स्टोरीको सुरूआत पछिल्लो दुई सातामा भएका तीन वटा घटनाबाट गरौं।
पहिलो घटना — वीरगन्ज महानगरपालिका-१४ का ३४ वर्षीय पुरूष आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा यही वैशाख ९ गते पक्राउ परे।
उनले १४ वर्षीया छोरीलाई पटक पटक बलात्कार गर्दै आएको र कसैलाई थाहा दिए ज्यान लिन्छु भनेर धम्क्याएको जाहेरी पर्सा जिल्ला प्रहरी कार्यालयमा परेको छ। जाहेरी दिन पीडित किशोरकी आमा प्रहरी कार्यालय पुगेकी थिइन्। छोरीको ज्यान जाने डरले प्रहरीसमक्ष आउन नसकेको जाहेरीमा उल्लेख छ।
दोस्रो घटना — मकवानपुरको थाहा नगरपालिकाकी १३ वर्षीया किशोरी बुबाबाट यौन दुर्व्यवहार भएको भन्दै वैशाख ५ गते प्रहरीकहाँ उजुरी गर्न गइन्।
उनले आफूमाथि भएको यौन शोषणबारे ६ महिनासम्म कसैलाई बताएकी थिइनन्। पछि आफन्तहरूले थाहा पाएर प्रहरीकहाँ लगेका थिए। परिवारको डरले ६ महिना मुख बन्द राखेको उनले प्रहरीलाई बताएकी छन्।
छोरीको उजुरीका आधारमा प्रहरीले वैशाख ८ गते उनका बुबालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार ती किशोरी आफ्ना बुबा र सानी आमासँग बस्दै आएकी थिइन्। बुबाले मदिरा सेवन गरेर छोरीका गोप्य अंग छुन खोज्दा रहेछन्। सानी आमालाई यसबारे बताउँदा रिसाउलिन् कि भन्ने डरले चुप लागेर बसेकी रहिछन्।
'फुपूले यो कुरा थाहा पाएपछि उनीहरू प्रहरीकहाँ उजुरी लिएर आएका थिए,' डिएसपी अर्यालले भने, 'हामीले कानुनी कारबाही अघि बढाएका छौं।'
तेस्रो घटना — गत चैत २६ गते पर्सा प्रहरीले छोरीमाथि बलात्कार गरेको आरोपमा ३४ वर्षीय पुरूषलाई पक्राउ गर्यो।
प्रहरीका अनुसार उनले छोरीको बलात्कार मात्र गरेका थिएनन्, त्यसको भिडिओ बनाएर आफ्नो गुगल ड्राइभमा समेत राखेका थिए।
पर्सामा व्यवसाय गर्दै आएका ती पुरूष भारतीय नागरिक हुन्। उनले श्रीमती माइत गएका बेला छोरीको बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्रले बताएका छन्।
'मदिराको नशामा छोरीको बलात्कार गरेको उनले स्वीकार गरेका छन्,' एसपी मिश्रले भने, 'उनले लामो समयदेखि यस्तो गर्दै आए पनि छोरीले चुपचाप सहिरहेकी थिइन्।'
पछि नेसनल सेन्टर अफ मिसिङबाट ती बालिकामाथि यौन शोषण भइरहेको खबर प्रहरीकहाँ आइपुगेको उनले बताए।
यी तीन वटा घटना केही उदाहरण मात्र हुन्।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार २०७६ देखि २०८२ फागुनसम्म साढे १४ हजार बालिका तथा महिला बलात्कारको सिकार भएका छन्। तीमध्ये ८७ प्रतिशतभन्दा बढी बलात्कार परिवारकै सदस्य, आफन्त वा परिचितहरूबाट हुने गरेको प्रहरी रेकर्डमा देखिन्छ।
