‘चिकित्सकको लापरबाही’कै कारण पत्नी गुमाएका चर्चित गितारवादक मनोज केसीले चित्तबुझ्दो जवाफ नपाए कानुनी उपचार खोज्ने
पुरूष निषेधित त्यो कक्षको ढोकामा उनी एक्लै कुरिरहेका थिए। त्यतिबेलै भित्र श्रीमतिलाई सुत्केरी ब्यथा सुरुभएको संकेत पाए। पहिलो सन्तान आउनै लागेको खुसी थाम्न नसकेर उनले केवल एकजना साथीलाई यो जानकारी एसएमएस गरे। प्रतिउत्तरमा असंख्य बधाइका सन्देशहरु मोबाइलमा बल्न र निभ्न थालेको थियो।
लोकप्रिय ‘१९७४ एडी’का गितारवादक मनोज केसीको चकाचौंध उज्यालोलाई सुनसान अन्धकारमा परिणत हुन त्यसपछि केहि बेर लागेन। सुत्केरी हुन सामान्य अवस्थामा भर्ना भएकी उनकी जीवनसाथीको अकल्पनीय निधन भइदियो। मायालाई परेलीमा लुकाएर राख्नुपर्छ भन्दै हिँड्ने मनोजचाहिँ यतिबेला त्यही ठाउँमा उत्पातलाई छोपेर बाँचिरहेका छन्।
मनोजको ब्यथा हाम्रो बास्तविकताको कुरूप अनुहार देखाउने ऐना पनि बनेको छ। ‘मातृशिशु स्वास्थ्यका क्षेत्रमा विश्वमै ठूलो फड्को मारिरहेको’ भनेर बहुप्रचारित नेपालमा राजधानीकै सबै हिसाबले सचेत र सक्षम सामान्य अवस्थाकी आमा पनि असाध्यै निरिह तरिकाले मृत्यु अँगाल्न बाध्य भएकी छिन्।
***
‘तिमीलाई पिरतीले बाधुँला, तिमीसँग मायाहरु साटुँला...’
यस्ता बाचाहरु गरिसकेपछि टोलीका कान्छा र रहरलाग्दा मनोजलाई स्टेजमा रहँदा र ओर्लँदा झुम्मिने फ्यानहरूको कुनै कमी हुन्थेन। तर, उनको लगनगाँठो कतै अन्तै जोडिएको थियो। कोहि यस्तो युवतीसँग जसले उनलाई राम्ररी चिनेकी पनि थिइनन्।
पाँच वर्षअघि जापानी सहयोग नियोग ‘जाइका’ले नेपालमा आफ्नो उपस्थितिको चालिसौं वर्ष मनाइरहेको थियो। स्वयंसेवीहरुले त्यो उत्सवलाई विभिन्न किसिमका साँगीतिक रेकर्डिङहरुले पनि सिँगारिरहेका थिए। र, त्यो कामको संयोजन गर्दैथिए, काठमाडौं ज्याज कन्जरभेटरीमा समेत सक्रिय मनोज।
‘गीत रेकर्डिङ चलिरहेकै बेला एकपटक म जाइका पुगेको थिएँ,’ उनी सम्झन्छन्, ‘त्यतिबेलै हाम्रो पहिलो भेट भएको थियो।’
त्यो बेला मिटिङ हलबाट मनोज बाहिर निस्केका मात्र के थिए हातमा कफीको कप बोकेकी एउटी युवती ठीक अगाडिबाट गुज्रिइन्। दुवैका आँखा जुधे।
‘अगाडिको मान्छेले सकारात्मक संकेत दिएपछि मुसुक्क हाँस्ने र मुस्कानले पनि अझ अगाडि बढ्ने डिमान्ड गरेपछि हाइ हेलो हुन्छ नि,’ उनी भनिरहेका थिए, ‘त्योबेला ठीक त्यही भएको थियो।’
