दोस्रो चरणको निर्वाचन बिथोल्ने उद्देश्यले आन्दोलनको घोषणा गरेको राष्ट्रिय जनता पार्टीले अझ आक्रामक बनाउन सबै शीर्ष नेताहरूलाई मधेशमै केन्द्रीत गर्ने रणनीति बनाएको छ।
राजधानीबाट अध्यक्षमण्डलका सबै नेताहरू जिल्ला जाने निर्णय अनुसार आन्दोलनलाई अझ कडा बनाउन राजेन्द्र महतो वीरगन्ज अाउने भएका छन्।
गत वर्ष मधेशमा ६ महिना लामो आन्दोलन र नाकाबन्दीको नेतृत्व गरेका राजपाका नेता राजेन्द्र महतो पुन: भोलिदेखि मधेश झर्दै छन्।
महतोले भोलि वीरगन्जबाट आन्दोलन यात्राको शुरू गर्ने बताइएको छ। तराई मधेशका केही जिल्ला भ्रमणमा रहँदा चुनाव बिथोल्न सम्पूर्ण शक्ति लगाउन स्थानीय नेता कार्यकर्तालाई महतोले निर्देशन दिदै आएका छन्।
उनले वीरगन्जमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको राजपाका सह महासचिव नेजामुद्दीन सेमानीले बताए। वीरगन्जपछि महतो बाराको कलैयामा आन्दोलनको नेतृत्व गर्ने नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ।
महतोको वीरगन्ज आगमन र सम्भावित परिस्थितिलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ। पर्सा प्रहरी प्रमुखले कुनै अप्रिय घटना हुन नदिन जिल्लामा उच्च सतर्कता अपनाइने बताए।
गत वर्षको आन्दोलनमा महतोले वीरगन्जमै संविधान जलाउने, कर्फ्यू उल्लंघन गर्ने कार्यको नेतृत्व गरेका थिए। आन्दोलनका लागि महतो पर्सादेखि सप्तरी हुँदै विराटनग सम्म जाने कार्यक्रम छ।