भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले आफ्नो राजनीतिमा 'यु टर्न' मारेका छन्।
डेढ वर्षअघि आफ्नो प्रमुख प्रतिद्वन्द्वी पार्टी राष्ट्रिय जनता दल (आरजेडी), कंग्रेससहितका दलसँगको गठबन्धनमा बिहारको मुख्यमन्त्री बनेका कुमारले आइतबार राजीनामा दिए। लगत्तै सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को समर्थनमा फेरि बिहारको मुख्यमन्त्री बने। योसँगै उनी नवौंपटक मुख्यमन्त्री बनेका छन्।
जनता दल (युनाइटेड) का कुमारले सबैलाई चक्मा दिँदै कित्ता बदलेको पहिलो पटक होइन।
डेढ वर्षअघि भाजपासँग सत्तासाझेदारी तोडेर आरजेडीसँग गठबन्धन गरेका कुमारले यसपालि फेरि यु-टर्न मारेका हुन्।
बिहारका चर्चित पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी यादव अहिले आरजेडीको नेतृत्वमा छन्। लालु यादव भने गाईवस्तुको चारोमा भ्रष्टाचार गरेको आरोपमा जेल बसेर सन् २०२१ अप्रिलमा जमानत छुटिसकेका छन्।
त्यो बेला भाजपासँग छुट्टिएर आरजेडीसँग जोडिँदा कुमारले भाजपाले सधैं आफ्नो पार्टी जनता दल (युनाइटेड) लाई मास्न खोजेको बताएका थिए। भाजपाका नरेन्द्र मोदीसँग भने उनको खटपट र असन्तुष्टि त्योभन्दा धेरै पुरानो थियो।
सन् २०१४ को लोक सभा निर्वाचनका लागि जब भाजपाले गुजरातका तत्कालीन मुख्यमन्त्री मोदीलाई प्रधानमन्त्रीका रूपमा अघि सार्यो, कुमार असन्तुष्ट बने। मोदी मुख्यमन्त्री हुँदा उनले मुसलमानविरूद्ध प्रतिशोधात्मक दंगा भड्काएको आरोप छ। त्यसैले मोदीलाई गठबन्धनका नेताका रूपमा उनले अस्वीकार गरे। कुमारको विरोधको कारण नैतिक मात्रै नभएर भोटको राजनीति पनि थियो। त्यति बेला बिहारमा झन्डै १७ प्रतिशत मुसलमान मतदाता थिए। तीमध्ये धेरैले अघिल्लो विधान सभा चुनावमा कुमारकै पार्टीलाई भोट हालेका थिए।
त्यसैले कुमारले भाजपासँगको १७ वर्षदेखि चलिरहेको गठबन्धन छाडेका थिए। बीचमा फेरि भाजपासँग सहकार्य गरेर मुख्यमन्त्री बनेका उनले डेढ वर्षअघि भने आरजेडीसँग गठबन्धन गरेका थिए।
अहिले लोक सभा निर्वाचन नजिकिँदा उनी फेरि भाजपासँग नजिकिएका हुन्।
पटक-पटक गठबन्धन परिवर्तन गरेर मुख्यमन्त्री बन्न सफल नितिशकुमारलाई धेरैले 'पल्टुराम' भनेर खिसी गर्छन्। कतिले 'कुर्सीकुमार' पनि भन्छन्। पछिल्लो पटक भाजपासँगको गठबन्धन छाड्दा गृहमन्त्री तथा मोदीका दाहिना हात अमित शाहले उनलाई 'पल्टुराम' भनेका थिए। अहिले पनि उनले यसरी यु-टर्न मार्न हुँदैन थियो भन्दै कतिपय विपक्षी दलका नेताले उनलाई 'पल्टुरामका सरदार' भन्दै खिसी गरिरहेका छन्। भारतका कैयन सञ्चारमाध्यमहरूले पनि उनलाई 'पल्टुराम' भन्दै आलोचना गरेका छन्।
आलोचनाको शिकार भइरहे पनि केन्द्रीय चुनावको सँघारमा कुमार भाजपासँग फेरि किन नजिकिए?
