दश स्थानीय तह रहेको दाङमा नेकपा माओवादी केन्द्रले एउटा गाउँपालिकामा मात्रै जीत हासिल गर्न सक्यो। सदरमुकाम घोराहीबाट उत्तरमा रहेको पहाडी गाउँपालिका बंगालचुली गाउँपालिकामा मात्रै पार्टीका उम्मेदवार विजयी भएका हुन्। त्यहाँ माओवादीका प्यानल नै विजयी भएका हुन् ।
असार १४ गतेको दोस्रो चरणको निर्वाचनमा सो गाउँपालिकाका अध्यक्षमा भक्तबहादुर वली विजयी भएका हुन्। वलीले २०४९ सालयता जुनसुकै पार्टीबाट निर्वाचन लडेता पनि पराजय बेहोर्नु परेको छैन।
वली २०४९ सालमा जनमोर्चा, २०५४ सालमा नेकपा एमाले र पछिल्लो निर्वाचनमा माओवादी केन्द्रको उम्मेदवारको रुपमा निर्वाचित भएका हुन्। उनको लोकप्रियताले गर्दा नै फरकफरक पार्टीबाट चुनाव जित्न सफल भएको स्थानीय बताउँछन्। वलीको मिजास, समाजको सुखदुःखमा देखाउने समर्पण, विकास निर्माणमा खेलेको भूमिका कै कारण उनी प्रिय नेता बन्न सफल भएको उनलाई नजिकवाट चिन्नेहरु बताउँछन्।
वली यसअघि संयुक्त जनमोर्चा र एमालेबाट साबिकको लोहारपानी गाविसको अध्यक्षमा निर्वाचित भएका थिए। स्युजा, काभ्रे, लोहारपानी र हाँसिपुर गाविस जोडेर बंगलाचुली गाउँपालिकाको बनाइएको थियो। वलीले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार भोजराज पाण्डेभन्दा पाँच सयभन्दा बढी मतले विजयी भएका हुन्।
यसअघि दुईपटक गाविसको अध्यक्ष हुँदा आफूले गरेको कामले पछिल्लो जीतको आधार तयार गरेको वलीले प्रतिक्रिया दिएका छन्। भन्छन्, “राजनीति समाजसेवाका लागि गरिनुपर्छ र अर्थआर्जन गर्ने पेशा बनाउनु हुँदैन।’ नेताले पनि पसिना बगाउनुपर्ने उनको धारणा छ।
वलीले स्थायी शिक्षकबाट राजिनामा दिएर राजनीति शुरु गरेका थिए। प्रावि कुदुले लोहारपानीको प्रधानाध्यापकबाट राजिनामा दिएर २०४९ सालको स्थानीय चुनावमा भाग लिएका थिए । संयुक्त जनमोर्चाबाट विजयी उनी कार्यकाल सकेपछि एमालेमा प्रवेश गरेका थिए। तर, २०५४ सालमा एमालेवाट गाविसको अध्यक्षमा निर्वाचित भएको एक वर्षपछि नै उनी माओवादी सिद्धान्तबाट आकर्षित भए। माओवादीले थालेको ‘जनयुद्ध’का सामेल भएपछि विभिन्न मोर्चामा रहेर काम गरेका थिए।