नाताभित्रबाट करिब साढे १२ हजार र परिचितहरूबाट २ हजारभन्दा बढी बलात्कृत भएको प्रहरीले जनाएको छ। अपरिचित व्यक्तिबाट भएको बलात्कार संख्या १३ प्रतिशत रहेको तथ्यांकले देखाउँछ।
पछिल्लो ६ वर्षयता प्रहरीमा उजुरी परेका बलात्कार घटनालाई आधार मान्दा नाताभित्रबाट बुबा, झट्केलो बुबा, ठूलोबुबा, काका र मामाबाट बढीजसो बालिका बलात्कृत भएका देखिन्छन्। महिलाहरू भने आफ्नै श्रीमान, देवर, जेठाजु, पुरूष साथी र छिमेकीबाट धेरै बलात्कृत भएका छन्।
यही अवधिमा आएका उजुरीमध्ये करिब साढे १३ हजार मुद्दा दर्ता भएका छन् भने ११ हजारभन्दा बढी आरोपी पक्राउ परेका छन्।
यो तथ्यांकलाई वार्षिक रूपमा हेर्ने हो भने हरेक वर्षको संख्या लगभग उही देखिन्छ। बलात्कार गर्नेमा आफन्तहरूकै संख्या बढी छ। (हेर्नुहोस् तालिका)
आर्थिक वर्ष | बलात्कारका घटना | आफन्त वा परिचित व्यक्तिबाट भएका घटना | अपरिचित व्यक्तिबाट भएका घटना |
२०७६/७७ | २४४८ | १९४६ | ५०२ |
२०७७/७८ | २८१५ | २३१४ | ५०१ |
२०७८/७९ | २६५४ | २१९४ | ४५९ |
२०७९/८० | २६०४ | २११३ | २९१ |
२०८०/८१ | २५१२ | २३०९ | २०३ |
२०८१/८२ (फागुनसम्म) | १४६१ | १३४७ | ११४ |
परिवारकै सदस्य वा आफन्तबाट हुने बलात्कारका घटना प्राय: बाहिर आउँदैनन्। कतिपय अवस्थामा परिवारका सदस्यले थाहा पाएर पनि गुपचुप राख्छन् भने कतिपय अवस्थामा पीडित बालिका वा किशोरीले आफूमाथि भएको यौन शोषणबारे कसैलाई थाहै दिँदैनन्।
घरभित्रै गुपचुप राखिने हुँदा यस्ता घटना ढिलो गरी प्रहरीको जानकारीमा आउने केन्द्रीय प्रहरी कार्यालयका नायब महानिरीक्षक तथा प्रवक्ता दिनेश कुमार आचार्य बताउँछन्। कुनै आफन्त वा साथीभाइले हिम्मत बढाएपछि मात्र घटना बाहिर आउने र कारबाहीको चरणसम्म पुग्ने उनको भनाइ छ।
यौन हिंसाका घटना गुपचुप राखिनुमा सामाजिक संरचना नै मुख्य दोषी रहेको उनी बताउँछन्।
'हाम्रो सामाजिक संरचना बालबालिका र महिलामैत्री छैन। यौन शोषण वा अन्य किसिमका घरेलु हिंसाका घटना घरको पर्खालभित्रै लुकाएर राखिन्छ। यस्तो कुरा बाहिर ल्यायो भने परिवारको इज्जत जान्छ भनेर भनिन्छ। यही इज्जतको डरले घरका महिला सदस्य पनि पीडित बालिका वा किशोरीमाथि हुने यौन हिंसाका घटना बाहिर ल्याउन सहयोगी बन्दैनन्,' आचार्यले भने।
कतिपय अवस्थामा त यौन दुर्व्यवहार वा शोषण भनेको के हो, कस्तो किसिमको छुवाइ नराम्रो हो र यस्तो घटनामा कानुनी कारबाही हुन्छ भन्ने ज्ञान नहुँदा पनि गुपचुप रहने गरेको उनको भनाइ छ।