यसबारे कुरा गर्नुअघि ७२ वर्षीय कुमारको विगतबारे चर्चा गरौं।
कुमारले इलेक्ट्रिकल इञ्जिनियरिङ पढेका हुन्। पढाइपछि केही समय उनले बिहार इलेक्ट्रिसिटी बोर्डमा जागिर खाए। पछि जागिरै छाडेर समाजवादी राजनीतिमा लागे। जयप्रकाश नारायणले सन् १९७४ देखि चलाएको आन्दोलनमा उनी सहभागी भएका थिए। त्यति बेलादेखि नै कुमारले विद्यार्थी राजनीतिबाट उदाएका लालु यादवसँग सहयात्रा गरे।
कुमार र यादव दुबै जयप्रकाश नारायण र राम मनोहर लोहिया जस्ता सामाजिक न्याय र पिछडिएका वर्ग-समुदायको मुद्दा उठाउने नेताबाट प्रभावित थिए। त्यसैले उनीहरूले पनि बिहारमा पिछडिएका जातिको उत्थानका लागि राजनीति गरे। तर कुमार यादवभन्दा झन्डै तीन वर्ष कान्छा थिए। यादवले केही वर्ष अघिदेखि नै विद्यार्थी राजनीति सुरू गरेकाले पनि कुमार सधैं पछि रहे।
विपक्षीलाई दवाउन तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले सन् १९७५ मा इमरजेन्सी लगाइन्। यादव र कुमार दुवै त्यसको विरोधमा लागे। इमरजेन्सीको विरोध गरेर जेल परेका बेला कुमार केहि समय नेपालमा हवाइजहाज अपहरण गरेका कारण भारतीय जेलमा रहेका नेपाली कांग्रेसका नेता शुशील कोइरालासँग एउटै जेल बसेका थिए।
इमरजेन्सीपछि, १९७७ को लोक सभा चुनावमा कंग्रेसविरूद्ध लहर चलेको थियो। त्यहीमाझ यादव २९ वर्षको उमेरमा लोक सभा सदस्य बने। जनता पार्टीले नेतृत्व गरेको मोरारजी देसाइको केन्द्रीय सरकार आन्तरिक कलहका कारण दुई वर्षमै ढल्यो। सन् १९७० दशकमा बिहारमा चलेको समाजवादी आन्दोलनले दशकौंका लागि पिछडिएको समुदायको शासनको जग भने बसाल्यो।
बिहारका बहुसंख्यक भए पनि यादवहरू पिछडिएका थिए। उनीहरूलाई बिहारमा 'अन्य पिछडिएको वर्ग' मा गनिन्छ। उनीहरूकै मतका कारण यादवले लामो समयसम्म बिहारमा राज गरे। कुमारले भने यादवपछिको सबभन्दा ठूलो पिछडा वर्ग कुर्मीको प्रतिनिधित्व गर्छन्।
यादव पहिलोपटक सन् १९९० मार्चमा बिहारको मुख्यमन्त्री भए। त्यसै साल अप्रिलमा कुमार विपी सिंह नेतृत्वको केन्द्रीय सरकारका राज्यमन्त्री भए। त्यही साल नोभेम्बरमा सिंह सरकार ढलेपछि उनको पद गइहाल्यो।
यता यादवले भने मुख्यमन्त्रीका रूपमा बिहारमा शक्ति आर्जन गर्दै मनपरी गर्न थालिसकेका थिए। तत्कालीन भाजपा अध्यक्ष लालकृष्ण आडवाणीले अयोध्यामा बाबरी मस्जिद भएको ठाउँमा राम मन्दिर बनाउन गुजरातको सोमनाथबाट अयोध्यासम्म पुग्न रथयात्रा निकालेका थिए। सन् १९९० सेप्टेम्बर २३ मा त्यो रथयात्रालाई बिहारको समस्तीपुरमा यादवले रोके र आडवाणीलाई गिरफ्तार गरे। यसपछि लालु यादव भारतभरि नै चर्चित भएका थिए।
नाम र शक्ति आर्जन गर्दै गएपछि यादवले केन्द्रको राज्यमन्त्रीको पद फुस्किसकेका कुमारलाई वास्ता गर्न छाडे। बिस्तारै पार्टीमा पनि उनलाई शक्तिबिहीन पारे। यादवले पिछडिएको समुदायको उत्थान गर्ने क्रममा यादवहरूलाई मात्रै ध्यान दिएको कुर्मी समुदायका कुमारले गुनासो गर्न थाले। त्यतिञ्जेल यादवको परिवार र ससुरालीले व्यापक भ्रष्टाचार गर्न थालिसकेका थिए।