झुलुक्क भएको त्यो पहिलो भेट जति सामान्य थियो भित्रभित्रै त्यत्तिकै शक्तिशाली पनि भइदियो।
रेकर्डिङबाट सुरूभएको जाइका धाउने काम मनोजका निम्ति पारिश्रमिक लिनेसम्म गरेर लामो समय चल्नेवाला थियो।
‘जापानीहरूको कार्यालयमा उमेर मिल्दो नेपाली युवती देखेपछि कुराकानी गर्न सजिलो हुने नै भयो,’ उनले भने, ‘काम सम्पन्न हुन केहि बेर कुर्नुपर्यो कि म उनलाई खोज्थेँ र कुराकानी गर्थेँ।’
प्रेरणा बिसेत। जीवनलाई आफ्नै मर्जीबाट बाँच्न चाहने। पूनाबाट समाजशास्त्रमा स्नातकोत्तर।
मनोजसँगै रेकर्डिङमा कामगर्ने एकजना जापानी स्वयंसेविका थिइन्, जसको सहयोगबाट हरेक पटक त्यो अफिस पुगेको बेला दुवैको भेट सहजै हुन्थ्यो। एकदिन तिनै स्वयंसेविकाले प्रेरणाको टेबल नजिकै पुगेर सबैले सुन्नेगरि ‘प्रेरणा सान्, तपाइँको ब्वाइफ्रेण्ड आउनुभएको छ’ भनिदिइछन्। चारैतिर हाँसो गुञ्जियो। प्रेरणा लाजले रातो भइन्।
‘त्यो क्षण उनको निम्ति असाध्यै गाह्रो थियो रे,’ मनोज सम्झन्छन्, ‘पछिसम्म पनि त्यतिबेला आफूलाई लागेको अप्ठेरो सुनाउँथिन्।’
तत्काल जतिसुकै अप्ठेरो भए पनि उनीहरुलाई साथी मात्र नरहेर अझ नजिक हुन यस्ता घटनाहरुले झनै सघाउँदै लग्यो।
‘दुई वर्ष हामीले एक अर्कालाई चिन्दै गयौं–रमाउँदै गयौं,’ उनी भन्छन्, ‘त्यसपछि विहेको निधोमा पुग्यौं।’
एकातिर नेवार व्यापारीकी छोरी अर्कोतिर राजधानीमा साढे दुई सय वर्षदेखि बस्दै आएको केसी खलकको छोरा। दुवैको राजीखुसीका अघिल्तिर परिवार तयार भइदिए। २०६९ असार १५ गते दुवै लगनगाँठोमा बाँधिए।
‘मलाई प्रायः युवतीहरू संगीतका कारण चिन्थे,’ उनी भन्छन्, ‘तर, विहे यस्तो मान्छेसँग भएको थियो जो मेरो संगीतबारे जानकारी नराखिकनै पनि मनपराउँथिइन्।’
विहे गरेर आएपछि प्रेरणा पनि मनोजकै रंगमा रंगिइन्।
‘उनी म्यूजिकको राम्रो श्रोता थिइन्,’ मनोज भन्छन्, ‘मैले बजाउनेमध्ये सम्वोधन, परेली, पहिलो जुनीमा, छुँदैन, हिँड्दा हिँड्दै उनलाई मन पर्थे।’
उनी कन्सर्टहरुमा जान्थिन् र मनोजका गतिविधिलाई नियाल्थिन्।
–‘फलानो ठाउँमा किन हल्लिएको?’
–‘गितार बजाउँदा ओँठ किन टिमिक्क पार्छौ?’
–‘यसो किन गरेको? उसो किन गरेको?...’
