दोस्रो संविधानसभाको चुनावमा दाङका पाँचै क्षेत्रमा कांग्रेसले आफ्नो किल्ला जमाएको थियो।
स्थानीय निर्वाचनमा भने २० वर्ष अघिकै नतिजा दोहोरिने सम्भावना बढेर गएको छ।
नेकपा एमालेले ०५४ सालको स्थानीय निकाय निर्वाचनमा घोराही र तुलसीपुर दुवै जितेको थियो।
दाङ जिल्लाको केन्द्र मानिने यी दुवै उपमहानगरमा यसपालि पनि एमालेको हातमा पुग्ने देखिन्छ।
घोराही उपमहानगरमा ५८ हजार ५ सय ३९ मत खसेको थियो। त्यसमध्ये सोमबार दिउँसो १ बजेसम्म ५२ हजार ९ सय ८१मत गनेर सकिएको छ।
नेकपा एमालेका मेयर पदका उम्मेदवार नरूलाल चौधरीले कांग्रेस उम्मेदवार भुपबहादुर डाँगीसँगको मतान्तर बढाएर ५ हजार पुराइसकेका छन्।
घोराहीको मेयरमा एमालेका चौधरीलाई २० हजार २ सय ६७ मत आउँदा १५ हजार ९ सय ४१ मात्रै प्राप्त भएको छ।
घोराही का १९ मध्ये १७ मा मतगणा सकिएको छ, अब १२ र १३ नम्बर वडाको मात्र अन्तिम मत गणना आउन बाँकी रहेको दाङका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले सेतोपाटीलाई जानकारी दिए।
उनका अनुसार साँझ ५ बजेसम्म मतगणना सकिनेछ। अब गणना गर्न बाँकी ६ हजार मत मात्रै छन्।
घोराहीमा हालसम्म १ हजार ४४ मतमात्र बदर भएको पनि मुख्य निर्वाचन अधिकृत खड्काले जानकारी दिए।
त्यसैगरी उपमेयरमा एमालेकी सीता न्यौपानलेले कांग्रेसकी उपमेयरकी उम्मेदवार पुष्पा श्रेष्ठ सँगको मतान्तर २ हजार ८ सय ८९ पुर्याएकी छन्। उपमेयरमा एमालेकी न्यौपानलेलाई १८ हजार ५ सय ५१ र कांग्रेसकी श्रेष्ठलाई हालसम्म १५ हजार ६ सय ६२ मत प्राप्त भएको छ।
माओवादी केन्द्रलाई हालसम्म १० हजार ८ सय ६ र उपमेयरमा ११ हजार २ सय ४० मत मात्रै प्राप्त भएको छ। पराजित हुने निश्चित भएपछि माओवादीका मेयरका उम्मेदवार जीवन गौतमले सामाजिक सञ्जालमा स्टाटस लेखेर मतदातालाई आभार व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘निरन्तर जनसेवामा लागि रहने प्रतिवद्धता व्यक्त गर्दै मतदातालाई हार्दिक आभार व्यक्त गर्दछु।’
तुलसीपुरमा पनि एमालेकै अग्रतातुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयर दुबैमा नेकपा एमालेको अग्रता कायमै छ। यहाँ पनि एमालेले काँग्रेससँगको मतान्तर बढाउँदै लगेको देखिएको छ।
७६ हजार ८ सय ९३ मतदाता मध्ये ५७ हजार ३ सय ६७ मत खसेको निर्वाचन आयोगले जनाएको थियो।
सोमवार विहान ११ बजेसम्म यहाँ २४ हजार ७ सय ७६ मत गणना भइसकेको छ। हालसम्म ७ वटा वडाको परिणाम सार्वजनकि भए पनि अझैं यहाँ १२ वटा वडाहरु गणना हुन बाँकी छ। अहिले सम्मको स्थितिमा नेकपा एमालेका मेयरका उम्मेदवार घनश्याम पाण्डेले काँग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरीलाई २ हजार ६ सय ७५ मतले पछाडि छोडेका छन्। पाण्डेले १० हजार ६ सय २५ मत प्राप्त गर्दा काँग्रेसका गिरीले ७ हजार ९ सय ५० मत प्राप्त गरेको तुलसीपुरका सहायक निर्वाचन अधिकृत ललितबहादुर घर्तीले जानकारी दिए।
लगभग आधा मत गणना हुन बाँकी छँदा उपमेयरमा भने काँग्रेसले मतान्तर घटाउँदै लगेको छ। तुलसीपुरमा उपमेयरकी एमाले उम्मेदवार माया आचार्यले काँग्रेसकी उपमेर उम्मेदवार देवीका नेपाली भन्दा जम्मा ३ सय ६३ मतले मात्रै अगाडि देखिएकी छन्। आचार्यलाई ९हजार २ सय ५४ मत प्राप्त हुँदा काँग्रेसकी नेपालीलाई ८ हजार ८ सय ९१ मत प्राप्त भएको तुलसीपुरका सहायक निर्वाचन अधिकृत ललितबहादुर घर्तीले जानकारी दिए। तुलसीपुरमा पनि एमाले र काँग्रेस भन्दा माओवादी केन्द्र निकै पछि देखिएको छ। यहाँ माओवादीका मेयरका उम्मेदवार शेसुराम भण्डारीलाई ३ हजार ४ र उपमेयरकी उम्मेदवार सीता वलीलाई ३ हजार १ सय ११मत मात्रै प्राप्त भएको सहायक निर्वाचन अधिकृत घर्तीले बताए।