आगामी माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेश नं. ५ मा नौ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं. ५ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसबाट तीन–तीन जना, समाजवादी पार्टीबाट दुई जना र राष्ट्रिय जनमोर्चा पार्टीबाट एक जना गरी नौं जनाले मनोनयन दर्ता गराएका हुन्।
नेकपाका तर्फबाट अपाङ्ग सदस्यमा दाङबाट जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलबस्तुबाट बिमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्टराईले मनोनयन दर्ता गराएका छन्।
उम्मेदवारी दर्ताको लागि दाङको घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा उनीहरु र्यालीका साथ पुगेका थिए। र्यालीमा नेकपाका केन्द्रीय सदस्य तथा पूर्व कृषिमन्त्री चक्रपाणी खनाल, केन्द्रीय सदस्य नारायणी शर्मालगायतका नेताहरु सहभागी थिए।
त्यस्तै नेपाली कांग्रेसबाट महिला सदस्यमा दाङकी गिरिजादेवी न्यौपाने, अल्पसंख्यक सदस्यमा बाँकेबाट मेहराज अहमद हलुवाई र अन्यतर्फ अर्घाखाँचीबाट बालकृष्ण पाण्डेयले मनोनयन दर्ता गराएका छन्। कांग्रेसका उम्मेदवार पनि मनोनयन दर्ता गर्न जाँदा र्यालीका साथ पुगेका थिए।
र्यालीमा कांगेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य अत्तहर कलाम, राष्ट्रियसभा सदस्य अनिता देवकोटा, पूर्व सांसद राजु खनाल, बुद्धिराम भण्डारीलगायत नेताहरुको सहभागिता थियो।
राष्ट्रियसभा सदस्य पदका लागि समाजवादी पार्टीका दुई जनाले मनोनयन दर्ता गराएका छन्। अल्पसंख्यक सदस्य पदमा बाँकेबाट सुनिल सिंघल र अन्यमा बर्दियाबाट कृष्णप्रसाद यादवले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।
राष्ट्रिय जनमोर्चाको तर्फवाट एकजनाको मात्रै मनोनयन दर्ता भएको छ। कपिलबस्तुका शिवप्रसाद पौडेलले मात्रै घोराहीमा आएर मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत थापाले बताए।