आइतबार दिउँसो पानी परेपछि वीरगन्ज महानगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेका छन्। प्रचन्ड गर्मीबीच दिउँसो एक घन्टासम्म परेको अबिरल पानीले वीरगन्जका मुख्य बजार तथा सडकहरु डुबानमा परेका छन्।
मुस्लिम धर्मावलम्बीको सबैभन्दा ठूलो इद पर्वको चलह पहल बढेसँगै बजारमा किनमेलका लागि जाने सर्वसाधारण मारमा परेका छन्।
एक्कासी वीरगन्ज डुवानमा परेपछि ट्राफिक जामसमेत भएको छ। पानी परेपछि वीरगन्जका आदर्शनगर, कैलाश चौक, मेनरोड, गोश्वारा रोड, पानी ट्याकी, नगवालगायत मुख्य सडक डुबानमा परेका छन्।
पावरहाउसदेखि पूर्व-पश्चिमको सडकलगायत नाला निर्माण भइरहेको अधिकांश सडकहरूमा आउजाउ समस्या भएको छ।
महानगपालिका कार्यालयको सरसफाइमा कमि तथा सुस्त गतिमा ढल–नाला निर्माणले एक घन्टा पानी पर्ने बित्तिकै बजारका अधिकांश क्षेत्र डुवानमा परेको हो।
असारे पानीले नै शहरको अधिकांश क्षेत्र डुवानमा परेपछि मनसुनमा झन के हुने हो भनर् स्थानीय चिन्तित छन्?
लगातारको पानीले पसल डुबाएको भन्दै आफ्नो हजारौको सामानमा क्षति पुगेको आदर्शनगरका व्यापारी राजेन्द्र गूप्ताले बताए। ‘अहिले यो अवस्था छ, भदौमा पसल कसरी चलाउने पुरा सडक र बजार जलमग्न हुने हो कि,’ उनले चिन्ता व्यक्त गरे।
पानी परेको कारण बजारका अधिकांश सडक जलमग्न भएपछि वीरगन्जको घन्टाघरदेखि अलखिया रोडसम्म सवारी साधनहरुको बाक्लो जाम लागेको छ। युनएनडीपीद्धारा निर्माण भइरहेको नाला परियोजनाले गर्दा पानी निकासमा कठिनाइ भएको नगपालिका योजना शाखाका एक कर्मचारीले सेतोपाटीलाई बताए। ‘नाला निर्माणाले पानी निकासमा कठिनाइ भएको हो।’
नाला निर्माण भए पनि अस्थायी पानी निकासको लागि नगरपालिका वा निर्माण ठेकेदार कम्पनीबाट डाइभर्सनको व्यवस्था नगरिएकोले शहरका भित्री भागहरू डुवानमा परेको आरोप स्थानीले लगाएका छन्।