ग्लोबल नेपाली
ताप्लेजुङमा जन्मेहुर्केका यज्ञराज सुवेदी सन् १९९६ अक्टोबरमा दक्षिण कोरिया गएका थिए। त्यो बेला प्रशिक्षार्थी भिसामा दक्षिण कोरियामा जाने चलन थियो। स्नातक तहको पढाइ पूरा गरेपछि उनी औद्योगिक प्रशिक्षार्थीका रूपमा त्यता गएका थिए।
उनले एउटा प्लास्टिक कम्पनीमा काम गर्ने अवसर पाए। त्यो समय दक्षिण कोरियामा श्रमिकहरूमाथि शोषण भएको भन्ने आरोपमा विरोध प्रदर्शन भएको थियो।
करिब दुई वर्ष काम गरेपछि उनलाई पनि आफूमाथि श्रमशोषण भएको अनुभव भयो।
'त्यो बेला विभिन्न मानव अधिकारवादी संस्थाहरूले आन्दोलन गरेका थिए। म पनि कतिपय आन्दोलनमा सहभागी भएँ,' उनले भने।
उनी सन् १९९८ को मध्यतिर स्वदेश फर्के। स्वदेशमै काम गर्ने चाहना भए पनि तत्काल कुनै बलियो सम्भावना देखेनन्। करिब ६ महिनापछि फेरि उतै फर्के।
उता काम गर्दा गर्दै मानवशास्त्र विषयमा स्नातकोत्तर तहको पढाइ सुरू गरे। उनको पढाइ सन् २००५ मा पूरा भयो। लगत्तै एउटा मानव अधिकारवादी संस्थामा कामको अवसर पाए। त्यसअघि पनि उनले स्वयंसेवकका रूपमा मानव अधिकारकै क्षेत्रमा काम गरेका थिए। आप्रवासीहरूको मानव अधिकार र सामाजिक क्षेत्रमा स्वयंसेवी भएर लागेका थिए।
सन् २००५ देखि सन् २००९ सम्म मानव अधिकारवादी संस्थामा आबद्ध भएर मानव अधिकार र सामाजिक अभियानमा काम गरे।
उनले सन् २००९ मा दक्षिण कोरियाली नागरिकता प्राप्त गरे। त्यसपछि आफ्नो सक्रियतामा ‘किम्हे माइग्रेन्ट हाउस’ नामको एनजिओ (गैरसरकारी) संस्था गठन गरे।
'उक्त संस्था विदेशी मूलका कोरियालीहरूले गठन गरेको पहिलो एनजिओ थियो। सोही संस्थामार्फत मैले सन् २०२१ सम्म आप्रवासीको हकहितका लागि काम गरेँ,' यज्ञराजले भने।
त्यसपछि उनी त्यहाँको डेमोक्र्याटिक पार्टीको सदस्य भएर राजनीतिमा लागे। अघि बढ्दै जाँदा लगत्तै अर्को वर्ष सन् २०२२ मा 'दक्षिण ख्याङ्गी प्रदेश सभा' चुनावमा सांसद पदको उम्मेदवार बन्ने अवसर पाए।

आप्रवासी कामदारका रूपमा दक्षिण कोरिया गएर प्रदेश सभा चुनावमा उम्मेदवार हुन पाउने विदेशी मूलका पहिलो व्यक्ति यज्ञराज नै थिए। तर उनी पराजित भए। उनी पार्टीको केन्द्रीय उपसमितिसम्म पुगेका थिए।
चुनावमा पराजित भएपछि राजनीतिक सक्रियता कम गरेर व्यवसायमा लागे।
अहिले संघीय संसदको सदस्य हुने महत्त्वाकांक्षाका साथ फेरि राजनीतिक सक्रियता बढाउँदै छन्।
'पार्टीको केन्द्रीय उपसमितिबाट राजीनामा दिएर म साधारण सदस्य मात्रै छु। अहिले एउटा रेस्टुरेन्ट सुरू गरेको छु,' उनले भने, 'अब फेरि राजनीतिमा सक्रिय हुन्छु। आगामी जुनमा हुने राष्ट्रपति निर्वाचनका लागि पार्टीको कुनै जिम्मेवारी लिएर प्रचारप्रसारमा खट्ने निर्णय गरेको छु।'
अबको मुख्य सक्रियता राजनीतिमै हुने र जीविकोपार्जनका लागि मात्र रेस्टुरेन्ट चलाउने उनको भनाइ छ।
आप्रवासीका हक र अधिकारका निम्ति आवाज उठाउनु र राजनीतिमा सक्रिय हुनु उनको मुख्य काम हुनेछ। रेस्टुरेन्ट श्रीमती र छोराछोरी चलाउने छन्।
'मैले ठूलो आर्थिक उन्नति गरेको छैन। गणनामा आउने किसिमको व्यवसाय वा उद्योग छैन। तर दक्षिण कोरियाको सत्ता संरचनामा राम्रो पहुँच छ,' उनले भने।
दक्षिण कोरियामा विदेशी मूलको नागरिकलाई यज्ञराजको जस्तो अवसर र पहुँच विरलै सम्भव छ। अक्सर रैथानेसँग बिहे गरेका विदेशीले मात्र त्यहाँको नागरिकता पाउँछन्। यज्ञराज त्यस्ता व्यक्ति हुन् जसलाई नागरिकता लिन त्यहाँको कानुन मन्त्रालयले प्रस्ताव गरेको थियो।