विहेपछि मनोजले पनि आफूलाई परिवर्तन गर्दै लगेका थिए।
‘मैले राति आयोजना हुने साथीभाईका भेटघाट र पार्टीहरू बन्द गरेको थिएँ,’ उनी भन्छन्, ‘विमानमा उड्दा पहिले कुनै वास्ता नगर्ने मान्छे अब भने हल्का हल्लियो भने पनि तर्सिन थालेको थिएँ।’
आफूप्रति प्रेरणाको चाँसोले अहिले पनि झस्काउने गरेको मनोज सुनाउँछन्। उनका अनुसार खासगरि ब्याण्डलाई अप्ठेरो परेको बेला जब मनोज विचलित बन्थे, प्रेरणा त्यो सम्पूर्ण क्षणको प्रत्यक्षदर्शी बन्ने मात्र होइन लागेको कुरा विभिन्न किसिमले सार्वजनिक पनि गर्थिन्।
‘प्रेरणा भेट्नुअघि मैले विहे गर्नुपर्छ, ज्वाइँ बन्नुपर्छ भनेर सोचेको पनि थिइनँ, म त्यो वर्गको मान्छे नै थिइनँ,’ मनोज भन्छन्, ‘विहे गरिसकेपछि पनि हामीले जीवनका जे जति क्षण बाँच्यौं, साथी भएरै बाँच्यौं।’
***
विहे गरिसकेपछि बच्चा पाउने मनोज र प्रेरणा दुवैको प्राथमिकतामा थिएन। आफ्नै घर बनाइसकेपछि यस विषयमा सोच्ने निधो गरेका थिए। तर, विहेको दुई वर्ष नाघेपछि आफन्त र नातागोताबाट एक किसिमको चाँसो र दबाब आउन थाल्यो। उनीहरुले अडान त्यागे।
‘गएको दसैंमा उनी गर्भवती भएको थाहा भयो,’ मनोजले भने, ‘घर नजिकैको डाक्टर भएकाले सबैको सल्लाह बमोजिम प्रसूति विशेषज्ञ अल्का सिंहलाई भेट्न गयौं।’
अल्का उनीहरुको बसोबास नजिकै पर्ने पुल्चोकस्थित सुमेरू अस्पताल र उनीहरुले बच्चा जन्माउने निधो गरेको पाटन अस्पताल दुवैतिर काम गर्थिन्।
‘भारी जिउ भएदेखि डाक्टरको नियमित परीक्षण र दिएका सुझावहरुलाई पुरै पालना गरेका थियौं,’ मनोज भन्छन्, ‘प्रेरणामा कुनै समस्या नदेखिएको र उल्टो उज्यालो देखिँदै गएकामा डाक्टर पनि उत्साहित थिए।’
यसैबीच भुइँचालो आएपछि भने दुवैजना अलिक डराए। यस्तो बेलामा सकभर अपरेशन गरेरै भए पनि बच्चा जन्माइहाल्ने इच्छा प्रेरणाको थियो। तर, डाक्टरले मानिनन्।
‘गर्भवतीमा कतैबाट कुनै किसिमको समस्या नै देखिएको थिएन,’ सेतोपाटीसँगको कुराकानीमा डा.अल्काले भनिन्, ‘यस्तोमा हामीले सबैलाई सकभर प्राकृतिक हिसाबले नै बच्चा जन्माउन लगाउने हो। मैले पनि त्यहि गरेकी थिएँ।’ यसरी बच्चा जन्माउँदा छिटो ‘रिकोभरी’ हुने सुझाव पनि उनको थियो।
जेठ २४ गते भने अचानक पेटमा बच्चा चलमलाउन छाडेको जानकारी प्रेरणाले मनोजलाई दिइन्। उनीहरु दुवैजना सुमेरु अस्पताल पुगे। डा. अल्काले अब प्रसूतिको बेला भएको बताउँदै पाटन अस्पताल भर्ना गर्ने सुझाव दिइन्। तैपनि, जानुअघि एकपटक अल्ट्रासाउण्ड गर्न लगाइन्।