संकर्षण ठाकुरले लेखेको ‘सिंगल म्यानः द लाइफ एन्ड टाइम्स अफ नितिशकुमार अफ बिहार’ किताबका अनुसार सन् १९९२ को अन्त्यसम्ममा कुमार र यादवको सम्बन्ध ज्यादै नै बिग्रिसकेको थियो।
कतिसम्म भने, यादव मुख्यमन्त्रीका रूपमा दिल्ली गएका बेला कुमारसहितको टोलीसँग उनको गालीगलौज नै भएको थियो। कुमारले यादवसँगै बसेर काम गर्न नसक्ने निष्कर्ष निकाल्दै एउटा पत्र लेखे। त्यसको भनक पाएपछि तत्कालीन जनता दल प्रमुख शरद यादवले त्यो पत्र पढ्न मागे र यादवसँग सुलह गराउन प्रयास गरे। यादव माफी माग्न पनि राजी भएका थिए तर कुमारले वास्ता गरेनन्।
तर पनि कुमार त्यसपछि झन्डै दुई वर्ष जनता दलमै रहे। लालुको अझै पेलाइ भोगेपछि बल्ल सन् १९९४ मा उनी पार्टीबाट अलग भए।
संकर्षण ठाकुरका अनुसार कुमार एकदमै जोखिम नलिने खालका मन्छे हुन्। अवसर सामुन्ने हुँदा पनि जोखिम लिन हिच्किचाउँछन् र आफ्नो कदमको परिणामबारे लामो समयसम्म सोचविचार गरेर बस्छन्। अरूले पनि उनी कुनै पनि निर्णय त्यसका सबै पक्षबारे गहिरोसँग सोचेर मात्रै लिन्छन् भन्छन्। उनीहरूले नै बताएअनुसार पार्टी छाड्नुअघि कुमारले दुई वर्ष कसरी बहुसंख्यक यादवको समर्थन पाएका लालु यादवलाई बिहारमा सत्ताच्युत गर्न सकिन्छ भनेर योजना बनाएर बसे।
१९९२ को अन्त्यमा बाबरी मस्जिद ढलाएपछि अचानक कंग्रेसपछिको दोस्रो ठूलो राष्ट्रिय दल बनेको हिन्दु अतिवादी भाजपासँग उनले योजनाअनुसारै बिहारमा तालमेल गरे। जनता दल फुटाएर राष्ट्रिय जनता दल (आरजेडी) बनाएका लालु यादवले सन् २००० को विधान सभा चुनावमा बिहारमा बहुमत पुर्याएनन्। त्यसपछि तत्कालीन प्रधानमन्त्री भाजपाका अटल बिहारी बाजपेयीको सल्लाहमा पहिलोपटक कुमार मुख्यमन्त्री बने। तर बहुमत पुर्याउन नसकेपछि उनको सरकार एक हप्तामै ढल्यो।
सन् २००४ को लोक सभा चुनावमा भाजपाले नेतृत्व गरेको गठबन्धन पराजित भयो। कंग्रेस गठबन्धनले जित्यो। सन् २००५ मा भएको बिहारको विधान सभा चुनाव भने भाजपाको गठबन्धनले जित्यो। कुमारको जनता दल (युनाइटेड) सबभन्दा ठूलो दल बन्यो र उनी दोस्रो पटक मुख्यमन्त्री बने। उनले बिहारमा व्याप्त अपराध नियन्त्रण गर्दै र विकास निर्माणका धेरै राम्रा काम गरे।
भाजपासँग गठबन्धन सुरू गरेपछि सन् २००४ सम्म पटक पटक केन्द्रीय मन्त्री समेत भएका कुमारले अविकसित बिहारमा सुशासन गरेपछि धेरै चर्चा कमाए। उनको उचाइ देशभरि बढ्यो। पाँच वर्ष राम्रो काम गरेपछि सो गठबन्धन सन् २०१० को विधान सभा चुनावमा झन् धेरै बहुमतका साथ विजयी भयो। तेस्रोपटक मुख्यमन्त्री भएपछि पनि उनले सुशासनलाई निरन्तरता दिए।
सन् २०१४ को चुनावअघि मोदीको विरोध गर्दै गठबन्धन छोडेका कुमारले उक्त लोक सभा चुनावमा बिहार राज्यमा आफ्नो दलले नराम्रो पराजय भोगेपछि हारको जिम्मेवारी लिँदै मुख्यमन्त्री पदबाट राजीनामा दिए। तर सन् २०१५ को विधान सभा चुनावअघि फेरि चौथोपटक मुख्यमन्त्रीका रूपमा फर्के।
