भन्सार कटौती र विवाहको लगनका कारण नेपाली बजारमा सुन खपत बढेको छ।
सरकारले मंसिर १० गते सुनको भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरेको थियो। त्यसपछि बढेको सुन आयात विवाहको लगनपछि झन् वृद्धि भएको सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष माणिकरत्न शाक्य बताउँछन्।
भन्सार घट्नु अघिसम्म स्थानीय बजारमा सुनको बिक्री दैनिक औसत २ किलो पनि थिएन। अहिले दैनिक २० किलोसम्म बिक्ने गरेको व्यवसायीहरूले बताएका छन्।
भन्सार विभागको तथ्यांकले पनि सुन खपत बढेको देखाउँछ। मंसिर १५ यता मात्र करिब ५ सय किलो सुन आयात भएको विभागले जनाएको छ।
भन्सार घट्नुअघि भारतीय बजारको तुलनामा नेपालमा सुन महँगो थियो। यसले वैधानिक रूपमा आयात हुन छाडेको भन्दै सरकारले भन्सार दर घटायो।
त्यसपछि मंसिर १६ गते बैंकहरूले एकैपटक सय किलो सुन आयात गरे। नेपालमा सुन आयात गर्ने अधिकार वाणिज्य बैंकहरूलाई मात्र छ।
भन्सार विभागका अनुसार २०८१ साउनदेखि मंसिर १५ सम्म साढे चार महिना अवधिमा २ अर्ब ४९ करोड रूपैयाँ बराबरको २२८ किलो सुन आयात भएको थियो। जबकि, मंसिर १५ देखि पुस मसान्तसम्मको डेढ महिनामा ५ अर्ब ७९ करोड रूपैयाँ बराबरको करिब ५ सय किलो भित्रिसकेको छ।
काठमाडौंको इन्द्रचोकमा सुनचाँदी कारोबार गर्ने माणिकरत्नका अनुसार यसपालि विवाहको सिजनमा सुनको माग उच्च छ। पहिले उच्च मूल्यका कारण विवाहमा पनि त्यति माग बढेको थिएन।
न्यूरोडमा सुन व्यापार गर्ने अर्का व्यवसायी तेजरत्न शाक्यले पनि विगतको तुलनामा यसपालि व्यापार बढेको बताए। फागुन महिनामा हुने विवाहका लागि अहिले नै अर्डर आउन थालेको उनको भनाइ छ।
आममानिसले सुनको मूल्यमा धेरै उतारचढाव देखेका छन्। फेरि पनि त्यस्तै होला भन्ने डरले फागुनको विवाहका लागि अहिले नै अर्डर गर्ने क्रम देखिएको व्यवसायीहरू बताउँछन्।
यो वर्ष माघ महिनामा दुई दिन र फागुन महिनामा आठ दिन विवाहको लगन छ। विवाहको महिना भनेर चिनिने मंसिरमा यसपालि एक दिन मात्रै लगन थियो।
यसअघि कात्तिक महिनामा नेपाली बजारमा सुनको मूल्य अधिकतम प्रतितोला १ लाख ७१ हजार रूपैयाँसम्म पुगेको थियो। सरकारले भन्सार घटाएपछि मूल्यमा कमी आयो।
यस क्रममा पुस ५ गते प्रतितोला १ लाख ४८ हजार ५ सय रूपैयाँमा झरेको सुन पछिल्लो एक महिनामा १० हजार बढेको छ।