'मैले आप्रवासीहरूको मानव अधिकारका लागि काम गरेको हुनाले कानुन मन्त्रालयका कर्मचारीहरूलाई मेराबारेमा थाहा थियो। उनीहरूले नै नागरिकता प्रस्ताव गरेका हुन्,' उनले भने, 'मैले भाषा परीक्षा दिएँ। अरू प्रक्रिया कर्मचारीले नै मिलाए। मैले नागरिकता लिएको भन्दा पनि उनीहरूले दिएका हुन्।'
यज्ञराज दक्षिण कोरियामा बसेको ३० वर्ष हुनै लागेको छ। यस अवधिमा २० वर्षभन्दा बढी आप्रवासीको हकहितमा काम गरेका छन्।
उनका अनुसार दक्षिण कोरियामा अन्य एसियालीप्रतिको नजर फरक छ। गरिब देशका नागरिकप्रति अलिक हेलाको दृष्टिकोण छ तर यसमा बिस्तारै सुधार हुँदै आएको छ।
'दक्षिण कोरिया नाजुक अवस्थामा रहँदा अमेरिका र युरोपले सहयोग गरे। धनी हुँदै गएपछि एसियालीहरू कामदार भएर गए,' उनले भने, 'यस कारण कोरियालीहरू अमेरिकन र युरोपियनलाई माथिल्लो दर्जाको अनि एसियालीलाई तल्लो दर्जाको जस्तो ठान्न खोज्छन्। हामी यस्तो धारणाविरूद्ध लडिरहेका छौं।'
यज्ञराज सन् २०२६ जुनमा हुने प्रदेश सभा निर्वाचनमा भाग लिने उद्देश्यका साथ राजनीतिमा सक्रिय छन्। प्रदेश सभा हुँदै कुनै दिन संघीय संसदमा पुग्ने महत्त्वकांक्षा लिएका छन्।
उनले केही समय 'कोरियामा सीप नेपालमा रोजगारी' भन्ने कार्यक्रम पनि चलाए। उनकै प्रयासमा स्थानीय सरकारसँग मिलेर कतिपय नेपालीले अटोमोबाइल, कृषि प्रविधि लगायतको तालिम पाए।
यस्तो तालिम लिएका कपितपय व्यक्ति नेपालमा उद्यमी बनेका छन्। कोरियामा सीप सिकेर नेपालमा सानो लगानीले पनि व्यवसाय गर्न सकून् भनेर तालिम कार्यक्रम चलाएको उनले बताए।
यज्ञराज नेपालसँगको सम्बन्ध कायम राख्न एनआरएनए (गैरआवासीय नेपाली संघ) मा सक्रिय छन्। उनी सन् २०१९ देखि सन् २०२१ सम्म एनआरएनए दक्षिण, कोरियाको अध्यक्ष रहे। त्यही अवधिमा कोभिड–१९ फैलियो। कोभिडको समयमा 'एक व्यक्ति एक किट्स' अभियान चलाएर नेपाललाई सहयोग गरेको उनले बताए।

आर्थिक रूपमा नेपाललाई सहयोग गर्न नसके पनि राजनीतिक रूपमा कोरियासँगको सम्बन्ध बलियो बनाउन भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ छ।
'मेरै पहलमा नेपालका सांसदहरूलाई कोरिया ल्याएर यहाँका सांसदहरूसँग भेट गराएको छु। गत वर्ष स्थानीय तहका १० जना प्रतिनिधि बोलाएर सात दिन भ्रमण गराएँ,' उनले भने, 'कोरियाका सांसदहरूलाई पनि नेपाल लैजाने प्रयासमा छु। कोरियाको आर्थिक र सामाजिक विकासबाट नेपालले धेरै सिक्न सक्ने ठाउँ छ।'
उनका अनुसार दक्षिण कोरियामा वृद्धको जनसंख्या बढ्दो क्रममा छ। यस कारण त्यहाँको सरकार आप्रवासीलाई लामो समय टिकाउने नीतिमा छ। यस्तो नीतिबाट नेपालले राम्रो फाइदा लिन सक्छ। दक्षिण कोरियामा दक्ष कामदारको लागि प्रशस्त सम्भावना रहे पनि नेपाल सरकारले त्यसमा ध्यान दिन नसकको यज्ञराजको भनाइ छ।
'पानीजहाज कम्पनीहरूले नेपालमै गएर कामदारलाई तालिम दिने प्रस्ताव राखेका थिए तर नेपाल सरकारले मानेन। त्यो प्रोजेक्ट उज्बेकिस्तानले पायो,' उनले भने, 'यहाँ प्राविधिक शिक्षा पढ्नेका लागि पनि राम्रो अवसर छ तर यस्ता कुरामा नेपाल सरकार चुकेको देख्छु।'
दक्षिण कोरियामा कार उत्पादक कम्पनीका लागि धेरै किसिमका कामदारको र अस्पतालका लागि नर्सको माग धेरै छ।
यस अवस्थाबाट पनि नेपालले चलाखीपूर्ण तरिकाले फाइदा लिन सक्ने उनको धारणा छ।
'कुनै समय दक्षिण कोरियाले भियतनाम युद्धमा युवा पठाएर अमेरिकासँग पैसा लिएको थियो। यद्धबाट आएको पैसाले महत्त्वाकांक्षी आयोजनाहरू बने। यसमा उनीहरू गर्व गर्छन्,' उनले भने, 'नेपालले पनि विभिन्न क्षेत्रमा दक्ष कामदार पठाएर फाइदा लिन सक्ने अवसर छ। अवसरको उपयोग गर्न सक्नुपर्यो।'
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- [email protected]