मोदी प्रधानमन्त्री भएपछि कुमार लालु यादवको आरजेडी, कंग्रेस लगायतसँग महागठबन्धन गरेर विधान सभा चुनाव लडे। यादवसँग अलग्गिएको दुई दशकपछि दुई जना सँगै भए। महागठबन्धनले चुनाव जित्यो र कुमार पाँचौंपटक मुख्यमन्त्री बने। यादवको आरजेडी सबभन्दा ठूलो दल बने पनि कुमार नै मुख्यमन्त्री भए र यादवका छोरा तेजस्वी यादव उप-मुख्यमन्त्री भए।
सन् २०१७ मा तेजस्वीलाई भ्रष्टाचारको आरोप लागेपछि कुमारले उनलाई राजीनामा दिन भने। तेजस्वीले नमानेपछि उनले महागठबन्धन छोडेर राजीनामा दिए र तुरून्तै भाजपा गठबन्धनको समर्थनमा छैटौंपटक मुख्यमन्त्री बने।
सन् २०२० को विधान सभा चुनाव भाजपा गठबन्धनले जितेपछि कुमारको दल तेस्रो ठूलो मात्रै भयो। तैपनि उनी सातौंपटक मुख्यमन्त्री भए। तर २०२२ अगस्ट ९ मा उनले भाजपासँगको गठबन्धन छोडेको घोषणा गर्दै मुख्यमन्त्रीबाट राजीनामा दिए। अनि तुरून्तै लालु यादवको आरजेडीकै समर्थनमा आठौंपटक मुख्यमन्त्री बने।
यसपालि फेरि उनले विपक्षी गठबन्धन छाडेको घोषणा गर्दै राजीनामा गरे। आइतबार भाजपासहितको समर्थनमा मुख्यमन्त्री बनिहाले।
मोदीका कारण भाजपासँगको गठबन्धन छाडेका कुमारले एक दशकपछि फेरि किन गठबन्धन गरे?
कतिले बिहारमा सुशासन गरेकाले आफैं प्रधानमन्त्री बन्ने महत्वकांक्षाका कारण कुमारले सन् २०१३ मा गठबन्धन तोडेको ठान्छन्। केहीले भने राजनीतिक जीवनमा लामो समय लालु यादवको पेलाइ भोगेका र मोदी पनि त्यस्तै मनपरी गर्ने खालका भएकाले कुमारले गठबन्धनमा मनोमानी गर्ने ठानेर छोडेका भन्छन्। तर मुख्यतया मोदीको मुसलमानविरोधी इतिहासकै कारण उनले त्यति बेला गठबन्धन तोडेको मानिन्छ।
अहिले उनले विपक्षी गठबन्धन किन छाडे भन्ने यकिन छैन। तर फेरि पनि प्रधानमन्त्री बन्ने महत्वकांक्षा पूरा नहुने भएपछि उनले त्यसो गरेको अड्कल काटिएको छ। मुख्यमन्त्री त विपक्षी गठबन्धनमै रहे पनि उनी नै रहन्थे। तर केही गरी विपक्षी गठबन्धनले लोक सभा चुनाव जित्यो भने प्रधानमन्त्री हुने उनको आकांक्षा रहेको मानिन्छ।
कुमारले मोदीविरूद्ध गठबन्धन बनाउन धेरै अघिदेखि काम गरेका थिए। तर विपक्षी गठबन्धनले चुनाव जिते कंग्रेस प्रमुख मल्लिकार्जुन खर्गेलाई प्रधानमन्त्री बनाउने घोषणा गरेपछि उनले गठबन्धन नै छोडेको मानिन्छ।
विपक्षी गठबन्धनले सामूहिक नेतृत्व अवलम्बन गर्नुपर्ने कुमारको चाहना थियो। तर त्रिनमुल कंग्रेसकी प्रमुख र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी र आम आदमी पार्टी प्रमुख र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले एकाएक खर्गेलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि कुमार चिढिएका भनेर 'द वायर' ले लेखेको छ।
भर्खरै अयोध्यामा राम मन्दिर उद्घाटन गराएका मोदीले अर्को कार्यकाल पनि जित्ने लगभग निश्चित मानिन्छ। यस्तोमा विपक्षी गठबन्धनले जित्न धेरै गाह्रो हुने र केही गरी जिते पनि आफू नभएर खर्गे प्रधानमन्त्री हुने भएकाले उनी भाजपासँग नजिकिएका हुन सक्छन्।
