पुस १० गते एकाबिहानै बबई गाउँपालिका अध्यक्ष भूवनेश्वर पौडेलको घरमा हतियारसहित पुगेका केही व्यक्तिहरू विप्लवका कार्यकर्ता रहेको दाबी गरिएको छ।
एक जना प्रहरी अधिकृतले हतियारसहित अध्यक्ष पौडेलको घरमा पुग्नेहरू सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता रहेको भन्ने खुल्न आएको दाबी गरे।
‘हालसम्मको हाम्रो अनुसन्धानले त्यही देखिएको छ,’ ती प्रहरी अधिकृतले भने, ‘प्रहरीले त्यहाँ पुग्ने व्यक्तिको समेत पहिचान गरिसकेको छ।’
ती व्यक्तिहरूलाई पक्राउ गर्नको लागि अदालतसँग पूर्जीको आदेश माग गरिएको भए पनि हालसम्म प्राप्त हुन नसकेको उनले बताए।
‘उनीहरू अध्यक्षज्यूलाई अपहरण गरेर लैजान सोचका साथ घरमै पुगेको जस्तो देखिन आएको छ,’ उनले भने, ‘तर, उक्त दिन बिहानै अध्यक्षज्यू मर्निङ वाकमा निस्किएको हुँदा उनीहरूको योजना सफल हुन पाएन।’
घटनाबारे बुझ्न खोज्दा एक जना विप्लवका स्थानीय नेताले त्यो काम पार्टीको निर्णय अनुसार नै गर्न खोजिएको भए पनि सफल हुन नसकेको स्वीकार गरे।
तर, पार्टीको तर्फबाट भने कुनै पनि आधिकारिक प्रतिक्रिया दिइएको छैन।
प्रहरीले भने ती विप्लवकै कार्यकर्ता भएको दाबी गर्दै अदालतबाट पक्राउ पूर्जी प्राप्त हुन साथ पक्राउ गर्ने जानकारी दिएको छ।
पौडेललाई खोज्दै घरमै पुगेका अपरिचित हतियारधारी चार व्यक्तिले घरभित्र प्रवेश गरी घरको खानतलासी समेत गरेका थिए। तर, अध्यक्षलाई फेला नपारेपछि उनकी श्रीमतीलाई ‘तेरो श्रीमान कहाँ छ?’ भन्दै पेस्तोल देखाउँदै हातपातसमेत गरेका थिए।
घटना भएकै दिन गाउँपालिका प्रवक्ता टंकराज विश्वकर्माले जारी गरेको प्रेस विज्ञप्तिमा पनि त्यो कुरा उल्लेख छ।
यो घटनापछि राष्ट्रिय युवा संघ दाङले बबईको हापुरे बजारमा दोषीलाई कारबाहीको माग गर्दै हापुरे बजारमा विरोध प्रदर्शन समेत गरेको थियो।
बबई गाउँपालिकाका अध्यक्ष पौडेलको घरमा भएको घटनाप्रति नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त र सचिव लक्ष्मी आचार्यले वक्तव्य जारी गर्दै घटनामा संलग्नलाई पहिचान गरी कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेका थिए।