नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका राष्ट्रिय सभा सांसद वामदेव गौतमले आफू नेकपा (एमाले) मा प्रवेश गर्न तयार रहेको बताएका छन्।
मंगलबार अपराह्न एमालेले सचिवालय बैठक राखेको छ।
बैठकमा गौतमको विषयमा पनि छलफल हुने एमालेका नेताहरूले जानकारी दिएका छन्।
‘एमाले सचिवालयले छलफल गरेर बोलाए त भोलि नै प्रवेश गर्ने कुरा हुन्छ। अहिलेसम्म कुनै खबर आएको छैन। सचिवालय बैठक छ भन्ने सुनेका हौं,’ सेतोपाटीसँग कुराकानीमा उनले भने।
उनले एमाले फर्कने कुरा पक्कापक्की भइसकेको बताए।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंगलबारको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारका काम, पार्टीका विभागीय कामबारे छलफल हुने बताए।
गौतमका विषयमा छलफल हुनेबारे भने उनले केही खुलाएनन्। ‘आज मुख्यरूपमा पार्टीका नियमित कामका विषयमा छलफल हुन्छन्, ठोस कुरा केही छैन,’ उनले भने।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र गौतमबीच शुक्रबार बालुवाटारमा भेटवार्ता भएको थियो। गत आइतबार पनि उनीहरूबीच टेलिफोनमा कुराकानी भएको थियो।
दुवै संवादमा ओलीले पार्टीमा फर्कन आग्रह गरेपछि गौतम सकारात्मक देखिएका हुन्।
गौतमनिकट एक नेताका अनुसार प्रधानमन्त्री ओलीसँग पदीय हैसियतबारे मूर्त कुराकानी भने भएको छैन। ‘प्रधानमन्त्रीले एमालेमा आउनुस्, पदबारे छलफल गरौंला भन्नुभएको छ। उहाँ उत्साहित हुनुहुन्छ,’ ती नेताले भने।
प्रधानमन्त्री ओलीको सचिवालयले पनि नेता गौतमसँगको संवाद सकारात्मक भएको बताएको छ।
‘उहाँहरूबीच शुक्रबार कुराकानी भएको हो। प्रधानमन्त्री भेटेर फर्किँदा गौतम उत्साहित देखिनुहुन्थ्यो,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो।
एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्दा गौतम प्रभावशाली थिए। अहिले प्रधानमन्त्री रहेका अध्यक्ष ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अन्तरविरोध चुलिँदा नेता गौतम प्रचण्डतिर लागेका थिए।
उनै गौतमले ओलीलाई ’एक व्यक्ति एक पद’को मान्यताअनुरूप पार्टी अध्यक्षको पूर्ण भूमिका प्रचण्डलाई हस्तान्तरण गर्न स्थायी कमिटीमा फरक मत नै राखेका थिए।
अध्यक्ष ओली प्रधानमन्त्री भएकाले सरकारतिरै उनको बढ्ता ध्यान हुनुपर्ने गौतमको मत थियो।
तर नेकपा विभाजनका बेला प्रचण्डलाई साथ दिएनन्। पछि एमाले र माओवादी केन्द्र अलग-अलग अस्तित्वमा फर्कंदा एमाले उपाध्यक्षबाट राजीनामा दिएर २०७८ भदौमा एकता राष्ट्रिय अभियानको घोषणा गरे।
बीचमा एमाले फर्कन उनले अध्यक्ष ओलीसँगै संवाद अघि बढाएका थिए। तर त्यतिबेला अध्यक्ष ओली नै इच्छुक देखिएका थिएनन्।
एमाले फर्कने वातावरण नबनेपछि उनी नेकपा (एकीकृत समाजवादी) मा जाने तयारी पनि गरेका थिए।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेता गौतमको निवासमै पुगेर छलफल गरे। गौतम पनि छलफलका लागि एकीकृत समाजवादी केन्द्रीय कार्यालय आलोकनगर पुगेका थिए।
एकीकृत समाजवादी उनलाई तेस्रो वरियता दिन तयार थियो।
एकीकृत समाजवादीसँग पार्टी एकता नै हुनुपर्ने र आफूसँग रहेका नेताहरूको व्यवस्थापन हुनुपर्ने अडान राखेका गौतम अन्ततः एमालेमा पदीय हैसियत टुंगो नलाग्दै फर्कन राजी भएका छन्।