वीरगंज उपमहानगपालिकामा गत बुधबार भएको एक युवकको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
उपमहानगरपालिकाको वडा नम्बर १९ मा बस्ने रामसुरत साह कानुका २५ बर्षीय छोरा शत्रुहन साहको कुटपिट पछि हत्या भएकोे जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ। हत्या गरी फालिएको अवस्थामा शव फेला परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
हत्याको आंशकामा प्रहरीले सोही ठाउँका सञ्जय प्रसाह चौरसिया र काजीप्रसाद चौरसियालाई नियन्त्रणमा लिएको छ। उनीहरुका विषयमा अनुसन्धान भइरहेको र शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा राखिएको प्रहरीले जनाएको छ।
लेनदेनको विषयमा साहको हत्या गरिएको मृतकका अफन्तको आशंका छ। शत्रुहन साहले लिएको १७ हजार रुपैयाँ नदिएको कारण सोही गाउँका संजय प्रसाद चौरसिया, काजी प्रसाद चौरसिया, रामेश्वर प्रसाद चौरसिया र भन्टुराय भरले हत्या गरेको मृतकका भाइ पर्ने परमेश्वर साह कानुको आशंका छ।
बुधबार साँझ संजय प्रसाद चौरसिया र काजी प्रसाद चौरसियाले केही कुरा गर्नु छ भन्दै शत्रुहनलाई घरबाट लगी रक्सी खुवाएर हत्या गरेको मृतकका भाइ साहको आशंका छ।