राष्ट्रियसभा सदस्यका लागि बिहीबार दाङमा भएको निर्वाचनमा प्रदेश ५ मा नेकपाका तीनै जना उम्मेदवार विजयी भएका छन्।
सत्तारूढ दल नेकपाबाट अपाङ्ग सदस्यमा दाङका जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलवस्तुबाट विमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्टराई निर्वाचित भएका छन्। औपचारिक घोषणा भने केहीबेरमा हुनेछ।
दाङका शर्मा गत प्रदेशसभा सदस्यमा पराजित भएका थिए।
उनले दाङको निर्वाचन क्षेत्र नं. ३ को (क)मा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीसँग पराजित भएका थिए।
राष्ट्रिसभाका तीन जना सदस्य पदका लागि नौ जना बीचमा प्रतिपर्धा भएको थियो।
नेकपा र कांग्रेसबाट समान तीन/तीन जना, समाजवादी पार्टीबाट दुई जना र राष्ट्रिय जनमोर्चा पार्टीबाट एक जनाले प्रतिस्पर्धा गरेका थिए।
कांग्रेसबाट महिला सदस्यमा दाङबाट गिरिजादेवी न्यौपाने, अल्पसंख्यक सदस्यमा बाँकेबाट मेराज अहम्मद हलवाई र अन्यबाट अर्घाखाँचीबाट बालकृष्ण पाण्डेय उम्मेदवार थिए।
त्यस्तै, समाजवादी पार्टीबाट अल्पसंख्यक सदस्यमा बाँकेबाट सुनिलकुमार सिंघल र अन्यबाट बर्दियाका कृष्णप्रसाद अहिर उम्मेदवार थिए।
त्यसैगरी, राष्ट्रिय जनमोर्चाले अन्य सदस्यका लागि कपिलवस्तुबाट शिवप्रसाद पौडेललाई उम्मेदवार बनाएको थियो।
प्रदेशका १२ जिल्लाका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय १८ जना मतदाता रहेकोमा २ सय १७ मत खसेको थियो भने प्रदेशसभा सदस्यको संख्या ८७ रहेकोमा ८६ मत खसेको जिल्ला निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।
राष्ट्रियसभा सदस्य चुन्न दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म मतदान भएको थियो।