तुलसीपुर उपमहानगरपालिकाको पहिलो बैठकले सुत्केरीलाई पाँच हजार प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ। बैठकले तत्काल नवजात शिशुलाई पोषणयुक्त खाना र मातृशिशु मृत्युदर कम गर्नका लागि प्रोत्साहन स्वरुप उक्त रकम दिने निर्णय गरेको छ।
पदभार ग्रहण गरे लगतै मेयर पाण्डेले साउन १ गतेदेखि लागू हुने गरि पाँच हजार प्रोत्साहन भत्ता दिने निर्णय गरेका हुन्। यो भत्ता सरकारी अस्पतालमा सुत्केरी हुने तुलसीपुर उप-महानगरपालिकाभरिका महिलालाई प्रदान गरिने उनले बताए।
त्यसैगरी नागरिकलाई सहजताका लागि प्रत्येक वडामा एम्वुलेन्स सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले स्थानीयलाई शुलभ दरमा एम्वुलेन्स सेवा प्रदान गर्नुका साथै वृद्ध र अपाङ्गहरुलाई ५० प्रतिशत छुट दिने निर्णय पनि गरेको छ। वैठकले उप-महानगरपालिकाका वडालाई नयाँ संरचना अनुसार सेवाग्राहीलाई पायक पर्ने ठाउँमा सर्वदलीय सहमति अनुसार १५ दिन भित्र समायोजन गर्नुपर्ने निर्णय पनि गरेको छ।
तुलसीपुर उपमहानगरपालिकामा विद्युतीय हाजिरीको सुरूवात गर्नुका साथै उपमहानगरपालिका र वडाहरुलाई अपाङ्गमैत्री, वालमैत्री र जेष्ठ नागरिक मैत्रीहरुको सहजताका लागि भौतिक संरचना निर्माण गर्ने समेत निर्णय गरेको छ ।
मेयर घनश्याम पाण्डेको अध्यक्षतामा बसेको वैठकले निर्वाचन सहज ढंगले सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन अधिकृत, कर्मचारी, सुरक्षाकर्मीका साथै मतदातालाई धन्यवाद ज्ञापन गरेका थिए।