राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलको सदस्य राजेन्द्र महतोले उपेन्द्र यादवको मतिभ्रमित भएकोले मधेश विरोधी अभिव्यक्ति दिइरहेको बताएका छन्। वीरगन्जको घन्टाघरमा राजपाको पर्सा जिल्ला कार्यसमितले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले उपेन्द्र यादवको मती भ्रमित भएकोले मधेसको मुद्दा छाडेर अहिले ओलीपथमा हिँडेको आरोप लगाए।
संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका यादवलाई मधेसको मिर्जजाफर र गद्दारको संज्ञा दिँदै नेता महतोले केपी ओली जस्ता खसवादी मांनसिकताबाट प्रेरित भएर आन्दोलन र मधेसी जनताको बिरोधमा अभिव्यक्ति दिएको बताए।
उनले पूर्व झापादेखि पश्चिम कैलाली लगायत १९ जिल्लामा विवाद रहकोले विवादित सबै ठाउँको चुनाव स्थगित गरे मात्र आन्दोलनको स्वरुप परिवर्तन हुने बताए। राजपा चुनावमा नगएसम्म मधेसमा कुनै शक्तिले चुनाव गराउन नसक्ने दाबी गर्दै महतोले बल प्रयोग गरेमा मधेसमा ठूलो रक्तपात हुने चेतावानीसमेत दिए।
नेता महतोले ठूला दल कांग्रेस, एमाले र माओवादीले मिलेर त्रूटीपूर्ण मधेस बिरोधी संविधान घोषणा गरेकोले संविधान संशोधनको जिम्मेवारी पनि तीनै दलको रहेको बताए। मधेस आन्दोलनका घाइतेको उपचार तथा क्षतीपूर्ती, आन्दोलनमा लगाइएको मुद्दा फिर्ता, सहिद घोषणालगायत सरकारले पुरा गर्नसक्ने न्युनतम मागसमेत पुरा नगरेको भन्दै आक्रोशित भएका थिए।
चुनावको मिति सारिए यो सरकारलाई कुनै नोक्सानी नहुने बताउँदै नेता महतोले चुनाव गराए शेरबहादुर देउवा पहिला जस्तै पूर्ण असफ प्रधानमन्त्री हुने दाबी गरे।