रूकुममा एक निर्वाचित जनप्रतिनिधिको हत्या भएको छ। पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ७ जाङकीको वडा सदस्यमा निर्वाचित दलित महिला सदस्य बयानसरी कामीको हत्या भएको हो।
उनका श्रीमान टेकबहादुर कामीले खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले बताएको छ। वयानसरी कामी गत असार १४ गते भएको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन्।
राप्ती अञ्चल प्रहरी प्रमुख एवम् एसएसपी ज्ञान विक्रम शाहले मदिराले मातेका ३८ वर्षीय श्रीमान टेकबहादुर कामीले घरायसी सामान्य विवादका कारण आफ्नै २७ वर्षीय श्रीमती एवम् नेपाली काँग्रेसवाट निर्वाचित वडा सदस्य वयानसरी कामीको खुकुरी प्रहार गरी हत्या गरेको जानकारी दिए। ‘टेकबहादुर पहिलेदेखि नै अलि सन्काहा खालको भएको भन्ने खुल्न आएको छ,’ एसएसपी शाहले सेतोपाटीसँग भने ‘आइतबार दिउँसो साढे १२ बजेतिर मदिराले मातेको उसले श्रीमतीलाई खुकुरी प्रहार गरि घरमै हत्या गरेको रहेछ।’
बयानसरी कामीको घटनास्थलमै मृत्यु भएको एसएसपी शाहले बताए।
यसैबीच नेपाली कांग्रेस पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ७ जाङका वडा अध्यक्षमा निर्वाचित हेमजंग घर्ती मगरले भने श्रीमती एवं कांग्रेसबाट निर्वाचित सदस्य वयानसरीको हत्या गर्ने टेकबहादुरको मानसिक सन्तुलन ठिक नभएको प्रतिक्रिया दिएका छन्। ‘टेकबहादुरको एक दुई वर्ष पहिले पनि मानसिक सन्तुलन खलबलिएको थियो र पछिल्लो केही समयदेखि उनको मानसिक सन्तुलन ठिक नभएको भन्ने जानकारी स्थानीयले दिएका छन्,’ काँग्रेसका वडा अध्यक्ष हेमजंग घर्ती मगरले फोनमा भने।
टेकबहादुरले श्रीमती वयानसरी निर्वाचनमा होमिएको समयमा पार्टीलाई सहयोग गरेको जानकारी वडा अध्यक्ष घर्ती मगरले दिए। हत्या आरोपी टेकबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक थम्मनवहादुर रजालीले जानकारी दिए।
श्रीमतीको हत्या गर्ने टेकबहादुरलाई जिल्ला प्रहरी कार्यालय झिकाइएको पनि प्रवक्ता रजालीले बताए।