सरकारले जारी गरेको ‘लक डाउन’ व्यवहारिक रुपमा कार्यान्वयन गराउन प्रहरी नै फ्रन्ट लाइनमा खटिँदै आएको छ।
लक डाउनको चौथो दिन दाङमा प्रहरीको भूमिका र सक्रियता अझ बढेको छ। प्रहरी सहर बजारमा मात्रै केन्द्रित नभएर गाउँबस्तीमा समेत पुगेर सर्वसाधारणलाई सम्झाई बुझाई गर्दै आएको छ।
फ्रन्ट लाइनमा खटिने हुँदा प्रहरीले नै सबैभन्दा पहिले संक्रमितको ‘फेस’ गर्नु पर्छ। त्यसैले कोरोना भाइरस संक्रमणको पहिलो जोखिम प्रहरीमा छ।
तर त्यसरी खटिने प्रहरीसँग भरपर्दो सामग्री छैन। ‘पिपिईको त कुरै छोडौं, सबै प्रहरीसँग मास्क पनि छैन, किन्न पनि पाइँदैन,’ दाङका प्रहरी प्रवक्ता तथा डिएसपी सुमित खड्काले भने ‘हामीलाई स्यानिटाइजर, पञ्जा र मास्क मात्रै दिएपनि धेरै सजिलो हुने थियो।’
पछिल्लो समय पानी मात्रै पिएर ड्युटीमा खटिने गरेको खड्काले बताए। ‘भोक प्यासमै प्रहरी २४सै घन्टा ड्युटीमा खटिनु परेको छ,’ खड्काले भने ‘अहिले हामी खटेनौं भने भोलि समाजको भविष्य वर्वाद हुन सक्छ।’
कोरोना भाइरसबाट जोगिन सामाजिक दुरी कायम राख्न अति आवश्यक रहेता पनि कतिपय मानिसले प्रहरीको आँखा छलेर मनपरी गर्ने गरेको डिएसपी खड्काले गुनासो गरे। ‘यो त ठूलो वार नै हो नि, तर हामीसँग भरपर्दौ हतियार छैन,’ उनले भने ‘त्यसैले यो प्रहरी एक्लैले लड्न सक्दैन, यसमा सबैले साथ दिन जरुरी छ।’
यति ठूलो लडाईमा पनि सबैले गम्भीर भएर साथ नदिएकोप्रति उनले आश्चर्य व्यक्त गरे। खड्काले भने – ‘कसैले मर्निङ वाक भनेको छ, कसैले इभिनिङ वाक भनेको छ , कोही बोर लाग्यो भन्दै सडकमा निस्किएको छ र कोही पुलिस छैन भनेर मनपरी गरिरहेका छन्।’
सचेत नागरिकले आफैंले आफैंलाई अनुसासनमा राख्नुपर्ने उनको भनाइ छ। यस्ता कुरामा पनि पुलिसले सम्झाईदिनुपर्ने अवस्था रहनु लाजमर्दो परिस्थिति मान्नुपर्ने उनले बताए। बिहीबार मात्रै अटेर गरी विनाकाम नै सडक र चोकहरुमा निस्कने झन्डै एकसय जनालाई पक्राउ गरेको दाङका प्रहरी प्रवक्ता खड्काले बताए।
उनले त्यो क्रम नरोकिए शनिवारदेखि पक्राउ गरेर मुद्दा चलाउने तयारी प्रहरीले गरेको जानकारी दिए । सरुवा रोग सार्ने कसुर सम्वन्धि मुद्दा चलाउने अवस्था आए त्यस्ता अटेर गर्ने व्यक्तिलाई ६ महिनादेखि बर्षदिन सम्म जेल सजाए समेत हुन सक्ने डिएसपी खड्काले जानकारी दिए।