुरक्षित छु भन्ने लाग्यो भने मैले कसरी काम गर्ने? प्राध्यापकहरूले कसरी पढाउने?'
उपकुलपति केसीले पद ठूलो कुरा नभएको र त्रिविमा थिति बसाल्नु नै मुख्य कुरा भएको पनि बताए।
'हामी त्रिविमा थिति बसाउन लागिपरेका छौं। यही बेला तोडफोड गरिरहेका छन्, धम्की दिइरहेका छन्। अर्को संगठनले राजीनामा माग्दैछ। तर पद ठूलो कुरा होइन,' उनले भने, 'त्रिविमा बेथितिबाट लाभ उठाउनेहरू अहिले बेथिति रोकियो भनेर औडाहामा छन्।'
यो पनि: त्रिविमा जारी व्यापक सुधारको कथा
यस्तो छ स्ववियुको विज्ञप्ति;