कतिले भने अर्को कार्यकाल जितेपछि मोदी झन् आक्रामक हुने र धेरै विपक्षी नेतालाई जेल हाल्ने आशंका गर्छन्। भाजपासँग गठबन्धन गरेपछि मोदीले आफूलाई त्यसरी रिस नसाँध्ने भनेर पनि कुमारले त्यसो गरेको भनेर उनीहरू दाबी गर्छन्।
कुमार नजिकिन चाहे पनि सन् २०२२ मा उनले गठबन्धन छोडेपछि आक्रामक रूपमा उनको विरोध गरेको भाजपाले जित्नै लागेको चुनावअघि किन उनलाई अँगाल्यो त भन्ने प्रश्न पनि उठ्छ।
अहिले मोदीले जित्ने सम्भावना बढे पनि हिन्दु अतिवादी नीतिका कारण पछिल्लो समयमा दक्षिणी राज्यहरूमा भाजपाले सिट जित्ने सम्भावना न्यून हुँदै गएको छ। यस्तोमा हिन्दुभाषी उत्तरी र मध्यभागबाट नै भाजपा गठबन्धनले बहुमत पुर्याउनु पर्ने हुन्छ।
त्यही कारण मोदी सरकारले गत साता मात्रै बिहारका पूर्वमुख्यमन्त्री करपुरी ठाकुरलाई मरणोपरान्त ‘भारत रत्न’ दिने घोषणा गर्यो। सन् १९७० मा बिहारको पहिलो गैरकंग्रेस मुख्यमन्त्री बनेका ठाकुर बिहारका अग्रणी समाजवादी नेतामध्ये हुन्। ठाकुर लालु यादव र नितिश कुमार दुवैले राजनीति सुरू गरेका बेलाका आदर्श बिहारी नेता हुन्।
हिन्दु अतिवादको मुद्दालाई प्रमुख बनाएको भाजपाले सामाजिक न्यायको मुद्दा उठाउँदैन। जयप्रकाश नारायण र राम मनोहर लोहियासँगै सामाजिक न्यायको मुद्दा उठान गरेका र दुईपटक बिहारका मुख्यमन्त्री बनेका स्वच्छ छविका ठाकुरलाई भारतको सर्वोच्च नागरिक सम्मान दिएर भाजपाले अल्पसंख्यकको समेत मत तान्न खोजेको ठानिन्छ।
यस्तोमा कुमारलाई साथ लिए बिहारमा अझ केही सिट बढी जित्ने भएकाले भाजपाले उनीसँग गठबन्धन गरेको हुनुपर्छ। तर विश्लेषकहरूले यो गठबन्धन लोक सभा चुनावसम्म मात्रै टिक्ने र अर्को वर्ष हुने विधान सभा चुनावसम्म तोडिने दाबी गर्छन्।
अहिले २४३ सिट भएको बिहार विधान सभामा ४३ सिट मात्रै जितेर जनता दल (युनाइटेड) तेस्रो ठूलो दल मात्रै छ। तर जसरी नेपालमा सबभन्दा ठूलो दल कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेले तेस्रो ठूलो दल माओवादी केन्द्रका पुष्पकमल दाहाल 'प्रचण्ड' लाई प्रधानमन्त्री बनाए, बिहारमा पनि त्यसरी नै सबभन्दा ठूलो आरजेडी र दोस्रो भाजपाले कुमारलाई मुख्यमन्त्री बन्न दिएका छन्।
तर सन् २०२५ को विधान सभा चुनावपछि कुमारको दलले सिट धेरै बढाउन नसक्ने र गठबन्धनले जिते पनि कमजोर कुमारलाई फेरि मुख्यमन्त्री नबनाएर भाजपाले आफैं दाबी गर्ने छ भन्ने अनुमान जानकारहरूले गरेका छन्। लालु यादवको आरजेडी सबभन्दा ठूलो दल भए पनि कुमारले अहिले धोका दिएका कारण उनलाई मुख्यमन्त्री नमान्ने देखिन्छ।
यसरी अहिलेसम्म चतुर्याइँ गरेर पटकपटक कित्ता फेरे पनि सन् २००५ देखि लगातार जसो मुख्यमन्त्री बनेका नितिश कुमारको यात्रा नवौं पटकमै टुंगिने पनि देखिन्छ!
(प्रेम ढकाल सेतोपाटी अंग्रेजी संस्करणका सम्पादक हुन्।)