दाङमा यतिबेला धमाधम मकै गोडमेल क्रम चलिरहेको छ। अधिकांशले जेठ १५ आसपासमै मकै रोपेका थिए। तर छुटेकाहरुले पछिल्लो वर्षासँगै मकै रोप्दै छन्।
मकैपछि यहाँका किसानको ध्यान मुख्य बाली धानमा केन्द्रित भएको छ। उनीहरुलाई यतिबेला व्याड राख्न निकै चटारो छ। त्यसैलाई मध्यनजर गर्दै जिल्ला कृषि विकास कार्यालय दाङले ११ प्रकारका धानको विउ यो वर्ष सिफारिस गरेको छ।
यो वर्ष दाङमा सुख्खा १ देखि ६, राधा ४, विन्देश्वरी, सावित्री, हर्दिनाथ – १, मंसुली, स्वर्ण शव एक गरी ११ जातका धानका विउहरु लगाउनका लागि सिफारिस गरिएको जिल्ला कृषि विकास कार्यालय दाङका माटो विज्ञ दिगम्वर यादवले सेतोपाटीलाई जानकारी दिए।
पानी प्रयाप्त हुने ठाउँमा कुन धान लगाउने ?उनले पानी पर्याप्त हुने ठाउँमा सुख्खा १, मंसुली, स्वर्ण शव, विन्देश्वरी, सावित्री, लोकनाथ, र भारतीय प्रजातिको गोरकनाथ जस्ता धानहरु लगाउनका लागि किसानलाई आग्रह गरिएको बताए। त्यस्तै आकासको पानी वा कुलोमा पानीको सिँचाईको प्रवन्ध भएको स्थानमा सुख्खा २ देखि सुख्खा ६ सम्मको धान लगाउन यादव सल्लाह दिन्छन्।
उनले व्याड राखेको २५ दिनभित्रै खेतमा धान रोप्दा राम्रो हुने जानकारी दिए। अहिले व्याड राख्ने उत्तम समय रहेको र अहिले व्याड राखेकाहरुले असार १५ सम्म रोपाई गर्दा राम्रो हुने जिल्ला कृषि विकास कार्यालयका माटो विज्ञ यादवले बताए ।
पोटास प्रयोग गर्न सल्लाहदाङमा अत्यधिक रुपमा यूरिया र डिएपी जस्ता रासायनिक मलहरुको प्रयोगले माटोको उर्वरा शक्ति ह्रास भएको यादवले बताए। क्षिण हुँदै गएको माटोको उर्वरा शक्ति बढाउनका लागि प्रति कठ्ठा डेढ केजीसम्म पोटास प्रयोग गर्न जरुरी रहेको यादवको सल्लाह छ।
माटोमा पोटासको मात्रा कम हुँदा प्रति कठ्ठा १५ प्रतिशत जतिले उत्पादनमा ह्रास आउने गरेको उनले बताए। उनका अनुसार पोटासको कमीले धानको गुणमा समेत ह्रास आउने भएकोले यूरिया र डिएपीका साथसाथै अनिवार्य रुपमा तोकिएको मात्रामा पोटास प्रयोग गर्नुपर्दछ। ‘यूरिया र डिएपीको बढी प्रयोगले माटोको उर्वरा शक्ति मात्रै ह्रास भएको छैन, बालीमा रोग र किराको प्रयोग समेत फैलिने खतरा उत्पन्न हुन्छ’ उनले भने ‘पोटासले मात्रै त्यो सन्तुलन कायम गर्न सक्ने हुँदा पोटासको प्रयोग अनिवार्य हुन्छ।’ यादवले दाङमा ६९ हजार हेक्टर खेतीयोग्य जमिन भएता पनि हाल जम्मा ३८ हजार हेक्टरमा मात्रै धान खेती हुने गरेको जानकारी दिए।
दाङमा मसिनो धानको विकास गर्न अनुदानमा बिउ वितरणमसिनो धान तथा बास्नादार धान उत्पादन कार्यमा सघाउ पुर्याउन जिल्ला कृषि विकास कार्यालय दाङले ७५ प्रतिशत अनुदानमा किसानलाई जम्मा २५ मेट्रिक टन धान बिक्री वितरण गरेको यादवले बताए। उनका अनुसार कार्यालयले सिफारिस नगरेका र हाइब्रिड जातको धानको बिउ प्रयोग नगर्न किसानलाई सचेत तुल्याएका छन्।
अनुदान वितरणले मसिनो धानमा भारतीय आयात घटाउन मद्दत पुग्ने अपेक्षा जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।
दाङमा मसिनो धानको उत्पादनको संभावना अति नै राम्रो हुने भएकोले अब विस्तारै मोटो धानको विउ सिफारिस बन्द गरिने उनको भनाइ छ।
यसैबीच जिल्ला कृषि विकास कार्यालय दाङले विभिन्न कार्यक्रम अन्र्तगत जिल्लाका किसानहरुलाई ३ सय ५१ क्वीन्टल धानको बिउ वितरण गरेको जनाएको छ।