तुलसीपुर उपमहानगरपालिकाका नवनिर्वाचित मेयर घनश्याम पाण्डेले ५ वर्षभित्र नगरवासीको आयस्रोत ३ गुणाले बढाउने बताएका छन् । निर्वाचित भएपछि सेतोपाटीसँगको संवादमा उनले स्वरोजगार आयआर्जनका आधारहरु खडा गरेर नगरवासीको आयस्रोत ३ गुणाले वृद्धि गर्ने दाबी गरेका हुन् ।
५ वर्षभित्रमा नगरवासी सबैको घरमा टिन (जस्ता)को छानो हाल्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । ‘कसैले रहरले म खरकै छानो हाल्छु भन्यो भने मात्रै अन्यथा हामी नगरका सबै घरहरुमा फुसका छाना विस्थापित गर्नेछौं’, मेयर पाण्डेले भने । उनले भू–उपयोगको नीति अख्तियार गरेर सुकुम्वासीहरुलाई जमिन वितरण गर्ने योजना समेत रहेको बताए । नेकपा एमालेबाट मेयरमा निर्वाचित पाण्डेले प्रयोगविहिन बनेको दाङको एक मात्रै टरिगाउँ एयरपोर्टमा १ सय दिनभित्रै नियमित विमान सञ्चालन गर्ने बताए । दाङको टरिगाउँ एयरपोर्ट कालोपत्रे भएपनि २०७२ चैत २ गतेदेखि प्लेनले उडान भरेको छैन ।
त्यसैगरी, उनले ‘एक मुख, दश रुख’को अवधारणा अघि सारेर १५ लाख बिरुवा रोपेर तुलसीपुर उपमहानगरपालिकालाई हरियाली बनाउने योजना रहेको बताएका छन् । यसका साथै,उनले नगरमा सडक सञ्जाल विस्तार गर्ने कार्य आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए । उनले स्वास्थ्य चौकीहरुको स्तरवृद्धि गर्ने, अशक्त, अपाङ्ग र निम्नवर्गका बिरामीको उपचारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तुलसीपुरलाई नेपालकै नमूना योग्य शहरका रूपमा विकास गरेर पर्यटकीय केन्द्र बनाउने मेयर पाण्डेले बताए । उनले दाङलाई प्रादेशिक राजधानी बनाउनका लागि आफूले अहम भूमिका निर्वाह गर्ने पनि बताए ।