गत मंगलबार राष्ट्र बैंकले तीन कम्पनीलाई ‘पेमेन्ट सर्भिस प्रोभाइडर’ अर्थात नगद प्रयोग नगरी मोबाइलमार्फत विभिन्न कारोबार गर्न सकिने प्रविधिका लागि सेवा प्रदायकको लाइसेन्स प्रदान गरेको छ।
आईएमई पे, प्रभु टेक्नोलाजी प्राली र इसेवा फोन पेलाई पेमेन्ट गेटवे वा मोबाइल वालेट सेवा सञ्चालनको अनुमति दिइएको हो र अन्य केहीले यसका लागि आवेदन पेस गरेको राष्ट्र बैंकले जनाएको छ।
नगदरहित कारेबारलाई प्रोत्साहन गर्ने नीतिसँगै ‘भुक्तानी तथा फर्छ्यौट विनीयमावली २०७२’ को विनिमय १९ मा अनुसार दुरसञ्चारको माध्यमबाट डिजिटल वालेट सेवाका लागि ‘भुक्तानी तथा फर्छ्यौट अनुमति नीति २०७३’ मा आधारित रहेर अनुमति प्रदान गरिएको हो।
जसमा यी तीन कम्पनीलाई स्वदेशमा मनी ट्रान्सफर गर्ने र ग्राहक तथा सेवाप्रदायकका बीच मध्यस्थता गरी भुक्तानी गरिदिने अनुमति राष्ट्र बैंकले दिएको हो।
योसँगै निकै अघिदेखि चर्चामा रहेको नगदरहित कारोबारको कानूनीरुपमा बाटो खुल्ला भएको छ। यो सेवा सर्वसुलभ उपलब्ध भएपछि घरमै बसेर कारोबार गर्न सकिने छ।
यसअघि बैंक तथा वित्तीय संस्था नियमन विभागको अनुमतिपश्चात वाणिज्य बैंकहरुले डेबिट तथा क्रेडिट कार्ड, मोबाइल एसएमएस, अनलाइन बैंकिङ कारोबार लगायत मार्फत कारोबार गर्दे आएका छन्।
त्यस्तै, इसेवा, फोन पे लगायतका अनलाइन पेमेन्ट प्रदायकले पनि विद्युतीय भुक्तानीका केही कार्य गर्दै आएका छन्।
यो अनुमतिपश्चात नगदरहित कारोबारको विकास तथा विस्तार हुने तथा दैनिक कारोबार थप सहज हुने सेवा प्रदायकको भनाइ छ।
के हो मोबाइल वालेट?कसैले पर्सको पैसाले वस्तु किनेर त्यसको मूल्य तिरे जस्तै मोबाइल वालेटमा बैंकमा रहेको खाताको प्रयोग गरी घरमै बसेर मोबाइलमार्फत खरिद गर्न वा त्यसको भुक्तानी दिन सक्छ।
यस प्रविधि अन्तर्गत प्रयोगकर्ताको बैंक खाताको रकम ‘मोबाइल कोड नम्बर’ मार्फत दैनिक कारोबार मोबाइलबाटै गर्न सकिन्छ।
यसो हुँदा गोजीमा नगद बोकेर हिँड्नुपर्ने झन्झट, खानेपानी, टेलिफोन लगायतका बिल तिर्न सम्बन्धित कार्यालय नै जानुपर्ने बाध्यताबाट मुक्त हुनुका साथै समय बचत हुन्छ।
इसेवाका कस्टमर रिलेसन व्यवस्थापक अरुण फुयाँलका अनुसार इसेवाले केही वर्ष अघिदेखि नै मोबाइल पेमेन्टको कार्य गर्दै आएको थियो। भुक्तानी सेवा प्रदायकको अनुमति पत्रमार्फत स्वदेशमा गरिने मनी ट्रान्सफरका लागि राष्ट्र बैंकले इसेवालाई बाटो खोलि दिएको उनले जिकिर गरे।
उनका अनुसार यस प्रविधिबाट सेवाग्राही आफैं वा एजेन्टको मद्दतमार्फत मोबाइलबाटै रिजार्च गर्ने, पैसा पठाउने वा पाउने, विद्यालय, कलेजको शुल्क तिर्ने, बस , एयरलाइसेन्स वा फिल्मका टिकट लिन सहज हुनेछ।
त्यस्तै एटिएम कार्डबाट पैसा निकाल्ने र डिपार्टमेन्ट स्टोर गएर नगद तिर्ने परिपाटी अन्त्य भई मोबाइलबाटै सिधै पैसा तिर्न सकिनेछ।
उनले भने, ‘हामी एटिएमबाट पैसा निकाल्ने र त्यही पैसा दिएर खरिद गर्न बाध्य छौँ। तर, अब मोबाइल वालेट मार्फत सिधै एटिएम कार्डबाटै चाहेको वस्तु किन्न सकिनेछ।’
यस सेवा नियमन तथा व्यवस्थापन र ग्राहकसमक्ष यो सेवा विस्तार गर्न राष्ट्र बैंक, दुरसञ्चार प्राधिकरण तथा सेवा प्रदायक कम्पनी संयुक्तरुपमा गर्नेछन्। यसमा वित्तीय नियमन राष्ट्र बैंक, मोबाइल अपरेटरको गुणस्तर, सुविधा र सुरक्षा प्राधिकरणले गर्नेछ भने सेवा सञ्चालनको लाइसेन्स लिएका कम्पनीले ग्राहक तथा सेवाप्रदायकबीच समन्वय गरी विद्युतीय भुक्तानी गर्नेछन्।
यद्यपी वित्तीय शिक्षाको कमी, बैंक खाताको अनिवार्यता लगायतका विषयले यो प्रविधि देशभरीका आम मानिससम्म पुर्याउन धेरै चुनौतीपूर्ण रहेको विज्ञहरु बताउँछन्।
इसेवाका ग्राहक दैनिक एक लाखइसेवा मार्फत कारोबार गर्नेको संख्या दैनिक करिब एक लाख रहेको कम्पनीले जानकारी दिएको छ। इसेवाका फुयाँलका अनुसार दैनिक कारोबार गर्नेमध्ये ८० प्रतिशत नियमित ग्राहक तथा अधिकांशले मोबाइल रिचार्ज, फिल्म तथा एयरलाइन्स टिकट लिन प्रयोग गर्छन्।
इसेवाको प्रयोग सस्तो हुने, क्यास ब्याक प्राप्त गरिने, घरकै बसेर छोटो समयमै कारोबार गर्न सकिने भएकाले युवा जमातमा यसको प्रयोग बढ्दै गएको इसेवाको भनाइ छ।