केही वर्षअगाडिसम्म दुरसञ्चार सेवा भनेको टेलिफोन हो र त्यही सेवाबाट मात्र व्यापार हुन्छ भन्ने मान्यता रहेको थियो। तर, प्रविधिको क्षेत्रमा प्रत्येक दिन हुने परिवर्तनले व्यापारको आयाम नै बदलिदिन थालेको छ।
दुरसञ्चार सेवा दिइरहेका कम्पनीहरुको त्यस्तो परम्परागत व्यापारबाट हुने आम्दानी पनि विस्तारै घटेसँगै त्यसको विकल्प वा थप सेवा विस्तारमा कम्पनीहरु अग्रसर हुन थालेका छन्। ग्राहक सङ्ख्या बढे पनि प्रतिग्राहकबाट हुने आम्दानीको हिस्सा भने कम्पनीहरुले गुमाउँदै गएका छन्।
एकातिर भ्वाइसबाट हुने आम्दानी घट्दै गएको छ भने अर्कोतिर डाटा (मोबाइल इन्टरनेट)बाट हुने आम्दानी भने बढ्दै गएको छ। तर टेलिकम कम्पनीहरु डाटा र कलमात्र बेचेर बस्ने हो भने निकट भविष्यमै टाट पल्टिन सक्ने बिश्लेषण पनि हुने गरेको छ।
यही कुरालाई ध्यानमा राख्दै टेलिकम कम्पनीहरु भ्वाइस, डाटासँगै अन्य सेवा विस्तारमा केन्द्रित हुँदै गएका छन्। ग्राहकहरुको आवश्यकता, इच्छा तथा व्यवहार अनुसारको सेवा विस्तार नै टेलिकमजस्ता कम्पनीहरुको मुख्य ध्येय भएकोले त्यही अनुसारको परिवर्तनमा लागिपरेको बताउँछन्, सरकारी स्वामित्वको कम्पनी नेपाल टेलिकमका निर्देशक तथा सहायक प्रवक्ता शोभन अधिकारी।
आकाशवाणीबाट सुरु भएको सेवा आज मोबाइल र त्यो भन्दा पनि अगाडि बढेर डाटा सेवामा आकर्षण बढिरहेको र त्यही अनुसार कम्पनीहरुले सेवा प्रवाहलाई केन्द्रविन्दुमा राखेको उनीहरुको भनाइ छ।
टेलिकम कम्पनीहरुका ग्राहकको सङ्ख्या प्रत्येक वर्ष बढिरहेको छ तर तिनिहरुले प्राप्त गर्ने आम्दानी भने त्यही अनुपातमा बढेको छ्रैन। नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार कम्पनीहरुको आयको स्रोत डाटामा बढिरहेको छ भने भ्वाइसबाट घटिरहेको छ।
प्रतिग्राहक खर्च तथा त्यसबाट हुने कम्पनीहरुको आम्दानी घट्दै गएको छ। दुरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०६८/०६९ मा गरेको एक सर्वेक्षण अनुसार कम्पनीहरुले प्रति ग्राहक मासिक नेपाल टेलिकमले ७ सय ६७ र एनसेलले ७ सय ६४ रुपैयाँ आम्दानी गरिरहेको थियो।
९७ प्रतिशत बजार हिस्सा भएका यी कम्पनीहरुको प्रति ग्राहक आम्दानी २०७२÷०७३ मा आउँदा टेलिकमको १ सय ९३ र एनसेलको ३३५ रुपैयाँमा सीमित भएको छ।
तर, ग्राहक संख्यामा भने सोही अवधिमा धेरै बृद्धि भएको छ। ०६८÷६९ मा टेलिकमका ७७ लाख ५६ हजार र एनसेलका ३ लाख ३ हजार ग्राहक थिए। ०७२/७३ मा आउँदा टेलिकमका ग्राहक १ करोड ५० लाख पुगेका छन् भने एनसेलका १ करोड ४१ लाख।
ग्राहक बढ्दै जाँदा आम्दानीमा स्वभाविक बृद्धि भएपनि प्रतिग्राहक आम्दानी घट्दै सेवा प्रदायकहरुले सेवामा पनि विविधिकरण गर्दै गएका छन्।
अबको बजार भ्वाइसभन्दा पनि डाटा भएकोले डाटा केन्द्रित सेवाहरु विकास गरिरहेको टेलिकमका सहप्रवक्ता अधिकारीले जानकारी दिए।
‘भोलिको बजार डाटाकै हो, हामीले धेरै पहिलेदेखि यसमा केन्द्रित भएर सेवा प्रवाह गरिरहेका छौं’, उनले भने, ‘अगामी दिनमा डाटामा आधारित भ्वाइस हाम्रो प्राथमिकता हो।’
