लुम्बिनी प्रदेशमा लुम्बिनी प्रज्ञा प्रतिष्ठान गठन हुने भएको छ।
उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले प्रतिष्ठान गठनको अपरिहार्यता खुलाउँदै यसको गठनका लागि मन्त्री परिषदबाट निर्णय गर्नका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेको थियो। प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेशमा प्रज्ञा प्रतिष्ठान गठन गर्ने निर्णय गरेको हो।
‘प्रदेशमा प्रज्ञा प्रतिष्ठान गठन अपरिहार्य छ, यसका लागि हामीले यसको गठनको अपरिहार्यतासहित मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेका थियौं,’ लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले भने, ‘यो प्रस्ताव उपर मन्त्रिपरिषद् बैठकबाट निर्णय भएको छ र अब प्रतिष्ठान गठनको बाटो खुलेको छ।’
प्रदेशको भाषा, वेशभूषा, प्राचिन धर्म, मौलिक संस्कार, संस्कृति, कलागला, साहित्य, संगीत र बौद्धिक सम्पत्ति जस्ता प्रदेशको मौलिकतासँग सम्बन्धित विषयलाई व्यवस्थित गर्न प्रतिष्ठान गठन आवश्यक रहेको मन्त्री न्यौपानले बताए।
मन्त्रिपरिषदले लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा बनेको विधेयकमा सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेपछि अब विधेयक तयार पार्ने काम हुनेछ।
विधेयक संसदमा पेस हुने र ऐनका रूपमा जारी भएपछि प्रतिष्ठान गठनको प्रक्रिया प्रारम्भ हुनेछ। मन्त्री न्यौपानेका अनुसार ऐन निर्माण भई कार्यान्वयनमा गएपछि भाषा, वेशभूषा, प्राचिनतम धर्म, मौलिक संस्कार संस्कृति, कला साहित्य संगीत र यससँग सम्बन्धित विषयको पहिचान हुनेछ।
त्यस्तै, प्रतिष्ठान गठनले कला, साहित्य, भाषा र संगीतको क्षेत्रमा योगदान पुर्याउनेलाई सम्मान, यसप्रति चासो र चिन्ता गर्नेलाई प्रोत्साहन एवं नयाँ पुस्तालाई यस क्षेत्रको समुन्नतिमा लाग्नका लागि उत्प्रेरणा मिल्ने मन्त्री न्यौपानेले आशा व्यक्त गरे।
‘विभिन्न कला, संस्कृति, धर्म, भाषा भेषभुषाको पहिचान संगै कला, साहित्य, भाषा र संगितको क्षेत्रमा योगदान पु¥याउनेलाई सम्मान प्रदान गरिने छ,’ उनले भने ‘ यो क्षेत्र प्रति नयाँ पुस्ताको लगाव कायम गराउनका लागि उत्प्रेरणा दिने काम पनि प्रतिष्ठानबाट हुनेछ।’
प्रतिष्ठान गठनले लुम्बिनी प्रदेशको पर्यटन विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।