सन् १९८० अक्टोबर।
चितवन राष्ट्रिय निकुञ्जमा टहटह घाम लागेको थियो।
राप्ती नदीको दक्षिणी किनारको घाँसे मैदानको वातावरण शान्त देखिन्थ्यो। नदीको उत्तरी तटस्थित घटगाईं गाउँकी एक अधबैंसे महिला र उनका पति नदी तरेर राष्ट्रिय निकुञ्जभित्र खर काट्न र दाउरा बटुल्न लुसुक्क छिरे।
श्रीमान–श्रीमती दुवै निहुरिएर घाँस काटिरहेका थिए। एक्कासि खरघारी भित्रबाट उफ्रिएर बाघले श्रीमतीलाई आक्रमण गर्यो।
अचम्म, स्तब्ध र आतंकित भए पनि श्रीमान भागेनन्। क्रोधित स्वरमा चिच्याई आफ्नो धारिलो हँसियाले बाघको मुखमा प्रहार गरे।
अनि अचम्म हुने पालो बाघको!
बाघ आफूले समातेकी महिलालाई भुइँमा छाडेर जंगलै थर्किने गरी गर्जिँदै भाग्यो।
बहादुरीका बाबजुद श्रीमानले प्यारी श्रीमतीको ज्यान बचाउन सकेनन्। त्यति बेलासम्म उनको मृत्यु भइसकेको थियो।
त्यो पीडादायी घटनाको खबर पाउनेबित्तिकै नेपाल टाइगर प्रोजेक्टका सिकारीहरूका साथ हेमन्त मिश्र घटनास्थल पुगे। उनीहरूको पहिलो काम रेडियो रिसिभरको स्विच खोलेर त्यसको एन्टेना चारैतिर घुमाई 'कलर' भएको कुनै बाघ नजिकै छ कि भनेर पत्ता लगाउनु थियो।
तुरून्तै घटनास्थल नजिकै एउटा मात्र बाघ सक्रिय भएको संकेत मिल्यो। त्यो संकेत प्रसारण गरेको थियो— १८ नम्बरको रेडियो कलर (घाँटीमा लगाइएको) ले।
वयस्क पोथी बाघ स्वस्थ र बलियो थियो। त्यसलाई खान र बाँच्न मान्छे मार्नुपर्ने आवश्यकता थिएन। यसबाहेक रेडियो कलरबिनाकै अन्य कुनै बाघले ती महिलालाई आक्रमण गर्न सक्ने सम्भावना थियो। त्यसैले १८ नम्बरको पोथी बाघ नै अपराधी थियो भनी टोली शतप्रतिशत निश्चित हुन सकेन।
१८ नम्बरलाई तुरून्तै कारबाही गर्नुको साटो घटनाबारे हेमन्तले लामो विश्लेषण गरे। अनि पोथी बाघले जानीजानी र मान्छे खानकै लागि आक्रमण गरेको थिएन भन्ने निष्कर्ष निकाले।
खरघारीभित्र कुप्री परेर घाँस काटिरहेकी महिलालाई बाघले लगुना हरिण भन्ठानेर आक्रमण गरेको हुनुपर्छ भन्नेसमेत हेमन्तको टोलीको धारणा थियो।
खानैका लागि आक्रमण गरेको भए ती महिलाका पति पनि नबच्ने र बाघ नभाग्ने तर्कसमेत प्रबल भयो।
त्यो सोचाइ नयाँ वा मौलिक थिएन।
चार्ल्स म्याकडुगल, कैलाश सांखला, अर्जुन सिंह र अन्य विज्ञले पनि बाघले आफ्नो साविकको प्राकृतिक सिकार ठानेर गल्ती गरी मान्छे मारेको छ भन्दै आएका थिए।
घटगाईं क्षेत्रमा महिलालाई मारेपछि १८ नम्बर पोथी बाघ केही दिन बेपत्ता भयो। त्यसको घाँटीको रेडियो कलरबाट कुनै पनि रिसिभरले संकेत समाउन सकेन। त्यसैले बाघ नेपालको सिमाना पार गरी भारत पुगेको अनुमान भयो।
तर केही दिनपछि त्यो बाघ देखापर्यो। उसले निकुञ्जको मुख्यालय कसरानजिकै एक जना पुरूषलाई खायो। यस पटक बाघ त्यहाँबाट भागेन। त्यहीँ बसी मान्छे खाएर भोलिपल्ट मात्र बेपत्ता भयो।