'गलत नियतले शरीरका अंग छुनु अपराध हो र यस्तो अपराध जसले गरेको भए पनि कारबाहीका भागीदार हुन्छन् भन्ने ज्ञान सबैलाई छैन,' उनले भने, 'त्यसैले परिवारकै सदस्य वा निकट आफन्तबाट घटना भए पनि त्यसविरूद्ध बोल्नुपर्छ, प्रतिकार गर्नुपर्छ र कारबाही निम्ति प्रहरीकहाँ जानुपर्छ भन्ने मानसिकता विकास भइसकेको छैन।'
बालिका तथा किशोरीहरूलाई यौन हिंसाबाट बचाउन सबभन्दा पहिला त गलत छुवाइबारे सूचना दिनुपर्ने र घटना भइहाले तत्काल प्रतिकार गर्न प्रेरित गर्नुपर्ने आचार्य बताउँछन्।
'यौन शोषणका घटना कम गर्ने पहिलो उपाय नै सचेतना हो। यसको सुरूआत परिवार र स्कुलबाट हुनुपर्छ। परिवारका सदस्य र शिक्षकहरूले यसमा साथ दिनुपर्छ। हाम्रा बालिका र किशोरीहरूलाई आवाज उठाउन हिम्मत बढाउनुपर्छ। गलत काम गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन सहयोग गर्नुपर्छ। परिवारका सदस्य वा आफन्तबाट भएको गल्ती ढाकछोप गर्ने, माफी दिने प्रवृत्ति अन्त्य गर्नुपर्छ,' उनले भने।
हामीले आफन्त वा परिचितहरूबाट हुने बलात्कार घटनाबारे भ्वाइस अफ चिल्ड्रेनका मनोपरामर्शकर्ता कमला सुनारसँग पनि कुरा गरेका थियौं। उनले यौन दुर्व्यवहार तथा शोषणमा परेका बालबालिका र महिलाहरूसँग लामो समयदेखि नजिक रहेर काम गर्दै आएकी छन्।
बलात्कृत महिलाहरूमाथि नै दोष थोपर्ने पुरूषप्रधान सामाजिक प्रवृत्तिले पीडितहरू मुख खोल्न हिच्किचाउने गरेको उनको भनाइ छ।
'आफूमाथि हुने यौन हिंसाबारे अरूलाई सुनाउँदा समाजले उल्टै महिलाहरूलाई नै गाली गर्छन्। उनीहरूकै चरित्रमा औंला उठाउँछन्। उनीहरूलाई नै दोष लगाउँछन्,' उनले भनिन्, 'यस्तै प्रवृत्तिले बलात्कारका घटना प्राय: गुपचुप रहन्छ।'
लामो समय बितेपछि पीडित महिलाहरूले आफ्ना मिल्ने साथीहरूलाई उक्त घटनाबारे सुनाउने गरेको उनी बताउँछिन्।
यसरी मन मिल्ने साथीहरूलाई घटनाबारे सुनाउँदा पनि अरू कसैलाई नभन्ने सर्त राख्ने गरेको उनको भनाइ छ। 'हामीले पनि परिचय नखोल्ने र घटनाबारे कसैलाई जानकारी नदिने विश्वास दिलाएपछि मात्र उनीहरू कुरा गर्न तयार हुन्छन्,' उनले भनिन्।
बलात्कार मात्र होइन, ज्यान लिनेमा पनि आफन्तहरूको संग्लनता उच्च छ।
प्रहरी तथ्यांकअनुसार पछिल्लो ६ वर्षमा ३ हजार २१३ जनाविरूद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको छ। तीमध्ये १ हजार २५५ वटा घटनामा आफन्त नै संलग्न रहेको पाइन्छ। त्यसमा पनि श्रीमानले श्रीमती, श्रीमतीले श्रीमान, आमाबुबाले छोराछोरी, छोराले आमाबुबा र छोराबुहारीले आमाबुबाको हत्या गरेका घटना धेरै छन्।
***