ससुराका हत्या आरोपी ज्वाइँ झन्डै २० वर्षपछि पक्राउ परेका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ पुकार पसलनजिकै घर भएका ४२ वर्षीय वीरबहादुर गुरुङ पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले बताए।
साबिक टरिगाँउ गाविस वडा नम्बर १२ पुकार पसल नजिकै घर भई तत्कालीन समय तुलसीपुर नगरपालिका वडा नम्बर ६ बरुवा गाँउमा कोठा भाडामा बस्ने २२ वर्षीय वीरबहादुर गुरुङले तुलसीपुर वडा नम्बर ११ अश्वारा घर भई तुलसीपुर वडा नम्बर ५ मा कोठा भाडामा बस्ने ३५ वर्षीय काँसीराम विकलाई कुटपिट गरी हत्या गरेको अभियोग थियो। त्यस घटना २०६२ साउन १४ गतेको थियो।
नातामा मृतक अभियुक्तका ससुरा पर्छन्।
घटनाको दिन बेलुकी बसपार्कमा तरकारी पसल गर्ने काँसीराम र उनकी कान्छी श्रीमती शोभा विकका बीचमा खाना खाने क्रममा घरायसी विवाद उत्पन्न भएको थियो। हत्या आरोपी गुरूङ त्यो दिन सुसुरालीमा पाहुना लाग्न गएका थिए।
श्रीमान्–श्रीमतीबीचको विवादमा मदिराले मातेका ज्वाइँ वीरबहादुर पनि सामेल भएका थिए। एक आपसमा सम्झाइबुझाइ गर्ने क्रममा ज्वाइँ–सुसुराका बीचमा विवाद चुलिएको थियो।
त्यही क्रममा ज्वाइँले ससुरालाई धकेल्नुका साथै कुटपिट गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने कुरा तत्कालीन प्रहरी प्रतिवेदनमा देखिएको प्रहरी निरीक्षक मगरले बताए ।
ससुराको हत्यापछि ज्वाइँ भागेर छिमेकी देश भारत पुगेका थिए। त्यहाँ उनले झन्डै १५ वर्ष जति लुकिछिपी काम गर्दै बिताएका थिए।
भारतमा उनले गाडी चलाउने काम गरेको प्रहरीले बताएको छ।
अभियुक्त चार वर्षअघि नै नेपाल आएको खुलेको छ। त्यतिबेला सासुले नै कुरा मिलिसकेको र फर्कनु भनेकाले उनी फर्किएर गाउँमै गाडी चलाउने काम गरेका थिए।
प्रहरी निरीक्षक रानाका हत्या आरोपी वीरबहादुर घर फर्किएपछि चलाखीपूर्वक एक जना प्रहरी हवल्दारको घरमा गाडी चलाउने गरेका थिए।
पक्राउ अघिसम्म पनि उनी बहालवाला प्रहरी हवल्दारका बुवाले सञ्चालन गरेको कुखुरा फार्ममा गाडी चलाउँदै थिए।
ती प्रहरी हवल्दारलाई वीरबहादुरको विगत थाहा नभएकाले गाडी चलाउन राखेको बताएका छन्। वीरबहादुरले हवल्दारको बुवाको कुखुरा फार्ममा चार वर्षदेखि नै गाडी चलाउँदै आइरहेको प्रहरीको भनाइ छ।
प्रहरीले विशेष सुरारकका आधारमा वीरबहादुरलाई पक्राउ गरेको बताएको छ।