गृहमन्त्री रमेश लेखकले सप्तकोशी नदीको कटान स्थायी रूपमा रोक्न मित्रराष्ट्र भारतसँग सहमति गरेर अघि बढ्ने बताएका छन्।
उदयपुरको बेलका नगरपालिका क्षेत्रस्थित सप्तकोशी नदीको कटान क्षेत्रको मंगलबार अनुगमन गर्दै उनले कटान रोक्न आवश्यक पहल गरिने बताए।
‘सप्तकोशीले गर्ने कटान रोक्न अस्थायी र दीर्घकालीन योजनासहित सरकारले कदम चाल्छ,’ उनले भने। तत्कालका लागि विपद् व्यवस्थापन विभागबाट अस्थायी योजना सञ्चालन गरेर भए पनि कटान रोक्न पहल गरिने उनको भनाइ थियो।
उनले मंगलबार बेलका नगरपालिका–८ को सिसौली, सप्तकोशी पुल क्षेत्रको लाहुरेखोँज र वडा नं ७ का कोठु क्षेत्रको नदी कटान क्षेत्रको अवलोकन गरेका थिए।
तत्काल बेलकास्थित सप्तकोशी पुलदेखि तीन किलोमिटर तलसम्म अस्थायी तटबन्धको योजना तयार गरेर नियन्त्रण गरिने तथा सप्तकोशी पुलदेखि ११ किलोमिटर तल सप्तरीसम्मको क्षेत्र कटान रोक्न स्थायी योजना ल्याउने तयारी गरिएको उनले बताए।
उनीसँगै नेपाली कांग्रेसका नेता तथा उदयपुर निर्वाचन क्षेत्र नं १ का सांसद नारायण खड्काले समेत कटान क्षेत्रको अनुगमन गरेका थिए।
बर्सेनि सप्तकाशीको बाढीले तटीय क्षेत्रमा कटान गर्दैआएको छ। कटानका कारण यहाँ सयौं परिवार विस्थापित भएका बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीले बताए।
‘तत्काल उच्च जोखिम रहेको तीन किलोमिटर क्षेत्रमा यसै वर्षदेखि अस्थायीरूपमा भए पनि तटबन्धको योजना अघि बढाउन गृहमन्त्री लेखकमार्फत सरकारको ध्यानाकर्षण गराएका छौं,’ उनले भने।