जेन–जी मुभमेन्ट अलायन्सले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख सहित सबै आयुक्तको राजीनामा माग्दै मंगलबार निवेदन दिएका छन्।
अलायन्सका केही प्रतिनिधि टंगालस्थित आयोगको कार्यालय पुगेर दिएको उक्त निवेदन दर्ता भइसकेको छ।
निवेदन बुझाउन जानेमा विभिन्न समूहका प्रतिनिधि थिए। तीमध्ये अमित खनाल एक हुन्।
भदौ २३ र २४ को आन्दोलनमा संलग्न विभिन्न जेन–जी समूहले आपसमा ऐक्यबद्धता कायम राख्न यो अलायन्स गठन गरेको उनको भनाइ छ।
अमित आफै पनि 'न्यू वेभ' समूहको प्रतिनिधित्व गर्दै अलायन्समा आबद्ध भएका हुन्।
त्यस्तै 'नेसनल काउन्सिल' बाट रिजन राना मगर, 'नवयुग' बाट हेम चौधरी, 'मुस्लिम जेन–जी' बाट एमडी नयम रेन अलायन्स प्रतिनिधि बनेका छन्।
यसबाहेक 'जेन–जी पर्सा' बाट विशेष साह, 'जेन–जी चितवन' बाट अवशेष सापकोटा, 'जेन–जी डिजिटल दस्तक' बाट सुदिप सेठ र आशुतोष झा छन्। अल्पसंख्यक समुदाय र मधेसको प्रतिनिधित्व गर्दै अन्य व्यक्ति पनि अलायन्समा जोडिएका छन्।
'अलायन्समा आबद्ध विभिन्न समूहका १२–१३ जना प्रतिनिधि छन्। स–साना समूह जोडेर बनाइएकाले एक जना मात्र प्रतिनिधि तोकिएको छैन,' अमितले भने, 'हामीले सामूहिक रूपमा काम गरिरहेका छौं।'
अलायन्सका अर्का प्रतिनिधि रिजन राना मगरले पनि बिस्तारै देशभरका सबै जेन–जी समूहलाई जोड्दै जाने तयारी रहेको बताए।
'हामीले भ्रष्टाचारविरूद्ध आवाज उठाउँदै आएका छौं,' उनले भने, 'त्यसैका लागि भदौ २३ गते देशव्यापी आन्दोलन भयो। यो आन्दोलनले मुलुकलाई परिवर्तनको नयाँ बाटोमा लगेको छ। त्यसैले उच्च पदमा रहेका र भ्रष्टाचारको आरोप लागेकाहरूले पद छाड्नुपर्छ। नयाँ व्यक्तिलाई नियुक्त गरिनुपर्छ।'
तत्कालीन प्रधानमन्त्री र मन्त्रीहरू मात्र होइन, उच्च तहमा बसेर भ्रष्टाचार गरेका वा लाभ लिएका व्यक्तिले राजीनामा दिनुपर्ने अलायन्सको माग रहेको उनले बताए।
यसअघि शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पनि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईको राजीनामा सहित आठबुँदे मागपत्र पेस गरिएको थियो।
अलायन्सको मागसँग मिल्दोजुल्दो रहेकाले त्यो मागपत्रमा तपाईंहरूको पनि संलग्नता छ भनेर सोध्दा रिजनले भने, 'त्यो दिनको बैठकमा अलान्यसका कोही पनि प्रतिनिधि गएका थिएनन्।'
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई कारबाही माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा सोमबार दर्ता गर्न खोजिएको जाहेरीमा भने आफूहरूको समर्थन रहेको उनले बताए।
अख्तियार प्रमुख राईको राजीनामा मागका सम्बन्धमा अलयान्सका अमितले भने, 'वाइडबडी जहाज प्रकरणमा उहाँको नाम मुछिएको छ। त्यसैले राजीनामा दिनुपर्छ भन्ने हाम्रो माग हो।'
'हामीले सामाजिक सञ्जालमा यो कुरा उठाउँदै आएका थियौं। उहाँले नैतिकताका आधारमा राजीनामा नदिएपछि निवेदन दिन बाध्य भएका हौं,' अमितले भने, 'निवेदन दिएपछि नैतिकताका आधारमा दिनुहुन्छ कि भन्ने हाम्रो आस छ।'
भ्रष्टाचारको आरोप खेप्दै उच्च पदमा बसेका अन्य व्यक्तिलाई पनि राजीनामा दिन अलायन्सले सामाजिक सञ्जालमा आवाज उठाइरहेको उनले बताए।
'भ्रष्टाचारमुक्त समाज बनाउने जेन–जी अलायन्सको मुख्य उद्देश्य हो,' उनले भने, 'यही उद्देश्यअनुरूप अख्तियारका प्रमुख आयुक्त र अन्य आयुक्तहरूलाई प्रत्यक्ष भेटेर राजीनामा दिन आग्रह गर्ने हाम्रो सोच थियो। तर उहाँहरूसँग भेट भएन।'