बीस वर्षअघि पार्वती धामीले दुई हजार रूपैयाँमा एउटा गाई किनेर ल्याइन्। त्यो गाईले एक बेत दूध दिई।
त्यो गाईको बाच्छीको नाम पार्वतीले 'धौली' राखिन्। चार वर्ष उमेर भएपछि धौलीले पनि दूध दिन थाली। धौलीले लगातार ६ बेत दूध दियो। एक बेतमा बाह्र महिना दूध दिने भएकाले पार्वतीको परिवारलाई ठूलो आर्थिक भरथेग हुन्थ्यो।
'धौलीको दूधले परिवारको खर्च चलेको थियो। बालबच्चाको पढाइ खर्च पुगेको थियो,' पार्वतीले भनिन्।
आठ वर्षयता भने धौलीको दूध आउन छाडेको छ। तैपनि पार्वतीले धौलीलाई माया गरेर पालेकी छन्। आमासरह स्याहारसुसार गरेकी छन्।
उनी भन्छिन्, 'धौली त हाम्रो घरकी आमा हो। यसकै दूध खायौं। यसकै दूधबाट घरखर्च चलायौं। अहिले नसक्ने अवस्था भएपछि चाहिँ म उसलाई सडकमा फाल्न सक्दिनँ।'
यसो भन्दै गर्दा उनी भावुक देखिइन्।
पार्वतीको घर कैलालीको गोदावरी नगरपालिका-१, प्रगतिनगरमा छ। सुदूरपश्चिम तराईका कैलाली र कञ्चनपुरमा दूध आउन छाडेको गाई सडकमा छोड्ने प्रवृत्ति छ। गोरू पनि सडकमै छाडिएका हुन्छन्।
यस्ता वस्तुभाउले किसानको बालीमा क्षति गर्ने र सडकमा सवारी दुर्घटना निम्त्याउने जस्तो समस्या भएको स्थानीय खुसीराम चौधरी बताउँछन्। अर्कातिर ती प्राणी बाँच्नका लागि भौंतारिन्छन्। चोटपटक लागेर घाइते भएका हुन्छन्। पार्वतीले भने वृद्ध गाईको स्याहारसुसार गरेको खुसीरामलाई निकै राम्रो लागेको छ।
'दूध आउन्जेल खानु र आउन छाडेपछि गाई सडकमा छाड्नु त सडकमै मर भनेको हो नि,' खुसीरामले भने, 'पार्वतीले त्यसो गर्नुभएन। धेरै सराहनीय काम गर्नुभएको छ। सबैले यसो गर्ने हो भने बुढा गाईगोरूको संरक्षण हुने थियो।'
यस्ता चौपायाको व्यवस्थापन हुनुपर्ने माग पनि बेला बेला उठ्छ। कतैकतै स्थानीय तहले गौशाला बनाएर समस्या समाधानको प्रयास गरे पनि सार्थक हुन सकेको छैन।
पार्वतीले भने वृद्ध धौलीको स्याहार गर्नु आफ्नो कर्तव्य ठानेकी छन्। दिनरभरिको केही समय धौलीलाई नै दिन्छिन्।
'धौलीले मलाई धेरै दिएको छ। उसको हेरचार गर्न मलाई कुनै गाह्रो छैन। उसको जीवनको अन्तिम दिनसम्म म माया गरिरहन्छु,' उनले भनिन्।
दूध आउन छाडेपछि पनि पार्वतीको परिवारलाई धौलीबाट बेफाइदा छैन। गहुँत र गोबरले आर्थिक बोझ कम गर्न मद्दत पुगेको छ। पार्वती धौलीको गोबरबाट गुइँठा बनाउँछिन् र आगो बाल्न प्रयोग गर्छिन्।
खाना, कुँडो पकाउन दाउराको काम त्यही गुइँठाले गरेको छ। छिमेकीहरू गहुँत लिन आउँछन्। त्यसरी गहुँत दिन सक्नु पनि ठूलै सहयोग हो भन्ने उनलाई लागेको छ।
'मैले कहिल्यै पनि धौलीको झर्को मानेकी छैन। राम्रो गोठ बनाउन नसके पनि छाप्रो बनाएर राखेका छौं,' उनी भन्छिन्, 'म त घरबाट धेरै टाढा पनि जाँदिनँ। जहाँ पुगे पनि धौलीकै लागि चाँडै घर फर्किन्छु।'
पार्वतीका श्रीमान पनि धौलीलाई आफ्नो परिवारको सदस्य मान्छन् र हेरचाहमा मद्दत गर्छन्।
धौलीको आहारा जुटाउन कहिलेकाहीँ पैसा पनि खर्च हुन्छ। पार्वतीको बसाइ बजार क्षेत्रमा छ। घाँस पाइँदैन। आफै घाँस उत्पादन गर्न जमिन पनि छैन। उनी वनतिर गएर घाँस ल्याउँछिन्। पराल र भुस्सा किनेर खुवाउँछिन्। दिनमा एकपटक कुँडो पकाएर खुवाउँछिन्।
उनले धौली भएसम्म अर्को गाई नपाल्ने विचार गरेकी छन्। उसको मृत्युमा परम्पराअनुसार अन्तिम संस्कार गर्ने सोचेकी छन्।
'कोहीकोही मलाई थारो गाईलाई यतिका वर्षदेखि किन घरमा पालेकी भनेर सोध्छन्,' उनी भन्छिन्, 'म धौलीलाई आफ्नी आमाजस्तै माया र सम्मान गर्छु। सडकमा फाल्न सक्दिनँ।'
स्थानीयवासी चेतराज जोशी पनि पार्वतीले धौलीको स्याहार गरेको देखेर प्रभावित छन्।
भन्छन्, 'मान्छेहरू दूध दिन नसक्ने गाई सडकमा छाड्छन्। यस्तो बेला पार्वतीले गरेको काम प्रेरणादायी उदाहरण हो। धौलीसँग पार्वतीको सम्बन्धले गाईपालनको मानवीय पाटो उजागर गरेको छ।'
सडकमा छाडिएका बेवारिसे गाईगोरू व्यवस्थापनका लागि स्थानीय तहले दीर्घकालीन योजना बनाएर काम गर्नुपर्ने उनको भनाइ छ। पार्वतीजस्ता नागरिकको सोच र कामबाट समाजमा चेतना फैलाउन सघाउ पुग्ने पनि उनको विश्वास छ।