नेकपा (माओवादी केन्द्र) को संगठन अनेरास्ववियु क्रान्तिकारीमा नयाँ नेतृत्वका लागि निवर्तमान उपाध्यक्ष पवन कार्कीले छुट्टै प्यानल उठाउने तयारी गरेका छन्।
उनले आफ्नो टिमबाट उपमहासचिव उपदेश यादव र सञ्जीव फुयाँलमध्ये एकलाई अध्यक्ष र अर्कालाई महासचिव बनाउने गरी प्यानलको तयारी गरेका छन्।
कार्की माओवादी केन्द्रमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकट मानिन्छन्। पञ्चा सिंह नेतृत्वको विघटित कमिटीमा उनले समानान्तर कमिटी चलाएका थिए।
पार्टीका पदाधिकारीहरूले आआफ्नो गुट-उपगुट चलाएकाले आफूहरू पनि बाध्य भएर प्यानल खडा गर्नुपर्ने अवस्थामा पुगेको कार्कीले बताए। उनले २४३ सदस्यीय कमिटीका लागि उम्मेदवार तयार पारिसकेको बताए।
‘सकेसम्म सर्वसम्मत नेतृत्व छान्ने प्रयास भइरहेको छ। हामी पनि सहमतिकै पक्षमा छौं,’ कार्कीले भने, ‘तर पार्टीका पदाधिकारीहरूले एक-एक जना बोकेर हिँड्दा कतै पनि नपरेका तर उम्मेदवार बन्न आकांक्षी साथीहरूलाई समेटेर हामीले प्यालन बनाएका छौं। साँझसम्म उम्मेदवारी दिन्छौं।’
आज साँझ छ बजेसम्म मनोनयन दर्ताका लागि समय तोकिएको छ।
‘पहिले पनि संगठनभित्रका बेथितिमाथि प्रश्न उठाउँदै आएका हौं। अहिले पनि हिजो अन्यायका बिरूद्ध आवाज उठाएका आधारमा फरक व्यवहार गर्ने हो भने हामी पनि त्यही ढंगले जान्छौं,’ कार्कीले भने, ‘स्वार्थ समूहको गुट भत्काउनका लागि विद्यार्थीहरूले आफ्नै टिम बनाउने आवश्यक छ। मैले सबै प्रतिनिधिलाई आफू यसमा उठ्ने भन्ने लागेपछि नेताहरूलाई सोध्न जरूरी छैन। लाग्नुस भनेको छु।’