अल्ट्रासाउण्डले दिएको रिपोर्टमा एउटा नयाँ कुरा देखिएको थियो। बच्चालाई सालले बेरेको छ। तर त्यसलाई ‘थोरै मात्र’ लेखियो र ‘खासै फरक पर्दैन’ भनेर निश्कर्ष निकालियो।
मनोजलाई मनमा चिसो लाग्यो र फेरि एकपटक डाक्टर अल्कालाई अपरेशनको अनुरोध गरे। डाक्टर मानिनन्।
पाटन अस्पताल भर्ना गरियो। अर्को दिन राउण्डमा आएको डाक्टरलाई फेरि मनोज र प्रेरणाले अपरेशनको अनुरोध गरे। तर, उहि जवाफ पाइयो, ‘पर्दैन’। बेलुकी ४ बजे उनलाई सुत्केरी बेथा गराउने औषधि दिइयो। तर, त्यसको प्रभाव राति दस बजेसम्म पनि नपरेपछि फेरि बेथा गराउने औषधिको अर्को डोज दिइयो। त्यसले भने १२ बजे रातिबाट दुखाइ सुरूभयो।
पछिल्लोपटक दिइएको औषधिको मात्रा कति थियो र यसले कस्तो हानी गर्न सक्छ भन्ने उनीहरुलाई केहि थाहा थिएन।
त्यसले ‘लेबर पेन’ भने गरायो र बिहान ५ बजे ‘लेबर रूम’तर्फ लगियो। त्यतिन्जेल काठमाडौं धमाधम जाग्न सुरुभइसकेको थियो। बाबु बन्नै लागेको खुसीमा एकजना साथीलाई पठाएको एसएमएसकै भरमा ढोकामा कुर्दैगरेका मनोजको मोबाइलमा असंख्य बधाईका सन्देसहरू ओइरिहेका थिए। त्यो हेर्दाहेर्दै एउटा भर्खर जन्मेको बच्चालाई उनको छेवैबाट मेशिनको मद्दतले स्वास फेराउँदै बाहिर निकालियो।
‘कालो कपाल भएको त्यो बच्चा कसको हो थाहा थिएन,’ मनोज भन्छन्, ‘तर, देख्नेबित्तिकै मलाई एककिसिमको एट्याचमेन्ट जस्तो भयो।’
उनले केहि संकेत मिल्छ कि भनेर यसो चिहाउँदै भित्र हेरे। उभिइरहेकी सासु र बहिनीलाई मात्र देखे। मनोजको छेउछाउमा उभिएका मान्छेहरु भने गाइँगुइँ गर्दै त्यो बच्चाको घाँटीमा साल बेरिएकोले निस्कने बेलामा अड्किएर सासै फेर्न नसकेको चर्चा गरिरहेका थिए। यसरी निकालेको बच्चालाई नर्सहरुले धमाधम भेन्टिलेटरतिर लगे। मनोज भने पर्खेरै बसिरहे।
करिब साढे आठ बजेतिर उनले नचिताएको खबर पो आयो।
असाध्यै रक्तश्राव भएकाले प्रेरणाको पाठेघरै निकालेर फाल्नुपर्ने भयो। त्यहीँ भित्र रहेकी डा. अल्काले प्रेरणाको जीवन बचाउनकै निम्ति आपतकालीन अपरेशन गर्नुपर्छ भनेर जानकारी दिइन्। यतिन्जेल अघिको बच्चा आफ्नै रहेको थाहा पाइसकेका मनोजले के गर्ने के नगर्ने भेउ नै पाएनन्। यता चिकित्सकहरु प्रेरणाको पाठेघर अपरेशनका निम्ति फारममा सही गरिदिन दबाब दिइरहेका थिए।
‘नगरौं आमाको ज्यान जोखिममा पर्छ भन्छन्,’ मनोज दोधारमा परे, ‘गरौँ त जन्मेको बच्चा पनि बाँच्ने टुंगो छैन। यस्तोमा प्रेरणा सदैव आमा बन्न नसक्ने कागजमा हस्ताक्षर गरेँ भने पछि उनलाई यो सबै कुरा कसरी सम्झाउने?’
