रुकुममा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणवाट नेपाली काँग्रेसका एकजना युवा गम्भीर घाइते भएका छन् । माओवादी केन्द्रको भातृसंगठन वाईसीएलका कार्यकर्ताले आक्रमण गरि काँग्रेसको भातृसंगठन नेपाल तरुण दलका पुथा उत्तर गंगा गाउँपालिकाका संयोजक नविन बुढा घाइते भएका काँग्रेसका रुकुम सभापति प्रेमप्रकाश वलीले बताए।
वलीका अनुसार उनको हाल पोखरा स्थित मनिपाल अस्पतालमा उपचार भइरहेको भएपनि आइतवार नै थप उपचारका लागि काठमान्डौं लैजाने तयारी भइरहेको छ।
असार १४ को निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएकै दिन असार १८ गते राति १२ बजे घरमै सुतिरहेका तरुण संयोजक वुढामाथि वाईसीएलका २०/३० जना व्यक्तिहरुले ज्यानै लिने उद्देश्यले सांघातीक आक्रमण गरेको सभापति वलीले सेतोपाटीलाई बताए।
गृहमन्त्री जनार्दशन शर्माको गृह जिल्लामा समेत जनताले शान्ति सुरक्षाको अनुभूति गर्न नपाउनु बिडम्वना रहेको वलीले गुनासो गरे। आक्रमणकारी सबै माओवादीकै कार्यकर्ता रहेको र उनीहरुलाई यतिबेला गृहमन्त्रीको संरक्षण रहेको वलीको आरोप छ। दोषीलाई संरक्षण गर्नुभन्दा पनि कारवाहीको दायरामा ल्याउनका लागि गृहमन्त्रीले भूमिका निर्वाह गर्नुपर्ने माग गरे।
वलीले भने, “तरुण संयोजक बुढाको गल्ति भनेको काँग्रेसको पक्षमा चुनावी प्रचार गर्नुभन्दा अरु केही देखिँदैन ।”
बुढाको आक्रमणमा संलग्न व्यक्तिहरुको पहिचान भइसकेको भए पनि गृहमन्त्रीको संरक्षणका कारण आक्रमणकारीहरु पक्राउ नपरेको दाबी वलीले गरे। “प्रहरीले खोजी गर्दा फेला नपरेको भन्ने वहाना गर्छ र एकहप्ता भइसक्दा पनि दोषी एकजनालाई पनि हालसम्म पक्राउ परेका छैनन् ।”, वलीको थपे, “यता घाइते बुढाले अस्पतालमा मृत्युसँग पैंठेजोरी खेलिरहेका छन्, तर पनि गृहमन्त्री चुँइक्क बोेलेका छैनन् ।”