नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले लाेकतन्त्रलाई प्रहार गर्न चाहने तत्वहरू कांग्रेसलाई कमजोर बनाउने प्रयासमा रहेको बताएका छन्।
कांग्रेस बागलुङले मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै उनले कांग्रेस कमजोर भएका खण्डमा लोकतन्त्र नै कमजोर हुने बताए।
‘विगतमा जनताको गुमेको अधिकार कांग्रेसले पुनःस्थापित गरेको हो। प्राप्त अधिकार रक्षाका लागि सुदृढ र एकताबद्ध कांग्रेस आवश्यक छ,’ उनले भने।
उपप्रधान तथा सहरी विकास मन्त्रीसमेत रहेका सिंहले कांग्रेस र एमालेबीचको सहकार्य स्थिर सरकार होस् भन्ने नागरिकको चाहना र समयको मागअनुसार नै भएको बताए।