डेटामा उपभोक्ताको आकर्षणमात्र होइन खर्च पनि बढ्दै गएको छ। त्यसैले त टेलिकमहरुको प्रतिउपभोक्ता आम्दानी डेटाबाट बढिरहेको छ। ०७१/७२ मा टेलिकमका प्रतिग्राहकले मासिक औसत २५ रुपैयाँ खर्च गरेका थिए भने एनसेलका ग्राहकले २८। तर ७२÷७३ मा सो बढेर टेलिकमका ग्राहकहले २६ र एसनेलका ४७ पुगेको छ।
भ्वाइसको व्यापार विश्वव्यापी रुपमा नै घटिरहेको छ। र, भाइबर, म्यासेन्जर तथा अन्य सामाजिक सञ्जालबाट सम्पर्क गर्ने चलन बढिरहेको छ । फलस्वरुप, कम्पनीको डाटा खपत बढीरहेको छ।
हालैमात्र फ्रान्सको ओरेन्ज टेलिकमले एउटा वाणिज्य बैंकको ६५ प्रतिशत स्वामित्व लिएर ओरेन्ज मोबाइल बैंकिङ सेवा नै सुरु गरेको छ। विश्वव्यापीरुपमा टेलिकम कम्पनीहरुले विभिन्न सेवामा हात हालिरहेका छन्। कतिपयले मोबाइल सपिङ, मोबाइल मनी, आइपी टिभी, भिडियो अन डिमान्ड जस्ता थप सेवाहरु प्रवाह गरिरहेका छन्।
तर, नेपालमा भने कानूनी व्यवस्था पनि नभएको र ग्राहहरुको इच्छा पनि तत्काल भ्वाइस र डाटामै केन्द्रित भएकोले कम्पनीहरुले विकल्प सोच्न नसकेको सरोकारवालाहरुको भनाइ छ।
टेलिकम कम्पनीहरुको आम्दानीको मुख्य स्रोत भ्वाइसबाट डाटामा सिफ्ट हुने क्रममा रहेकोले योजना ल्याउँदाखेरी पनि डाटालाई नै केन्द्रित गरिरहेको बताउँछन्, एनसेलका कर्पोरेट सञ्चार विज्ञ मिलनमणि शर्मा।
‘ग्राहकहरुको इच्छा र आवश्यकतालाई मध्यनजर गर्दै पछिल्लो समय हामीले भ्वाइससँगै डाटा केन्द्रित योजना ल्याइरहेका छौं’, उनले भने, ‘टेलिकमको व्यापार प्रयोगकर्ताको आवश्यकतामा भर पर्ने भएकाले त्यही अनुसार सेवा प्रवाह हुन्छ।’
एनसेलले केही समय अगाडिदेखि भ्वाइसभन्दा पनि डाटा सेवालाई बढी प्राथमिकता दिँदै आइरहेको छ।
पछिल्लो समय मोबाइल ब्रोडब्यान्डको कभरेज बढ्दै गएपछि उपभोक्ताहरु कलमात्र भन्दा पनि बढीभन्दा बढी इन्गेज हुने सञ्चारमा खोजीमा रहेका छन्। स्मार्ट फोन, द्रुत गतिको कनेक्सनले उपभोक्तामा त्यस्तो आकांक्षा आए पनि लोकल कन्टेन्ट नहुँदा सम्बोधन हुननसकेको अधिकारीहरुको भनाइ छ।
भ्वाइसबाट डाटामा सिफ्ट हुँदै गर्दा युटिलिटी जति अरुको हातमा हुँदा डाटामात्र बेचेर टेलिकमहरुको पुरानो व्यापारिक साम्राज्य कतै लुटिने त होइन? प्रश्न र आशंका उत्तिकै उठिरहेको छ।
तर, सरकारी स्वामित्वको नेपाल टेलिकम भने ‘भ्याल्यू एडेड’ सेवाको विकासतर्फ अग्रसर भएको र त्यसको लागि हाल पूर्वाधार निर्माणतिर केन्द्रित भएको छ। हाल खासै नरुचाइएको ‘फिक्स्ड लाइन’लाई अझै परिष्कृत गर्दै नयाँ सेवा सुविधा थप गर्ने योजनामा टेलिकम रहेको छ।
भिडियो, गेमिङ, मोबाइल फाइनान्सिङ तथा इन्टरनेट टिभीजस्ता सेवाको लागि हाल टेलिकमले पूर्वाधार निर्माण गरिरहेको सहायक प्रवक्ता शोभन अधिकारीले जानकारी दिए। तर, हाल नीतिगत स्पष्टता नभएकोले ठोस प्रगति भने नदेखिने उनको भनाइ छ।
नेपाल दूरसंचार प्राधिकरणका अनुसार टेलिफोनको पहुँच १३० प्रतिशतसम्म पुगेको छ भने इन्टरनेट ४८ प्रतिशत जनतामा।