जिल्ला प्रहरी कार्यालय पर्साले किर्ते गरी जाली लाईसेन्स बनाउने २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत विहार पश्चिम चम्पारण जोगियाही बस्ने दिपक ठाकुर र मोटरसाईकल चालक वीरगंज महानगरपालिका वडा नम्बर १४ श्रीपुर बस्ने उमेश चौधरी रहेका छन्।
ना १२ प २५८४ नम्बरको पल्सरमा सवारी उनिहरुको साथबाट प्रहरीले विभिन्न व्यक्तिहरुको लाईसेन्स ४ थान, होलोग्राम स्टीकर ६ थान, मोबाईल २ थान, विभिन्न व्यक्तिको फोटोहरु ३८ थान, राजश्व तिरेको रसिद ५ थान, टाईप गरेको तयार कार्ड १ थान, टाईप गरेको कार्ड २ थान, विभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपी ४ थान, प्रवेश पत्रको फाटोकपी ४ प्रति लगायतको सामाग्री बरामद गरेको बताइएको छ।
पक्राउ परेको भारत विहार रक्सौल जोगियाही निवासी दिपक ठाकुर आर्थिक वर्ष ०६६/०६७ मा जिल्ला प्रहरी कार्यालय पर्साबाटै सरकारी छाप दस्तखत किर्ते मुद्धामा पक्राउ परी एक वर्ष कैद भुक्तानी गरी छुटेका थिए। जाली लाईसेन्स बनाउने कार्यमा अन्य व्यक्तिहरु पनि संलग्न रहेको खुल्न आएकाले दुवैलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।