'हामी नेपाल' का संस्थापक सुदन गुरूङसहित जेन–जी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूका परिवारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकविरूद्ध जाहेरी दिन खोजेका छन्।
उनीहरू जाहेरी लिएर सोमबार दिउँसै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए। प्रहरीले दर्ता नगरेपछि उनीहरू अबेर रातिसम्म प्रहरी परिसर बाहिरै बसिरहे।
'हामी जाहेरी लिएर गएका थियौं, तर उहाँहरूले जाहेरी दर्ता गर्न खुट्टा कमाउनुभयो,' जाहेरी दर्ता गर्न गएको समूहका एक प्रतिनिधिले सेतोपाटीसँग भने, 'हामी पनि जबसम्म दर्ता हुँदैन, त्यहाँबाट फर्कँदैनौं भनेर दिनभरि बाहिर बसिरह्यौं।'
यसबीच परिसरका प्रहरीहरूलाई धम्क्याइएको आरोप पनि लागेको थियो। तर उनीहरूले त्यो आरोप खण्डन गरेका छन्।
'हामीले कसैलाई धम्क्याएका छैनौं, चुपचाप परिसर बाहिर बसेका हौं। हामीलाई बदनाम गराउन यस्ता आरोप लगाइएको हो,' उनले भने।
प्रहरीले जाहेरी लिन नमानेपछि सोमबार बेलुकी साढे ७ बजेतिर नै उनीहरू गृह मन्त्रालय गएका थिए। त्यहाँ केही उच्च प्रहरी अधिकारीसँग कुराकानी भएको ती प्रतिनिधिले जानकारी दिए। तर के कुरा भयो भन्ने खुलाएनन्।
मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, एआइजी दानबहादुर कार्की र काठमाडौंका एसएसपी रमेश थापाबीच कुराकानी भएको थियो। गृहबाट सबै जना राति १० बजेतिर हिँडेका थिए।
सरकारले भदौ २३ र २४ को आन्दोलनमा भएका घटना छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको छ। आयोगको प्रस्तावअनुसार अध्यागमन विभागले पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री लेखक सहित ५ जनालाई काठमाडौं छाड्न रोक लगाइसकेको छ।
यसरी अधिकारप्राप्त आयोगले काम गरिरहेका बेला उनीहरूविरूद्ध जाहेरी दिनु प्रक्रियासम्मत हुन्छ त भनेर हामीले ती प्रतिनिधिलाई सोधेका थियौं।
जबाफमा उनले भने, 'आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले नै हाम्रो काम–कारबाहीले फौजदारी अनुसन्धान रोकिँदैन भनेर भनिसक्नुभयो। त्यसैले आयोगको छानबिन चलिरहँदा पनि प्रहरीले हाम्रो जाहेरी बुझेर अनुसन्धान गर्नुपर्छ भन्ने हाम्रो माग हो।'
'हामी नेपाल' ले सोमबार मात्रै ओली र लेखकलाई पक्राउ गर्नुपर्ने भन्दै 'अरेस्ट केपी ओली एन्ड रमेश लेखक' को अभियान चलाएको थियो।
अभियान चलाउँदा उनीहरूले लेखेका छन्, 'हत्याराहरूलाई पक्राउ गर वा कारबाही गर्न राज्य बाध्य हुनेछ।'