उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले मधेसवादी दलहरुलाई निर्वाचनमा ल्याउनका लागि संविधान संसोधन आवश्यक रहेको बताएका छन्। प्रेस सेन्टर दाङले शनिवार घोराहीमा आयोजन गरेको पत्रकार सम्मेलनमा माओवादी केन्द्रका नेता समेत रहेका महराले संविधान संसोधन सम्भव भएमा तीनै तहको निर्वाचन गराउन सजिलो हुने बताए।
‘संविधान संविधान सम्भव भएमा मधेसवादी दलहरुलाई स्थानीय तह, प्रदेश र केन्द्रीय तह गरी तीनवटै निर्वाचनमा सहभागी गराउन सहज हुनेछ,’ उपप्रधानमन्त्री महराले थपे, ‘त्यसैले संसोधन गर्न आवश्यक छ।’
सरकारको ध्यान मुख्यगरि चुनावमै केन्द्रित हुने भन्दै उनले स्थानीय तहको निर्वाचन करिब सकिएको र प्रदेश नं २ को निर्वाचनमा असोज २ गते नै हुने बताए। ‘माघ ७ गते सम्म तीन वटै निर्वाचन सम्पन्न गर्नु सरकारको प्राथिमिकता हो,’ महराले भने, ‘सरकारले प्रदेश नं. २ को निवार्चनको मिति तोकिसकेको हुँदा सरकार आफ्नो लक्ष्यमा सफल हुनेछ।’
तर उनले भूकम्प पिडितका लागि पुनः निर्माण, बाढी पीडितलाई राहत वितरण जस्ता कुराहरुलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने बताए। त्यसैगरी उनले प्रदेश नं २ को निर्वाचन पूर्व नै मन्त्री मण्डल विस्तार हुने बताए।
निर्वाचन क्षेत्र २४० कायम राख्ने सहमति भएको छैन
यसैबीच महराले निर्वाचन क्षेत्र दुई सय ४० वटा कायम गर्ने भन्ने सवालमा कांग्रेस माओवादी गठबन्धका बीचमा कुनै सहमति नभएको बताएका छन्। ‘यस विषयमा औपचारीक रुपमा कुनै छलफल भएको छैन, अनौपचारीक रुपमा केही चर्चा चलेको हो,’ महराले भने, ‘म संविधानले तोके अनुसार एक सय ६५ निर्वाचन क्षेत्र हुनुपर्छ भन्ने पक्षमा छु।’
दाङलाईे अस्थायी राजधानी तोक्न सरकार तयार
फरक प्रशंगमा उपप्रधानमन्त्री महराले ५ नं प्रदेशको अस्थायी राजधानी दाङमा तोक्न सरकार सकरात्मक रहेको बताएका छन्। पत्रकार सम्मेलनमा उनले सरकारले हालसम्म दाङलाई अस्थायी रुपमा राजधानी तोक्ने वा नतोक्ने भन्ने सवालमा आधिकारिक निर्णय भने गरि नसकेको बताए ।
‘दाङ प्रादेशिक राजधानी मात्रै नभई केन्द्रिय राजधानी बन्न लायक स्थान हो, उनले अगाडि भने ‘ दाङको विकास अब राष्ट्रिय राजधानी र राष्ट्रिय राजनीतिको मियो बन्ने गरि विकास गरिनुपर्छ।’ महराले प्रदेशको राजधानी निर्वाचित प्रदेश सभाले तोक्ने भए पनि त्यस अबधि सम्मका लागि कार्यसञ्चालन गर्न सरकारले अस्थायी राजधानी तोक्नुपर्ने आवश्यक्ता औंल्याए।
महरा दाङ स्थित राप्ती उपक्षेत्रीय अस्पतालको नयाँ बन्ने भवनको सिलन्यास गर्नका लागि दाङ आएका हुन्।