नेकपा (एमाले) निकट अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएको छ।
प्रहरीले उक्त उजुरी लिए पनि दर्ता गरेको छैन।
उजुरी दर्ताका लागि प्रहरीले २४ घन्टाको समय मागेको अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालले जानकारी दिए।
‘सरकारी वकिलसँग सल्लाह गरेर उजुरी दर्ताको विषयमा २४ घन्टाभित्र जानकारी दिन्छु भनेर उहाँहरूले भन्नुभएको छ, त्यसबेलासम्म हामी कुर्छौं। उजुरी दर्ता नगरे अदालतलगायत ठाउँमा जान्छौं,’ उनले भने।
भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालतलगायतमा आगजनी भएको थियो। उक्त आगजनीमा संलग्न रहेकाहरू देखिने भिडिओ र फोटोलगायत पनि संकलन गरेर आफूहरूले प्रहरीलाई बुझाएको उनले बताए।
जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको परिवारका सदस्यहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरूद्ध दिएको उजुरी आज प्रहरीले दर्ता गरेर जाँचबुझ आयोगलाई पठाउने निर्णय गरेको थियो।