उनले अपरेशन थिएटरमा गएर प्रेरणालाई चिहाए। उनी चित परेर सुतेकी थिइन्। अनुहारमा अक्सिजनको मास्क थियो।
‘मलाई जसरी पनि प्रेरणा चाहिन्छ भन्ने मनमा आयो,’ उनी भन्छन्, ‘त्यसपछि त्यो अपरेशन गर्ने कागजमा हस्ताक्षर गरिदिएँ।’
भित्र अपरेशन सुरू भयो, बाहिर धमाधम रक्तदान र ओसारपसार।
तर, एकै छिनमा प्रेरणाको हृदयगति नै थामिएको अर्को अप्रत्याशित खबर आयो। मनोजले चारैतिर अँध्यारो देख्न थाले।
‘त्यतिबेलै फेरि अर्को डाक्टर आएर कोशिश जारीरहेको सुनाए,’ उनी भन्छन्, ‘प्यासले छटपटाइरहेको मान्छेको मुखमा एक थोपा पानी परेजस्तो भयो।’
घरि यो र घरि उ सुन्दा सुन्दै एकै छिनपछि एकजना आएर उनलाई अपरेशन थिएटरमा लगे।
मनोजको निम्ति आकाश खस्यो। पाताल भासियो।
‘त्यहाँ प्रेरणाको शरीर त थियो,’ उनी भन्छन्, ‘तर, उनी थिइनन्।’
उनी डाँको छाडेर रून थाले। के के भयो– कसो कसो भयो केहि याद छैन। शव राखेको ट्रली जता जता लगे, उनी रूँदै त्यतै त्यतै पुगे।
उता अर्कोतिर भने उनका आफन्त, नातागोता, इष्टमित्रहरूको ठूलै भीँड लागेर तनाव सुरूभइसकेको थियो। भीडमा जवाफ माग्ने चिकित्सकदेखि वकिलसम्म थिए।
अस्पतालको तल कतैतिर प्रेरणाको शव थियो र छेवैमा थिए डाँको छाडेर एक्लै रोइरहेका मनोज। त्यतिबेलै कोहि उनको नजिकै आए र ‘बाबु त्यहाँ माथि भनाभन चलिरहेको छ। सम्झाइदिनु पर्यो’ भने।
पहिले त मनोजले को हो र के भनिरहेको छ केहि पनि बुझेनन्।
पोष्टमार्टम गरेर भए पनि टुंगो लगाउने भन्ने कुरा सुनेपछि मनोजलाई पटक्कै मनपरेन र उनी सरासर माथि उक्ले। विवाद भइरहेको स्थानमा हस्तक्षेप गर्दै यसलाई अब यहीँ अन्त्य गर्न लगाए।
‘आवेशमा मबाट भएको एउटा ठूलो गल्ती थियो त्यो,’ उनी भन्छन्, ‘छानविनसहित टुंगोमा पुग्न नदिँदा र अहिले सोधेको प्रश्नको जवाफ पनि नपाउँदा मलाई त्योबेला चलिरहेको विवाद रोकिदिएकोमा पश्चाताप भइरहेको छ।’
मनोजले नै विवादको अन्त्य गरिदिएपछि उनीहरु सबैजना पशुपति पुगे।
‘शरीरमा प्राण नभए पनि अनुहार एकदमै उज्यालो देखिँदै थियो,’ उनी सम्झन्छन्, ‘यति राम्रो शरीरमा आगो कसरी लगाउने भनेर छटपटी चल्न थाल्यो।’
यता माया गर्ने श्रीमतीको शरीर भष्म हुँदैछ उता भर्खर जन्मेको छोरा जीवन मरणको संघर्ष गर्दैछ। नियतिले ठगेका मनोज कतिसम्म निरिह भए भने आर्यघाटबाट निस्केर उनलाई अस्पतालमा छोराको कुरुवा बस्न जानु थियो। उनले त्यसै गरे।
***
बितेको २५ दिन मनोजका निम्ति हरेक क्षण भुइँचालो बोकेर आयो। आफन्तदेखि लिएर चिकित्सकसम्मले विभिन्न कुरा सुनाइरहेका छन्। प्रेरणाको निधनमा डाक्टरको लापरवाहीका एकपछि अर्को तर्कहरु आइरहेको छ। तर, त्यसको जवाफ कसले दिने?
