नेकपा (एमाले) ले वडा तहमा ४० वर्ष मुनिका युवाको रोष्टर तयार पार्न निर्देशन दिएको छ। आइतबार बसेको केन्द्रीय संगठन विभागको २२ औं बैठकले वडा तहका कमिटीहरूलाई आफ्नो गाउँ–ठाउँमा रहेका ४० वर्ष मुनिका युवाको सूची तयार पारी विवरणसहित पठाउन निर्देशन दिएको हो।
एमालेले पछिल्लो समय ४० वर्ष मुनिका युवामा पार्टीको आकर्षण बढाउन नसकिएको निष्कर्ष निकालेको छ। जेन–जी लगायत युवा पुस्ता एमालेबाट टाढिँदै गएको पनि निष्कर्ष निकालेको छ।
वैशाख ११ गते १९ औं लोकतन्त्र दिवसको दिन एमालेले काठमाडौंमा एक लाख युवा उतार्ने भन्दै ‘युथ सेलिब्रेसन’ समेत गरेको थियो।
देशैभरका संगठन परिचालन गर्दा पनि युथ सेलिब्रेसनमा युवाको सहभागिता अपेक्षित भएन।
एमाले केन्द्रीय कमिटीले चालिस वर्ष मुनिका युवामा पहुँच बढाउन र युवा नेतृत्व विकासको योजनाबद्ध थालनी गर्न भन्दै मातहतका कमिटीलाई निर्देशन दिएको थियो। त्यसमा कति प्रगति भयो भन्दै अद्यावधिक विवरण पठाउन निर्देशन दिएको हो। निर्देशनमा अनिवार्यरूपमा प्रत्येक वडा कमिटीले ४० वर्ष मुनिका युवाको रोष्टर तयार पार्नुपर्नेछ।
त्यस्तै एमालेले रोजगारी तथा अध्ययनका सिलसिलामा विदेश गएका युवाको नाम, ठेगाना सहितको विवरण संकलन गर्न पनि निर्देशन दिएको छ।
एमाले केन्द्रीय कमिटीले माघ, फागुन र चैत महिना वडाकेन्द्रीत पार्टी निर्माणको अभियान (जरा अभियान) सञ्चालन गरेको थियो। त्यही अभियानमा यी कामहरू गर्न निर्देशन दिएको थियो।
संगठन विभागले २०८२ को पार्टी सदस्यताको अद्यावधिक विवरण वैशाख मसान्तसम्म प्रदेश कमिटीमा पठाउन निर्देशन दिएको छ। त्यस्तै, पार्टी सदस्यहरूको अनलाइन अभिलेखीकरणको काम जेठ महिनाभर अभियानकै रूपमा सञ्चालन गर्न पनि निर्देशन दिएको छ।
एमालेले साढे पाँच लाख सदस्यता रहेको बताएको छ। गत वर्ष ७० प्रतिशत हाराहारी मात्रै नवीकरण भएको थियो।
यसपटक सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणलाई अभियानकै रूपमा अगाडि बढाउने निर्णय गरेको हो।
तीन महिने ‘जरा अभियान’ को विस्तृत प्रतिवेदन पठाउन पनि एमालेले निर्देशन दिएको छ।
जसमा पार्टी सदस्यतासम्बन्धि कामको विस्तृत प्रतिवेदन (नवीकरण, नयाँ सदस्यता विस्तार, अनलाइन अभिलेखीकरण, प्रशिक्षण र परिचालन) के कति सम्पन्न भएका छन् आँकडामै उल्लेख गर्न भनेको छ।
यस्तै पालिका, वडा र टोल तह सम्मका पार्टी कमिटीका अधिवेशनहरू के कति सम्पन्न भए? टोलमा पार्टी कमिटीहरू कति बने? टोल कमिटी कति नियमित परिचालित भएका छन्? संगठनात्मक अराजकता र अवसरवादलाई परास्त गर्ने गरी कुनै शुद्धीकरणका काम पनि भए कि भएनन्, ती कुराहरू पनि समावेश गर्न निर्देशन दिएको छ।
कार्यकर्ता प्रशिक्षण कुन स्तरमा कति सम्पन्न भए? कति कार्यकर्ता सहभागी भए? कार्यकर्तामा आत्मविश्वास जगाएर पार्टीलाई घर–घर पुर्याउने र जनतामा आशा जगाउने काम हुनसक्यो कि सकेन? यसबारे पनि प्रतिवेदनमा उल्लेख गर्न भनेको छ।
यस्तै एमालेले जनताका माग, मुद्दा तथा समस्या समाधानमा अग्रसरता लिने र आर्थिक–सामाजिक तथा सांस्कृतिक रूपान्तरणलाई तिव्रता दिने सवालमा कति काम भयो? यी कुरालाई पनि उल्लेख गर्न निर्देशन दिएको छ।
एमालेले अभियानका क्रममा जनतासँग जनसंगठन अभियान कसरी अघि बढ्यो? वडासम्म जनसंगठनका कमिटी निर्माण, सदस्यता विस्तार, प्रशिक्षण र सम्बन्धित समुदायका समस्या समाधानमा कति प्रगति भयो? आँकडामै उल्लेख गर्न पनि निर्देशन दिएको छ।
पार्टी कार्यालयहरू कति व्यवस्थित भए? पालिका र वडा तहसम्म कति नयाँ कार्यालयहरू खुले? कार्यालयहरू नियमित सञ्चालनमा छन् कि छैनन्? आदि पनि प्रतिवेदनमा उल्लेख गर्न भनेको छ।
एमाले केन्द्रीय कमिटीले अन्तविरोधहरूको समाधान गरी आन्तरिक एकता कसिलो बनाउन निर्देशन दिएको थियो। त्यस काममा कति प्रगति भयो, कतिवटा कमिटीको समस्या समाधान गरियो भनेर पनि सोधेको छ।
एमालेले यसबीचमा पार्टीको नीति र नेतृत्वमाथि प्रायोजित मिथ्या प्रचार भइरहेको भन्दै साइबर हमला चिर्न निर्देशन दिएको थियो।
त्यसमा कति प्रगति भयो भनेर पनि सोधेको छ।
‘पार्टीको नीति र नेतृत्वमाथि भइरहेको प्रायोजित मिथ्या प्रचारको (साइबर हमला) को प्रतिवाद गर्ने काम कति प्रभावकारी ढंगले अघि बढ्यो? तीन महिनाअघि र अहिले कति फरक परेको छ? आँकडामै प्रस्तुत गर्नुपर्नेछ,’ एमालेको निर्देशनमा भनिएको छ।
विधान संशोधनका लागि एमालेले सुरू गर्यो सुझाव संकलन
एमाले केन्द्रीय सचिवालयले आउँदो भदौ २० देखि २२ गते सम्म पार्टीको दोस्रो विधान महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। काठमाडौंमा नै यो विधान महाधिवेशन आयोजना हुनेछ। एमालेले यसअघि २०७८ असोजमा पहिलो विधान महाधिवेशन आयोजना गरेको थियो।
दोस्रो विधान महाधिवेशनका लागि २०८२ जेठ मसान्तसम्म केन्द्रीय सचिवालयमार्फत् मातहत पार्टी कमिटी र पार्टी सदस्यहरूबाट सुझाव संकलन गर्ने भएको छ। त्यसका लागि आवश्यक सुझाव दिन पार्टी कमिटीलाई निर्देशन पनि दिएको छ। पार्टी कमिटी र सदस्यहरूले सम्बन्धित पार्टी कमिटीमार्फत् आफ्ना सुझाव दिन सक्नेछन्।