नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जहाजबाट शनिबार साँझ नेपालगञ्ज ओर्लिए।
त्यहाँबाट दाङ गाडीमा जाँदा रातको सवा १० बजिसकेको थियो। तैपनि देउवा हतारमा थिए।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ डुर्मीगाउँमा बरघर मटावाँ महासंघले माघीको अबसरमा राखेको कार्यक्रममा उनलाई प्रमुख अतिथि निम्ताइएको थियो।
बेलुकी ११ बजे कार्यक्रम सुरू भयो। देउवाले राजनीतिक भाषण गरेनन्। थारू समुदायको संस्कृति र आफ्नै किसिमको न्याय प्रणाली रहेको भन्दै प्रशंसा गरे।
‘थारु समुदायमा कुनै समस्या आइपरे उनीहरु अदालत जाँदैनन्। थारु अगुवा (बरघर) बसेर आफैँ हल गर्छन्,’ देउवाले भने ‘यो समुदाय वर्षौंदेखि आफ्नै नियममा चलेको छ।’
थारुहरुको आफ्नै भाषा, संस्कृति र पहिरन रहेको हुँदा त्यो संरक्षण गर्न जरुरी रहेको देउवाले बताए।
उनले थारू समुदायले छोराछोरीका शिक्षामा ध्यान दिनुपर्ने सुझाव दिए।
‘कमलहरी प्रथाले हिजोका दिनमा थारू समुदायलाई समस्यामा पारेको थियो,’ उनले भने।
देउवा यसअघि पनि माघी मनाउन दाङ आउने गरेका थिए। उनले माघ १ गते सुनसरी जानुपरेकोले दाङ आउन नपाएको पनि सुनाए।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीले थारू राजाको प्राचीन दरबार तुलसीपुर उपमहानगर वडा नम्बर ११ सुकौराकोटको विकासमा राज्यले ध्यान दिनुपर्ने बताए।
प्रदेश सांसद डिल्लीबहादुर चौधरीले दाङलाई प्रदेश ५ को राजधानी बनाउन सहयोग गर्न सभापति देउवाको ध्यानाकर्षण गराएका थिए।