काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगजनी हुँदा दमकल नपठाएको आरोपबारे प्रस्टीकरण दिएका छन्।
उनले गलत आरोप फैलाउनेहरूलाई एकमुष्ट सम्बोधन गर्दै आन्दोलनकारीले रोक्दा दमकल जान नसकेको बताएका छन्। यसबारे सूचनाको हक प्रयोग गरी जानकारी लिनसक्ने उनको भनाइ छ।
उनले अहिले देशलाई एकता र साँचो कुराको खाँचो रहेको बताएका छन्।
'सिंहदरबार जलाइएलगत्तै दमकल जाने प्रयास गरे पनि आन्दोलनकारीको अवरोधले दमकल जान सकेको थिएन। नेपाली सेनाको दमकल सिंहदरबारभित्रै हुँदा पनि निभाउने प्रयास गर्न सकेको थिएन। कारण थियो, हुलले दमकललाई काम गर्न नदिनु। भीड अलिक शान्त हुनेबित्तिकै २४ गते साँझ ८:१५ भित्रै काठमाडौं महानगरको दमकल त्यहाँ पुगेको थियो,' उनले लेखेका छन्।
उनले काठमाडौंसँग भएका दमकलबारे पनि जानकारी दिएका छन्।
‘काठमाडौं महानगरको न्यूरोडमा दुईवटा, बालाजुमा दुईवटा र रामहिटीमा एउटा गरी जम्मा पाँचवटा दमकल सञ्चालनमा छन्। १४ जना नगर प्रहरी र ३० जना सशस्त्र प्रहरी गरी जम्मा ४४ जनाको टिमले तीन सिफ्टमा काम गर्नुहुन्छ। एक सिफ्टमा एक दमकलमा बढीमा तीन जना मात्र जनशक्ति मार्फत दमकल सञ्चालन गरिएको छ,' उनले लेखेका छन्, 'भदौ २३ गते केही स्थानमा र २४ गते सिंहदरबार मात्र होइन, काठमाडौं मात्र होइन, सिंगो देश जल्दै थियो। महानगरभित्र जुनसुकै संरचना जले पनि जोगाउने प्रमुख दायित्वबोध हामीले गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो।'