तीन महिनापछि त्यसको रेडियो कलरले प्रसारण गरेको संकेत रिसिभरले समात्यो। त्यति बेला त्यो निकुञ्जभित्रको घटगाईं गस्ती–चौकी (गार्ड पोस्ट) छेउको जंगलमा भौंतारिइरहेको थियो।
अघिल्लो रात अन्धकारको फाइदा उठाउँदै त्यसले एक–दुई पटक चौकी परिक्रमा गरेको रहेछ। त्यतिले नपुगेर चौकीभित्र सुतेको कुनै न कुनै सिपाही बाहिर आउला र खाउँला भनी ठाउँ ठाउँमा ढुकेर बसेको १८ नम्बर पोथी बाघका पाइलाका निसानाले प्रस्ट पारे।
हेमन्तका लागि त्यो दृश्य अति पीडादायी थियो।
उनलाई केही महिनाअघि आफूले ठूलो गल्ती गरेको महसुस भयो। घटगाईंकी महिलालाई मारेका बेला डार्ट (औषधि दिएर बेहोस बनाउनु) गरी समस्या समाधान नगरेकामा पछुतो लाग्यो।
दुःख र समस्या झन् बढी लम्ब्याउँदै त्यो मान्छे खाने बाघ फेरि बेपत्ता भयो। अनि तीन दिनपछि आफ्नो पुरानो इलाकामा फर्कियो। त्यहाँ सुखीबार र भिम्ले चौकीबीचको घाँसे मैदानमा अर्को गाउँलेलाई मारेर खायो।
सत्य र गलत हल्ला मिसिएको बाघ आक्रमणको खबर राप्तीको उत्तरी किनारमा अवस्थित गाउँमा व्यापक फैलियो। सयौं आक्रोशित गाउँलेको जुलुस निकुञ्ज मुख्यालयमा आयो र डरलाग्दो हुलदंगा मच्चियो।
मान्छे खाने बाघ मारिएको आफ्नै आँखाले नदेखेसम्म निकुञ्जभित्र हड्ताल जारी राख्ने र कर्मचारी वा पर्यटक आवतजावतमा रोक लगाउने धम्की उनीहरूले दिए।
निकुञ्जका वार्डेन रामप्रीत यादव मानव–वन्यजन्तु द्वन्द्व विषयमा ठोस अनुभव भएका व्यक्ति थिए। सरकारी कामको सिलसिलामा केही कुरा नमिले पनि रामप्रीतको वर्षौंदेखि गाउँका केही प्रमुख नेतासँग राम्रो व्यक्तिगत सम्बन्ध थियो। स्थानीय जनताको आक्रोश शान्त पारी रामप्रीतले उनीहरूको माग स्वीकार गरे।
अनि बल्ल हेमन्तको टोलीले काम सुरू गर्ने मौका पायो।
१८ नम्बर पोथी बाघ अति धूर्त र लुकामारी खेलेर मान्छे छल्न खप्पिस थियो। तैपनि त्यसको रेडियो कलरको संकेत प्रयोग गरी सेतो कपडाको घेराभित्र फसाउन गाह्रो भएन। अनि हात्तीसारेहरूले त्यो नरभक्षीलाई हेमन्त चढेको रूखतिर खेदे। हेमन्तले अन्य बाघलाई जस्तै रूखमाथिबाट सजिलै छातीमा डार्ट गरे।
तर यसपालि बाघ बाँच्ने सम्भावना थिएन। किनभने डार्टभित्र बेहोस पार्ने औषधिको मात्रा सामान्यभन्दा अत्यधिक बढी राखिएको थियो।
त्यस दिन वार्डेन रामप्रीतले स्थानीय जनतालाई मान्छे खाने बाघलाई मृत्युदण्डको सजाय दिने वचन दिएका थिए।
त्यो वचन पूरा गर्न सजिलो थिएन। सिकारीले जसरी गोली हानेर मार्न मिल्दैन थियो। तर जनतालाई दिएको वचन पूरा गर्नैपर्ने बाध्यता पर्यो।