१. प्रसव पीडा गराउने औषधि (इन्डक्सन)को मात्रा असाध्यै बढी हुने हो भने त्यसले प्रसवपछि अत्याधिक रक्तश्राव गराउन सक्छ। दोश्रोपटक औषधि दिँदा असाध्यै बढी मात्रा त थिएन?
२. सालले बेरिएर बच्चा सहजै ननिस्किरहेको बेलामा हतारमा चिर्दै गर्दा कुनै महत्वपूर्ण नशा त काटिएन? त्यसमाथिबाट जबर्जस्ती टाँका लगाउन खोज्दा दुर्भाग्य थपिँदै गयो र निधनसम्म हुनपुग्यो कि?
३. पाटन अस्पतालमै राउण्डमा आएकी एक वरिष्ठ चिकित्सकले प्रेरणालाई ‘सर्ट इण्डक्सन’ दिने र त्यसबाट प्रसव वेदना भएन भने अपरेशनै गराउनु उपयुक्त हुने (दोश्रोपटक औषधि नदिने) सुझाव दिएकी थिइन् भन्ने हल्ला ति चिकित्सककै पारिवारिक श्रोतबाट आइरहेको छ। यो सत्य हो वा होइन?
मनोजले यसको उत्तर नपाएर छटपटिरहेकै बेला सेतोपाटीले सुमेरू अस्पताल पुगेर डाक्टर अल्कासँग यसको कारण सोध्ने कोशिश गर्यो।
‘अत्यधिक रक्तश्राव भइरहेको अवस्थामा टाँका लगाउन खोज्दाखोज्दै रक्तचाप असाध्यै तल झरेको थियो,’ उनी भन्छिन्, ‘रक्तश्राव नरोकिएर भयावहता भइरहेको कारण पाठेघर निकाल्ने निधोमा पुग्यौं।’
यसरी पाठेघर निकाल्दा निकाल्दै हल्का सुधार त भएको थियो। तर अचानक फेरि नसोचेको अवस्था आइपुगेको उनी बताउँछिन्। डा. अल्काका अनुसार ‘एम्नियोटिक फ्लुइड इम्बोलिजम’ (पाठेघरमा रहेको बच्चाको कुनै अवयव आमाको रक्तसञ्चार प्रणालीमा प्रवेश गर्नु) ले यसमा महत्वपूर्ण भूमिका खेलेको थियो।
‘हामीले सकेको सबै प्रयास गर्दागर्दै पनि आमालाई बचाउन सकेनौं,’ उनले भनिन्, ‘उनी गर्भवती भएदेखि मैले हेर्दैआएको सुत्केरीको यसरी निधन भएकोमा म आफैँ पनि असाध्यै दुःखी छु।’
तेह्र बर्षदेखि अभ्यास गर्दै आएकी डाक्टर अल्काले अहिलेसम्म आफूले जाँचेका दुई–तीनजना आमाको निधन भए पनि यस प्रकारको यो पहिलो घटना रहेको उल्लेख गरिन्।
त्यति ठूलो रक्तश्राव हुने जटिल अवस्था किन आयो? भनेर सोध्दा यसबारे विस्तारमा जवाफ लिनका निम्ति पाटन अस्पताल नै आउनु पर्ने उनले बताइन्।
अस्पतालकै राउण्डमा आउने अर्को कुनै डाक्टरले शल्यक्रिया गर्ने सुझाव दिएकी थिइन् कि? भन्ने प्रश्नमा भने आफूलाई यसबारे कुनै जानकारी नरहेको डा. अल्काले बताइन्।
