रामपुर नगरपालिका–५ सानीअमराईका वासुदेव ढुङ्गाना शिक्षण पेसा छाडेर गाईपालन व्यवसायमा संलग्न छन्।
जागिरे जीवनले दैनिक गुजारा चलाउन समस्या परेपछि उनी शिक्षण पेसा छाडेर व्यावसायिक गाईपालनमा लागेका हुन्। गाईपालन सुरु गरेपछि उनको दैनिकी नै बदलिएको छ । जागिरमा मात्र आबद्ध रहँदा घरव्यवहार चलाउन निकै समस्या झेलेका ढुङ्गानाले अहिले गाईपालनबाट मनग्य आम्दानी गर्न थालेका छन्।
पाँच वर्षसम्म शिक्षण पेसाको अनुभव लिएका ढुङ्गानाले जागिर छाडेपछि एउटा स्थानीय जातको गाईबाट व्यवसाय थालेका हुन्। उनको फार्ममा हाल उन्नत जातका १० वटा गाई र दुई वटा बाच्छा छन्। दैनिक ५० लिटर दूध उत्पादन हुन्छ।
“जागिरले दैनिक गुजारा चलाउन निकै धौ धौ परेको थियो, छोरा छोरीको पढाइ खर्च जुटाउन समस्या भएपछि जागिर छोडेर गाईपालन सुरु गरेको हुँ,” उनले भने। अहिले घरमै बसीबसी मासिक ७० हजारदेखि ८० हजारसम्म आम्दानी गर्दै आएका छन् । उनले घरबाटै दूध बिक्री गरिरहेका छन्।
“एउटा गाईबाट आठ लिटरसम्म दूध उत्पादन हुन्छ,” ढुङ्गानाले भने। गाईफार्म सँगसँगै दिनभरको फुर्सदको समयलाई उनले सदुपयोग गर्न तरकारीखेती समेत गर्दै आएका छन्। उनी कृषि क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रका समेत उत्तिकै सक्रिय छन्।
ढुङ्गानाले मकै बालीमा राष्ट्रियस्तरको दोस्रो पुरस्कार समेत प्राप्त गरे। व्यवसायलाई निरन्तरता दिने उनको अठोट छ । उन्नत जातका गाई पाल्ने उनले सोच बनाएका छन्। उनको व्यवसाय देखेपछि गाउँका अन्यले समेत गाईपालन थालेका छन्। जागिरे जीवन बन्धन र परिवारको गुजारा चलाउन नपुग्ने तलबमा भुलेर समय बिताउनुभन्दा कृषि व्यवसाय गरेर आफ्नै मेहनत र पाखुरीमा रमाउन सबैलाई उनी सुझाव दिन्छन्।
स्नातक तहसम्मको अध्ययन पूरा गरेका ढुङ्गानाले शिक्षित युवालाई जागिरमा सीमित रहनुभन्दा व्यवसाय गरेर नमुना उद्यमी बन्न हौसला प्रदान गर्दै आएका छन्।