त्यसैले मारेकोजस्तो नदेखिने गरी बाघ मार्नुपरेको कुरा तत्कालीन शाही चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालित नेपाल टाइगर इकोलोजी प्रोजेक्टका प्रमुख अधिकृत हेमन्तले आफ्नो पुस्तक 'श्री ५ को सेवामा' मा उल्लेख गरेका छन्।
'डार्ट गरेको आधा घन्टाभित्रै सुतेको सुत्यै १८ नम्बर पोथी बाघको मृत्यु भयो। स्थानीय गाउँलेलाई देखाउन हामी त्यसलाई लिएर सिधै कसरास्थित निकुञ्जको मुख्यालय गयौं। त्यस साँझ र भोलिपल्टको दिनभरि कसरामा सयौं गाउँले नरभक्षी पोथी बाघ हेर्न भेला भए। मेरा लागि त्यो तीतो–मीठो पल थियो। क्रुर बाघलाई मैले बाध्य भएर मार्नुपरेको थियो,' हेमन्तले लेखेका छन्।
यो घटनाका मुख्य पात्र रामप्रीत निकुञ्जको साँध, सीमा नाप्ने टोलीका सदस्य हुन्। सुझबुझपूर्ण निर्णय गर्न सक्ने उनले निकुञ्ज स्थापना हुँदा रेन्जर पदबाट काम सुरू गरेका थिए। बढुवा हुँदै प्रमुख संरक्षण अधिकृतसम्म भए। ३२ वर्ष सेवा (चितवनमा मात्रै २७ वर्ष) गरेर २०५७ सालमा सरकारी सेवाबाट निवृत्त भएका थिए।
त्यसयता पनि विभिन्न संस्थामार्फत् संरक्षणका काममा सक्रिय थिए रामप्रीत। सिराहामा जन्मिए, हुर्किएर जीवनको सबैभन्दा धेरै अवधि चितवनमा बिताएका उनको यही साल कात्तिक २२ गते ८३ वर्षको उमेरमा निधन भयो।
रामप्रीत गज
रामप्रीत सम्झाउने हात्ती र गोही
गत साउन ७ गते खोरसोरमा जन्मिएको 'रामप्रीत गज' ले अब पूर्ववार्डेन रामप्रीत यादवको सम्झना दिलाउने छ।
निकुञ्जले उनको सम्मानमा हात्ती प्रजनन केन्द्र खोरसोरमा जन्मिएको ६९ औं छावाको नाम रामप्रीत गज राखेको हो। तमोरकलीको तेस्रो सन्तान रामप्रीत गजको बाबु जंगली हात्ती रोनाल्डो रहेको केन्द्रको रेकर्डमा उल्लेख छ।
निकुञ्जले पूर्ववार्डेन रामप्रीतले जैविक विविधता संरक्षणको क्षेत्रमा पुर्याएको योगदानको सम्झनामा १५ वटा घडियाल गोही प्राकृतिक बासस्थानमा छाडेको छ।
वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव डा .रामचन्द्र कँडेल र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलको उपस्थितिमा घडियाल प्रजनन केन्द्रमा हुर्किएका गोही राप्तीमा छाडिएको प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जानकारी दिए।
कसराको घडियाल गोही प्रजनन केन्द्र स्थापना हुनुमा पनि रामप्रीतको ठूलो भूमिका छ। बाघ, गैंडाजस्ता ठूला वन्यजन्तुको संरक्षणमा मात्रै निकुञ्जको ध्यान गइरहेका बेला उनले राप्ती, नारायणीमा बालुवाको ढिस्कोभित्र गोहीले पुरेका अण्डा संकलन गरेर प्रजनन परीक्षण गरेका थिए।
करिब ४७ वर्षमा यो केन्द्रमा हुर्किएका दुई हजार बढी गोही विभिन्न नदीमा छाडिएको छ। प्राकृतिक वासस्थानमा थोरै मात्र गोही बाँचिरहेको अवस्थामा यो प्रजनन केन्द्र घडियाल संरक्षणमा महत्वपूर्ण बनिरहेको छ।
रामप्रीत यादवको सम्झनामा घडियाल गोहीहरू नदीमा छाडिँदै