जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एक कैदी मृत फेला परेका छन्।
त्रियुगा नगरपालिका–८ शाहीखोला राजाबासका ३५ वर्षीय गम्भीर बहादुर दनुवार मंगलबार बिहान आफ्नै घर नजिक झुण्डिएको अवस्थामा भेटिएका हुन्। दनुवार कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका थिए।
सुनसरी जिल्ला अदालतले २०७७ साल फागुन १३ गतेको फैसलामार्फत उनलाई जन्मकैद (२० वर्ष) सजाय तोकेको थियो।
प्रहरीका अनुसार मंगलबार बिहान घरदेखि करिब १०० मिटर टाढा सिसौको रूखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो।
मृतक दनुवार भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला झुम्का कारागारबाट फरार भएका मध्येका एक थिए।
प्रहरीले कानूनी प्रक्रिया पूरा गरी शव आफन्तलाई बुझाइसकेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।