पोखरा महानगरपालिकाको बुलौदी, फेवामार्गमा लेकसाइड नजिकै 'माई ओल्ड हाउस' नामको एउटा क्याफे (रेस्टुरेन्ट) छ।
यो क्याफे रहेको घर करिब ५० वर्षअघि बनेको हो। पुरानो ढाँचाको घरमा रहेकाले क्याफेको नाम पनि मिल्दो जुराएको यसका सञ्चालक किशोर सुवेदी बताउँछन्।
२९ वर्षीय किशोर पेसाले इञ्जिनियर हुन्। उनले क्याफे भएकै घरको एउटा कोठामा इञ्जिनियरिङ कन्सल्टेन्सी पनि चलाएका छन्। क्याफेका लागि सात वटा कोठा छुट्ट्याइएको छ।
किशोरले यहाँ क्याफे चलाएको दुई वर्ष हुन लाग्यो। उनका आमाबुबाले २०४८ सालमा किनेको यही घरमा उनी जन्मेहुर्केका हुन्।
'आफू जन्मेकै घरलाई कर्मथलो बनाउने अवसर कमैले पाउँछन् होला,' किशोरले भने, 'म आफूलाई भाग्यमानी मान्छु। यो ठाउँले मलाई धेरै सिकाएको छ।'

किशोरका आमाबुबा श्रीरामचोकमा भाँडा पसल चलाउँथे। बलौदीको घरबाट पसल आउजाउ गर्न अलिक टाढा थियो। आमाबुबाले पसल नजिकै हुने गरी श्रीरामचोकमै अर्को घर बनाए अनि उतै सरे। नयाँ घरमा सरेपछि बुलौदीको घर भाडामा दिए।
भाडामा दिएपछि घरको हेरचाह राम्रो भएन। केहीले भाडासमेत नदिई छाडिदिए। आफ्नो घर बेवारिसेजस्तो भएपछि आमाबुबा चिन्तित थिए।
'घरको जतन भएन, अब के गर्ने भन्ने छलफल परिवारमा चलिरहेको थियो। भत्काएर नयाँ बनाउने कि भन्ने कुरा पनि भएको थियो,' किशोरले भने, 'परिवारमा छलफल हुँदा आधा शताब्दीको इतिहास भएको घर भत्काउनुभन्दा संरक्षण गरेर क्याफे चलाऔं भन्ने कुरा भयो। अनि म त्यसै अनुसार अघि बढेँ।'
किशोरलाई क्याफे चलाउन उनका दाइ विमलले सहयोग गरेका छन्। विमल हाल दक्षिण कोरियामा छन्। उनी मेकानिकल इञ्जिनियरिङमा स्नातक तहको पढाइका लागि गएका थिए। पिएचडी (विद्यावारिधि) पूरा गरेर उतै काम गर्दैछन्।
क्याफेमा अहिले किशोरबाहेक ६ जना कर्मचारी छन्। यहाँ एक पटकमा १२० जना बसेर खान पुग्ने ठाउँ छ। नेपाली मौलिकता झल्किने गरी सजावट गरेको क्याफे परिसरमा बगैंचा पनि छ।
'हाल दैनिक सरदर १५ हजार रूपैयाँ जतिको कारोबार हुन्छ,' किशोरले भने।
माई ओल्ड हाउसको विशेष परिकार कोदोको रोटी र मोही हो। आफ्नो बाल्यकालमा यी परिकार खाएको र स्वस्थ्यकर हुने भएकाले क्याफेको विशेष परिकारका रूपमा पस्किएको उनको भनाइ छ।
यसबाहेक आलु परौठा, बर्गर, मःम, नुडल्स लगायत थुप्रै परिकार यहाँ पाइन्छ। क्याफेमा आलु परौठा र मसला चिया बढी चल्तीमा छ। कफी पिउने पनि धेरै हुन्छन्।

दुई वर्ष हुन लाग्दा क्याफेको व्यापार हेरेर किशोर उत्साहित छन्।
'यो सुरूआत हो। अहिले चल्न सक्नु नै ठूलो कुरा हो। टिक्न त तीन वर्षजति लाग्छ,' उनले भने, 'गर्दै जाऊँ, राम्रै चल्छ होला। घर जतन भएको छ। छोरो हामीसँगै बसेर काम गर्दै छ भनेर आमाबुबा खुसी हुनुभएको छ।'
आमाबुबाको खुसीले आफ्नो हिम्मत बढेको उनले बताए।
'घरको एक जना मान्छे बाहिर हुँदा कहिलेकाहीँ नरमाइलो हुँदो रहेछ,' उनले भने, 'एउटा छोरो विदेशमा भए पनि एउटा हामीसँगै छ भनेर आमाबुबा मन बुझाउनु हुँदो रहेछ।'
क्याफेसँगै इञ्जिनियरिङ कन्सल्टेन्सी चलाइरहेका किशोरलाई कहिलेकाहीँ काममा चुनौती हुन्छ। तर चुनौतीसँगै कामको ऊर्जा बढेको अनुभव गर्छन्।
भन्छन्, 'यो ऊर्जाशील समयमा पनि खट्न सकिएन भने सुखको दिन कसरी आउला र भन्ने लाग्छ। कन्सल्टेन्सी चलिरहेकै छ, ग्राहकले रूचाए भने क्याफे पनि विस्तार गर्छु। नेपालमै सक्दो मेहनत गर्छु।'


