अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगलाई फागुन २१ गतेको निर्वाचनको तयारीमा जुट्न आग्रह गरेकी छन्।
मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा कार्कीले सरकारले के के सहजीकरण गर्नुपर्छ भनेर आयोगसँग सोधेकी थिइन्।
‘हामी उपलब्ध सबै सहयोग गर्छौं,’ कार्कीले बैठकमा भनिन्, ‘के के गर्नुपर्छ। गर्नुहोस्।’
प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूसँग संवाद गर्न समेत आयोगलाई आग्रह गरेकी छन्।
आयोगले भने कार्कीलाई असोज ३० गते दलहरूलाई छलफलमा बोलाएको जानकारी दिएको थियो।
‘हामीले प्रधानमन्त्रीलाई निर्वाचन गर्न तयार छौँ। हामीले कार्यतालिका घोषणा गरिसक्यौँ भनेका छौँ,’ कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले भने, ‘निर्वाचन कार्यक्रमपछि घोषणा गर्छौं। दसैँको बिदा पनि नभनी काम गरिराखेका छौँ। कर्मचारीहरूले राति ८ देखि ९ बजेसम्म काम गरिरहेका छन्। आयोग मात्र होइन सातै प्रदेश र जिल्ला कार्यालयमा काममा लागेका छन्। भनेका छौँ।’
आयोगले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरिसकेको छ।