***
मातृशिशू सुरक्षाका क्षेत्रमा मुलुकले सकारात्मक फड्को मारिरहेको स्वास्थ्य महाशाखा, मातृस्वास्थ्य प्रमुख डा. शिलु अर्याल पनि दावी गर्छिन्। उनका अनुसार दुर्गम भेगका सुत्केरीलाई स्वास्थ्यकेन्द्रसम्म ल्याउनका निम्ति सरकारले थुप्रै कार्यक्रमहरु चलाइरहेको छ।
‘तर, राजधानीमै पहुँचभएका सचेत आमाहरुको सुरक्षाका निम्ति सरकारले खासै सोचेको छैन,’ उनी भन्छिन्, ‘तर, यस्तो प्रवृति असाध्यै बढेर गएमा त्यसमा केन्द्रित भएरै कार्यक्रम ल्याउने बारेमा पनि सोच्न सकिन्छ।’ बच्चाको घाँटीमा सालनाल बेरिएको भए शल्यक्रिया गर्नुपर्ने तर्क राखे पनि डा. अर्यालले यो केसलाई आफूले विस्तारमा नबुझेका कारण यसै हो भन्न नमिल्ने बताइन्। नियमित परिक्षणमा रहेकी गर्भवतीको सुत्केरी हुनेबेलामा सुविधासम्पन्न अस्पतालमै निधन हुनु दुर्भाग्यपूर्ण रहेको उनको तर्क थियो।
***
तीन दिन भेन्टिलेटरमा र त्यसपछि घटाउँदै लगेर १२ दिन अस्पताल बसेपछि मनोजका छोरा सकुशल घर आइपुगेका छन्। यतिबेला मनोजको समय छोरासँग खेलेरै बितिरहेको छ।
‘दूध बनाएर ख्वाइरहन्छु,’ उनी भन्छन्, ‘कतिपय रात त सुत्न पनि पाउँदिन।’
बेला बेलामा मोबाइल खोल्दा फेरि प्रेरणाकै जिउँदो जाग्दो तस्बिर देखिन्छ जसलाई हटाउने आँट अझै उनले गरिसकेका छैनन्। घरभरि जताततै छरिएका तस्बिरले त झनै झक्झक्याइ रहन्छन्।
‘अस्पतालले मलाई चित्तबुझ्दो जवाफ दिएन भने म कानुनी लडाइँमा जान्छु,’ मनोज भन्छन्, ‘मेरो लडाइँले प्रेरणाजस्तो अवस्थामा पुग्नबाट अरु आमालाई जोगाउन सकेँ भने पनि सन्तोष मिल्नेछ। उसको आत्माले पनि त्यसपछि मात्रै शान्ति पाउछ होला।’
यस्तो घटना धेरै भइरहे पनि बोल्ने मान्छे नहुनु र बोलिदिए पनि उनीहरुको आवाज मिडियामा नआउने भएकैले आफुले यो अठोट लिएको उनले प्रष्ट पारे। प्रेरणाको मृत्युको क्षतिपूर्ति अरु कुनै पनि कुराले नहुने उनको अडान छ।
अस्पतालबाट छोरा आउनु अघिल्लो दिन उनले एकदिनभरि लगाएर प्रेरणाका छरिएका लुगाफाटो सबै समेटे र दराजमा थन्क्याए। उनको फोन त बाहिरै रहेछ, त्यसलाई पनि बन्द गरे।
‘के गर्ने? मान्छे पो आउँदैन,’ उनी भनिरहेका थिए, ‘याद त आइरहँदो रहेछ...’
मनोज आफ्नै सुरमा भुनभुन गरिरहेका थिए। मलाई भने उनी स्वयं मोडल भएर अभिनय गरेको उनकै गीत कानमा होइन आँखामा नाचेजस्तो हुँदै गयो–
‘हिँड्दा हिँड्दै, दोबाटोमा
तिमी कतै हराइ दियौ
म भने चाहिँ अल्मलेर
तिमीलाई त्यहीँ पर्खिरहेँ...’